कृषि कर्जा सुरक्षण योजनाबारे सरोकारवाला सुझाव लिँदै अन्तर्क्रिया सम्पन्न
काठमाडौं । युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको 'एग्री सीजीएस प्रोडक्ट्स डिजाइन स्टेकहोल्डर्स फिडब्याक' विषयक आधा दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको रोयल सिङ्गी होटलमा सम्पन्न कार्यक्रममा कोषका पदाधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अर्थतन्त्रको दिगो विकासका लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको पहुँच विस्तार गर्न र सो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन नयाँ कृषि कर्जा सुरक्षण योजना तर्जुमा गर्ने विषयमा सरोकारवालाको राय–सुझाव लिन यो अन्तर्क्रिया आयोजना गरिएको हो । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कार्यक्रममा प्रस्तावित कृषि कर्जा सुरक्षण योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै, वर्तमान अवस्था र तत्काल विस्तार गर्नुपर्ने क्षेत्रबारे जानकारी गराएका थिए । सहभागीहरुले सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत निर्धारण अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार वैज्ञानिक रुपमा गर्नुपर्ने सुझावसमेत दिएका थिए । कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तारमा सघाउन युएनडीपीले प्राविधिक सहयोग गरिरहेको कोषले जनाएको छ ।
महालक्ष्मी विकास बैंकले ल्यायो पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड, फोन पेसँगको सहकार्यमा सेवा सुरु
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने नीति अनुरूप फोन पेसँगको सहकार्यमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप 'महालक्ष्मी स्मार्ट साथी' मार्फत महालक्ष्मी फोन पे क्रेडिट कार्ड सेवामा गई, कुनै पनि स्थानबाट सुरक्षित र सजिलै भुक्तानी गर्न सक्नेछन् । यसमार्फत फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानीका साथै अनलाइन किनमेलका भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । भौतिक क्रेडिट कार्डजस्तै ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा पनि रहनेछ । यसले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य गर्दै डिजिटल सुविधालाई अझ सहज बनाउने बैंकको विश्वास छ । सेवाको सुरुआतसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० रुपैयाँसम्मको क्यासब्याक अफर समेत ल्याएको छ, जसले सेवा झनै आकर्षक बनाउने विश्वास बैंकले लिएको छ। डिजिटल नवप्रवर्धनका क्षेत्रमा नेपालका विकास बैंकहरूमध्ये अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंकले यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको जनाएको छ । साथै, आगामी दिनमा आफ्ना डिजिटल सेवा र मोबाइल एप्लिकेसनलाई अझ परिमार्जित र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता समेत बैंकले जनाएको छ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीईओमा सन्तोष भण्डारी नियुक्त
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको ७१औं बैठकले भण्डारीलाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनले नेपाल एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको अनुभव सम्हालेका भण्डारी स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व हुन् । नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्ट बैंकिङको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।