माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाताअभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । कुनैपनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमाउक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ । ५% आकर्षक वार्षिक ब्याजदर प्रदानगरिने भनिएको यस खाताखोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनैपनि फोटो सहितको परिचयपत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

सिराहाको मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित थानाचोकमा बुधबार आफ्नो ८३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा संचालक काफ्लेले बैंकको संक्षिप्त जानकारी गराउँदै नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन शाखा विस्तार गरेको जानकारी दिए ।

नबिलले बिहीबारदेखि १ अर्ब २० करोडको म्युचुअल फण्ड बिक्री गर्दै, एक हजारमै लगानी गर्न सकिने

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले आगामी बिहीबार अर्थात बैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड २ को इकाई बिक्री गर्ने भएको छ । नबिल इन्भेष्टले आफ्नो तेश्रो योजना नबिल ब्यालेन्स फण्ड २ को १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले वैशाख ५ गतेदेखि छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् । यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ । नबिल ब्यालेन्स फण्ड २को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ । त्यस्तै, योजनाको इकाईहरु नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाईने छ । जस अनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । साथै, नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पुँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।