चार वर्षअघि अनलाईन सेवा थालेको प्रभु इन्स्योन्सलाई ‘लकडाउनमा लाभ’
काठमाडौं । समस्या सबैका आ–आफ्नै खालका हुन्छन् । प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यलाई पनि उस्तै तनावमा छ । ‘पुर्नबीमा रकम समयमा नै तिर्नुपर्छ । कर्मचारीलाई तलव दिनैपर्छ । घरभाडा दिनै पर्छ । पानी, विजुली, फोन, इन्टरनेट लगायत व्यवस्थापनका खर्चहरु सबै भईहाल्छन्’ उनले भने–‘विश्वमा सबैलाई समस्या छ । हामीलाई पनि समस्या छ ।’ गाह्रो छ तर काम रोक्नु भएन । बीमा सेवालाई अत्यावश्यक सेवा भनिएको छ । अफिस चलाउनै पर्छ । ग्राहकलाई आवश्यक सेवा दिनैपर्छ । उनको घर चावहिलमा छ । कार्यालय तीनकुनेमा । लकडाउनको बेलामा पनि कहिले अफिस कहिले घर । ‘जानै पर्दा अफिस जान्छु । धेरै काम अनलाइनबाट हुन्छ, घरबाटै गर्छु’ उनले भने । उनी धेरै जनाबीच छलफल गर्न जुम प्रयोग गर्छन । म्यासेन्जर, भाइवर, ह्वाट्स्एप पनि प्रयोग गर्छन । छिटो जोडिन र कुरा गर्न मोवाइल छँदैछ । ‘प्रविधिले हामीलाई धेरै सजिलो बनाएको छ । जुममा सामूहिक छलफल गर्दा त कार्यालयमा बैठक गरे जस्तै लाग्छ’ उनले अनुभव सुनाए । ‘दिनभरी नै काममा व्यस्त भइन्छ’ बज्राचार्यले भने–‘क्लाइन्टहरुले फोन गर्छन् । म्यानेजरहरुसँग दैनिक भर्च्युल मिटिङ गर्छु । कर्मचारीहरुसँग बारम्बार कुरा गर्नुपर्छ । अनलाइन रिपोटिङ हेरिरहनुपर्छ । नयाँ नयाँ निर्णय लिइरहनुपर्छ ।’ कुन कुन बीमा लेख नविकरण गर्नु पर्ने बेला भएको छ ? हप्ता/१० दिनअघि नै सम्बन्धित शाखामा इमेलबाट सर्कुलेशन गरिन्छ । आज कति बीमा लेख नविकरण भयो, कति नयाँ बीमा लेख जारी भयो ? कति बीमा शुल्क संकलन भयो अनलाइन रिपोटिङ हुन्छ । कम्पनीले चार वर्षअघि देखि नै अनलाईन बीमाको अभ्यास गर्दैै आएको थियो । मोवाइल एप प्रयोग गर्न ग्राहकलाई सिकाउदै र बानी पार्दै आएको थियो । ‘हामीले ठिक समयमा अनलाइन सर्भिसमा जोड दिएका रहेछौं । अहिले हामीलाई लाभ मिलेको छ’ प्रभु इन्स्योरेन्सका सीईओ बज्राचायले भने । ‘अनलाइनबाट पोलिसी जारी गरेका छौं । अनलाईनबाट बीमा नविकरण गराएका छौं । अनलाईनबाटै भुक्तानीको प्रबन्ध मिलाएका छौं’ उनले भने । यसको लागि प्रक्रिया पनि सजिलो छ । मोवाइल एपबाट कुन पोलिसी लिने, त्यसका बीमा शुल्क कति लाग्छ सबै जानकारी ग्राहकले लिन सक्छन् । आफूलाई चाहिएको बीमा पोलिसी उनीहरुले अनलाईबाटै लिन सक्छन् । आवश्यक डकुमेन्टहरु अनलाईबाटै पेस गर्न सक्छन् । सबै प्रक्रिया पुरा भएपछि बीमा कम्पनीले ठिक भएको सन्देश दिन्छ । त्यसपछि ग्राहकले मोवाइल बैकिङ, इन्टरनेट बैंकिङ वा प्रभु पे, ईसेवा लगायत वालेटबाट बीमा शुल्क भुक्तानी गर्न सक्छन् । त्यसपछि बीमा कम्पनीले ग्राहकको फाइलमा स्वीकृत जनाउँछ, बीमा पोलिसी जारी गर्छ । ‘यी सबै काम अनलाईनबाट हुन्छ । बजारको अवस्था सामान्य भएपछि कागजी फाइलमा आवश्यक सहिछाप लगाउने, लिने/दिने गछौं’ प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले भने । ग्राहक र कम्पनीबीच भएको बीमा सम्बन्धि डकुमेन्ट इकपी, स्क्यान कपी, फोटोकपी इमेल, भाइवर, ह्वाट्स्एपबाट लिने दिने काम अहिले नै भईरहेको उनले बताए । धेरै पेमेन्टहरु मोवाइल बैकिङ, कनेक्ट आइपीएस, प्रभु पे, इसेवा लगायत हुने गरेको उनले बताए । कुनै ग्राहकले चेकबाट नै भुक्तानी गर्छु भन्छन् भने प्रभु इन्स्योरेन्सका कर्मचारी चेक संकलन गर्न ग्राहकले बोलाएको स्थानमा जाने