आईपीओ आएको गणपतिको रिपोर्टचाहिँ कस्तो आयो, तीन महिनामा रिजर्भ ४५०%
काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को क्रममा रहेको गणपति माइक्रोफाइनान्सले आफ्नो नाफा २ करोड २३ लाख रुपैंया पुर्याएको छ । पुस महिनाको १ करोड ५१ लाख रुपैंया रहेको नाफालाई तीन महिनामा ७२ लाख रुपैंयाले बढाएर उक्त आकारमा पुर्याएको हो । अघिल्लो वर्षसम्म घाटामा रहेको गणपतिले यो वर्षको ९ महिनामा सो मात्रामा नाफा कमाउँदा त्यो नाफा जारी पुँजीको आधारमा प्रतिशेयर करिब ४२ रुपैंया हो । नाफासँगै माइक्रोफाइनान्सले रिजर्भको आकारमा उच्च सुधार गरेको हो । पुस महिना २ करोड रहेको गणपतिको रिजर्भ चैतसम्म आइपुग्दा झन्डै ४.५ गुणा माथि पुगेर ९ करोड रुपैंया कायम भएको छ । गणपतिले चैत मसान्तसम्म ७७ करोड रुपैंया कर्जा प्रवाह गर्दा ४ करोड १९ लाख रुपैंया खुद व्याज आम्दानी गरेको छ । उसले ५४ करोड ८५ लाख रुपैंया बराबरको ऋण लिँदा २० करोड रुपैंया भने सदस्यहरुबाट बचत संकलन गरेको जनाएको छ । गणपतिको हाल पुँजी पर्याइतता अनुपात १०.६६ प्रतिशत छ । यो अनुपात निष्कासित आईपीओको सूचीकरणपछि बढ्छ । त्यस्तै गणपतिको कस्ट अफ फण्ड १०.१८ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपात भने ०.९७ प्रतिशत छ ।
राजुरमण पौडेल बीमा समितिको कार्यकारी निर्देशकमा बढुवा
काठमाडौं । बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल बढुवा भएका छन् । बीमा समितिको सोमबार बसेको संचालक समिती बैठकले पौडेललाई कार्यकारी निर्देसकमा पदोन्नति गरेको हो । पौडेलले यश अघि निमित्त कार्यकारी निर्देसकको रूपमा काम गरिरहेका थिए । पौडेलले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् । उनले बीमा समितिको नियामकिय क्षमता सशक्त बनाउदै बिमाको पहुँच बिस्तारमा ध्यान दिने बताए ।
कामना सेवा विकास बैंक थप सुबिधा सहित निःशुल्क आई-बैंकिङ रिलोडेड सेवा गर्दै
काठमाडौँ । कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई-बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ । यो सेवा मार्फत ग्राहकहरुले बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्न, ई-सेवामा रकम जम्मा गरी विभिन्न भुक्तानीहरु गर्न, एनटीसी, एनसेल, पीएसटीन, स्मार्ट सेलहरुमा मोबाइल टपअप गर्न गर्न तथा तालिकाहरु बनाई विभिन्न भुक्तानी तथा ईएमआई पेमेन्टहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ । साथै, यो सेवा लिएको पहिलो वर्ष कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।