सनराइज बैंकले एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने
काठमाडौं । सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी(एनएलआईसी) लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनएलआईसीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ । हाल बैंकको १०४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
मेगा बैंक र प्लासिड एक्सप्रेसबीच सम्झौता, अब मलेसियाबाट पनि रेमिट सेवा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ । मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ । ‘मेगा रेमीट’को सञ्जाललाई विश्वका बिभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ ।
अन्ततः छिमेक लघुवित्तले पायो ४० प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको संचालक समितिको २१२औं बैठकले गरेको हो । संस्थाले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो । तर राष्ट्र बैंकले २०७५ पुस १९ गते पठाएको पत्र अनुसार संस्थालाई सो मात्राको लाभांश वितरण गर्न अस्विकृत गरेको थियो । त्यसपछि संस्थाले राष्ट्र बैंकको विशेष निरिक्षणबाट औंल्याईएका समस्याहरु सुधार गरी पुनः राष्ट्र बैंकमा प्रस्तावित लाभांश समेत वितरण गर्ने स्वीकृतीको माग गरेको थियो । सोही अनुसार राष्ट्र बैंकले अन्तत २०७६ वैशाख १ गते संस्थालाई सो मात्राको लाभांश वितरण गर्न स्वीकृति दिएको हो । साथै, उक्त प्रस्तावित बोनस र नगद लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । संस्थाको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।