गरेको उनले बताए । ‘ठूलो भुक्तानी बैंकबाट बैंकमा टान्फर हुन्छ । इबैंकिङ सुविधा छ । कहाँबाट पैसा आयो हेर्न सकिन्छ । पेमेन्ट निश्चित भएपछि मात्र बीमा कम्पनीले बीमा पोलिसी जारी गरिन्छ’ उनले भने । अनलाइनबाट काम गर्ने प्रणालीको विकास र अभ्यासले गर्दा लकडाउनको बेलामा पनि तुलनात्मक रुपमा नतिजा राम्रो भएको उनले सुनाए । ‘चैत ११ गतेदेखि लकडाउन भयो । पहिलो १० दिन मात्र अफिसमा गएर काम गर्न पायौं, पछिको २० दिन काम गर्न कठिन भयो । तर हाम्रो विजनेश धेरै घटेन’ उनले खुशीको कुरा सुनाए । उनले अंक त उल्लेख गरेनन । तर २०७५ चैतको तुलनामा २०७६ चैतको व्यवसायमा फरक नपरेको उनले बताए । ‘मेरिन इन्स्योरेन्स बढेको छ । बैंकहरुबाट केही विजनेशन आएको छ । नविकरणतर्फ पनि राम्रो छ’ उनले भने । बीमा नविकरण, नयाँ बीमा पोलीसी जारीको काम मात्र होइन, दावी भुक्तानीको काम पनि सकेसम्म गर्ने गरेको उनले बताए । बीमा दावी गर्ने अवस्थामा ग्राहकले कम्पनीलाई जानकारी दिन्छ । अनलाइनबाट कम्पनीले विवरणहरु लिन्छ । ‘सानो रकमको बीमा दावी छ भनेर हामीले अनलाईनबाट प्राप्त विवरणहरुको आधारमा अध्यायन गरेर भुक्तानी दिन्छौं । ठूलो दुर्घट्नाको अवस्थामा, घट्ना र क्षतिबारे जान्न सर्भेयर नै जानु पर्ने भएमा सर्भेयर फिल्डमा जाने अवस्था नभएसम्म थप प्रक्रिया अगाडि बढ्दैन’ बज्राचार्यले भने ।
कोरोनाविरुद्ध लड्न प्राइम लाइफ इन्स्योरेन्सको साढे ७ लाख रुपैयाँ सहयोग
काठमाडौं । जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले जानकारी दिएको छ । यसबाट कोरोनाविरुद्धको लडाईमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।
धादिङको चेपाङ समुदायलाई ज्योति लाईफ इन्स्योरेन्सको सहयोग
काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले धादिङको चेपाङ समुदायलाई राहत वितरण गरी सहयाेग गरेकाे छ । यो लकडाउनले उत्पन्न गरेको खाद्यान्न अभावलाइ मध्यनजर गर्दै कम्पनीले धादिङको गजुरी गाउँपालिका वडा नं. ३ चिलाउने खर्कका चेपाङ समुदायलाई गाउँपालिकाले स्थापना गरेको फुड बैंकसंगको सहकार्यमा राहत वितरण कार्य गरेकाे हाे । आफुले गरेको खेतीबाट उत्पादित खाद्यान्नले मुश्किल संग ४ महिना धान्ने र बाँकी समय ज्याला मजदुरी गरी छाक टार्ने उक्त समुदायलाई राहत स्वरूप उक्त सहयाेग गरेकाे हाे । सिमित उब्जनी भएका चेपाङ समुदाय पहिले पहिले जंगली कन्दमुल, गिठ्ठा भ्याकुर, सिस्नु खाएर पेट भर्ने गर्थे भने, अहिले ज्याला मजदुरी गरेर छाक टार्ने गरेको र हालको लकडाउनले ज्याला मजदुरी कार्य गर्न नपाएको र खाद्यान्न अभाव भइ दैनिक गुजारा चलाउन कठिनाइ भएकाहरुको लागि गजुरी गाउँपालिकाले खाद्यान्न वितरण गर्नको लागि फुड बैक संचालन गरेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी गराए । उक्त फुड बैंकको प्रत्यक्ष सहकार्यमा ज्योति लाईफ इन्स्योरेन्सका धादिङ उपशाखा प्रमुख जयराम ढुङ्गानाले समुदायको परिवार संख्या विचार गरी चामल, तेल, दाल र साबुन जस्ता अत्यावश्यक सामाग्री वितरण गरेका थिए । हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत यस कम्पनीले ७ लाख ५० हजार रूपैयाँ सहयोग गरेको थियो । यस कठीन समस्यामा रहेका जनसमुदायलाइ कम्पनीले गरेको सानो सहयोग बाट केही राहत मिल्ने विश्वास लिएको कम्पनीका कार्यकारी उप प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।