बैंक तथा वित्तीय संस्थाबाट भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड ऋण
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या एक हजार ५७७ रहेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनरकर्जाअनुसार पीडितले उक्त परिमाणको रकम ऋण लिएका हुन् । यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्ने पुनरकर्जाको उपयोग सो अवधिमा बढेको छ । चालू आवको आठ महिनासम्म केन्द्रीय बैंकले रु २४ अर्ब ५४ करोड पुनरकर्जा लगानी गरेको छ । त्यसमा साधारण पुनरकर्जा रु २० अर्ब ३८ करोड रहेको छ भने निर्यात पुनरकर्जा रु एक अर्ब ४८ करोड छ । यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पुशपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १४ हजार ११३ पुगेको छ । सो कार्यक्रममा रु २३ अर्ब ४१ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान दिइएको छ । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रतर्फ रु पाँच करोड १४ लाख कर्जा प्रवाह भएको बैंकले जनाएको छ । रासस
कमोडिटी सञ्चालन गर्न इच्छुक सबै कम्पनी ‘अयोग्य’
काठमाडौं । कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न इच्छुक भएर आवेदन दिएका सबै ९पाँच० कम्पनी त्यसमा अयोग्य ठहरिएका छन् । नेपाल धितोपत्र बोर्डले एक वर्षअघि कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गर्न इच्छुकलाइ आवेदन दिन आह्वान गरेको थियो । बोर्डले त्यसरी आह्वान गरेकामा पाँच कम्पनीले कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न इच्छा देखाउँदै आवेदन दिएका थिए । तर, एक वर्षपछि आएर बोर्डले सबै आवेदन दिएका कम्पनीलाई अयोग्य घोषणा गरेको छ । बोर्डका प्रवक्ता नीरज गिरीले परेका पाँचवटै आवेदनको मापदण्ड नपुगेकोले नयाँ आवेदन माग गर्ने तयारीमा रहेको बताए । ‘पुराना सवै आवेदन अयोग्य भएका छन्,’ उनले भने, ‘सक्षम, योग्य कम्पनीबाट नयाँ आवेदन माग्ने तयारीमा छौं ।’ कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि बोर्डमा नेपाल कमोडिटी एक्सचेन्ज, नेपाल मर्केन्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर्स एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल र रिगेल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज गरी पाँचवटा कम्पनीले आवेदन दिएका थिए । बोर्डले ती सवै आवेदन योग्य नभएको भन्दै रद्द गर्न लागेको हो । नेपाली बजारको आकार अनुसार दुईभन्दा धेरै कमोडिटी आवश्यक नपर्ने ठहर पनि बोर्डले गरेको प्रवक्ता गिरीले जानकारी दिए। नेपाल राष्ट्र बैंकका तत्कालीन निर्देशक (हाल नेपाल बैंकका अध्यक्ष) बासुदेव अधिकारीको संयोजकत्वमा गठन भएको एक समितिले नेपालमा दुईवटा कमोडिटी एक्सचेन्जभन्दा बढी सञ्चालन गर्न दिन उपयुक्त नहुने सुझावसहितको प्रतिवेदन दिएको पनि उनले बताए । त्यसैको आधारमा बोर्ड सञ्चालक समितिले दुई आवेदन लिने तयारीमा पुगेको गिरीले जानकारी दिए। पाँच वटा आवेदन दिने मध्ये कुन कम्पनीलाई दिने र कुन कम्पनीलाई नदिने भन्नुभन्दा पनि नयाँ आवेदन माग्ने र त्यसैको आधारमा दुईवटा छान्ने निर्णयमा बोर्ड पुगेको बताइन्छ । नेपालमा कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न स्वदेशी तथा विदेशी कम्पनी इच्छुक देखिएका छन्। चुक्ता पुँजी ५० करोड पु¥याउनुपर्ने, एकजना व्यक्तिले पाँच प्रतिशतभन्दा बढी सेयर लिन नपाउने र तीन वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाउने लगायत कठोर प्रावधान राखिएको छ । न्यूनतम वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्ता पुँजी ५० करोड, वेयरहाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख हुनु पर्नेछ । देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण, वस्तु विनिमय बजार सञ्चालन गर्न चाहिने साधनरस्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय बजारलाई अनुमति दिने, कसैले पनि वस्तु विनिमय बजारको कुल सेयर पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्था पनि वस्तु विनियम बजार नियमावलीमा गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको तीन वर्षसम्म सेयर बिक्री गर्न नपाइने र त्यसपछि सेयर र स्वामित्व लिएको व्यक्तिले सेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्वस्वीकृति लिनुपर्ने, ऐन तथा नियमावलीले तोकेको योग्यता पूरा गरेको व्यक्ति वा संस्थाले मात्र सेयर स्वामित्व लिन सक्ने व्यवस्था छ । विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल पुुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर स्वामित्व ग्रहण गर्न सक्ने छन्। त्यस्तो स्वामित्व ग्रहण गर्ने विदेशी रणनीतिक साझेदारसँग वस्तु विनिमय बजारसम्बन्धी व्यवसाय सञ्चालन गरेको न्यूनतम तीन वर्षको अनुभव हुनुपर्ने व्यवस्था पनि उक्त नियमावलीमा गरिएको छ । बोर्डले पुराना सञ्चालनमा रहेका कमोडिटी विनियम बजारसम्बन्धी संस्थाहरु अवैध भएको र नयाँ सञ्चालनका लागि आवेदन दिनुपर्ने निर्देशन दिएपछि कारोबार रोकिएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।
सेञ्चुरी क्यापिटल उद्घाटन, ‘चाँडै उत्कृष्ट मर्चेन्ट बैंकर हुने’
काठमाडौँ । सेञ्चुरी क्यापिटल मार्केट्सको आज एक समारोहका बीच उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले काठमाडौँ प्लाजा, कमलादीमा ताम्रपत्र अनावरण गरेर सञ्चुरी क्यापिटलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा डा. कार्कीले अहिले ३१ औं मर्चेन्ट बैंकरको रुपमा सेञ्चुरी क्यापिटल आएकोले थुप्रै प्रतिस्पर्धा, चुनौतीहरु रहेको बताए । तालिम प्राप्त योग्य कर्मचारी, पर्याप्त अनुसन्धान सहित धितोपत्र बोर्डले ल्याएका नयाँ क्षेत्रका कामहरुलाई अवसरको रुपमा लिई अघि वढ्न समेत उनले सुझाव दिएका थिए । समारोहमा सेञ्चुरी कमर्सियल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मर्चेन्ट बैंक एशोसिएशनका अध्यक्ष धु्रव तिमिल्सिनाले सबै अवसरहरुलाई सकारात्मक रुपमा लिएर चाँडै उत्कृष्ट मर्चेन्ट बैंकरको रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना व्यक्त गरे । यसैबीच, शुक्रबार नै सेञ्चुरी क्यापिटल मार्केट्स लि.ले दोश्रो बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । सभाले संस्थागत परामर्श सेवा तथा विशिष्टिकृत लगानी व्यवस्थापक समेतको काम गर्ने गरी प्रबन्धपत्रमा उद्देश्य थप गर्ने निर्णय गरेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्रीले स्वागत मन्तव्य गरेको कार्यक्रम कानूनी सल्लाहकार पुरुषोत्तमप्रसाद घिमिरेले सञ्चालन गरेका थिए । संस्थाका अध्यक्ष रणबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा चाँडै नै वहुआयामिक ढंगले संस्थाले आप्mनो कारोबार सञ्चालन गर्ने र चाँडै उत्कृष्ट मर्चेन्ट बैंकर हुने कुरा राख्दै उद्घाटन समारोह तथा दोश्रो बार्षिक साधारण सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ साल साउन २६ गते दर्ता भई नेपाल धितोपत्र बोर्डबाट २०७५ साल फागुन २ गते मर्चेन्ट बैंकिंग कारोवार गर्ने ईजाजत पाएको कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड र हालको चुक्ता पूँजी २० करोड रहेको छ । चुक्ता पूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि.को ८५.७५ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको १४.२५ प्रतिशत संस्थापक शेयर रहेको कम्पनीले जनाएको छ ।