नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त
काडमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोककुमार आचार्य नियुक्त भएका छन् । असार १४ गते बसेको कार्यकारी समितिको बैठकले पाल्पाका अशोक कुमार आर्चायलाई संस्थाको सीईओमा नियुक्ति गरेको हो । आचार्यलाई साउन १९ गतेदेखि लागु हुनेगरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।
साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने, नागरिकले सहजै सुविधा लिनसक्ने
काठमाडौं । साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो । स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको थियो । बोर्डकाअनुसार प्रथम सेवा विन्दुको रुपमा नराख्ने निर्णय भएकाले २०८२ श्रावण १ गतेबाट रिफरको सिस्टम हटाइएको छ । बोर्डले सबै स्वास्थ्य संस्थालाई गरेको परिपत्रमा भनिएको छ– 'उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ ।' प्रदिप पौडेल स्वास्थ्य मन्त्री भएर आएदेखि नै स्वास्थ्य बिमा सुधारका लागि उनले पहल गर्दै आएका छन् । खासगरी उनकै अग्रसरतामा एक उच्चस्तरीय संयन्त्र बनाइएको थियो । सोही संयन्त्रले दिएको सुझावका आधारमा स्वास्थ्य बीमामा रिर्फरको सिस्टम हटाइएको छ । पौडेलले स्वास्थ्य बीमा संकटमा रहेको औल्याउँदै बुढिगण्डकीमा लिएजस्तै पेट्रोल, डिजेल, ग्यास तथा रिचार्ज कार्डमा लाग्ने करबाट थोरै लिएर बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् । उनकाअनुसार मालपोतदेखि अन्य लगाइएका करबाट थोरै प्रतिशत कोषमा जाने व्यवस्था गर्नुपर्छ ।
६ अर्बभन्दा बढीको सेयर कारोबार, राप्ती हाइड्रोमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ । आज १४५ कम्पनिको मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको छ । सोमबार ३१८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सानिमा माइ हाइड्रोको ३१ करोड, बुटवल पावर कम्पनीको ३० करोड, सप्तकोशी डेभलपमेन्टको २५ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह ०.०६, होटल तथा पर्यटन ०.०३, जलविद्युत् ०.२८ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढेको छ । बैङ्किङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बिमा ०.८२, लघुवित्त ०.९२, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा ०.६१ र व्यापार समूह ०.७२ प्रतिशतले बढेको छ । आज राप्ती हाइड्रो एन्ड जनरलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।