लकडाउनमा खुल्ने सेयर बजारमा कस्तो प्रभाव देखिएला ? यसो भन्छन् लगानीकर्ता

काठमाडौं । सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने धितोपत्र बजार ५०औं दिन पछि अर्थात बैशाख ३० गते मंगलबारदेखि खुल्ने भएको छ । विश्वव्यापी कारोना भाइरस (कोभिड–१९)को महामारीका कारणले २०७६ चैत १० गतेदेखि बन्द भएको बजार अन्ततः लकडाउनकै बीच खुल्ने भएको हो । लकडाउनको अवधि थप लम्बिदै गएपछि नेपाल सरकारले धितोपत्र बजार खुलाउने निर्णय गर्यो । यससँगै दोश्रो बजार सञ्चालनमा ल्याउने सम्बन्धि धितोपत्र बजारका सम्पूर्ण सरोकारवालाहरु अगाडि बढिसकेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि सबै सरोकारवालाहरुसँग छलफल गरी के कसरी बजार सञ्चालनमा ल्याउने भन्ने विषयमा विभिन्न मापदण्ड बनाएर सेयर बजार खुलाउने निर्णय गरेको छ । पछिल्लो समय अर्थात लकडाउन अघिको सेयर बजार हेर्दा नेप्से परिसूचक १६६८ अंकबाट १२५१ अंकमा झरेको थियो । कोरोनाको त्रासले गर्दा छोटो समय अर्थात १९ दिनको अवधिमै परिसूचक ४१७ अंकले घटेको थियो । नेपाली पुँजीबजारको सन्दर्भमा हेर्दा यो छोटो समयमै सबैभन्दा बढी घटेको बजारका विज्ञहरु बताउँछन् । सो अवधिमा मात्रै सेयर बजारले ५ खर्ब १८ अर्ब रुपैयाँ पुँजीकरण गुमाएको थियो । विश्वभर कोरोनाको त्रासका कारण बजार तीव्र गतिमा घटेको थियो । नेपाली सेयर बजारलाई थप घट्न नदिन तथा सरकारले सार्वजनिक गरेको राजपत्र अनुसार पुँजीबजार अत्यावश्यक सेवामा नपरेको हुनाले लगानीकर्ताले बजार बन्द गराउने माग गरेका थिए । सोही अनुरुप तथा कोरोनाको महामारीलाई रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदमलाई कार्यान्वयन गर्न धितोपत्र बोर्ड, नेप्से जस्ता सरोकारवाला निकायले सेयर बजार बन्द गराएका थिए । तर लकडाउन लम्बिँदै गयो । चैत ११ गतेदेखि जारी गरिएको लकडाउन जेठ ५ गतेसम्म कायम राख्ने सरकारको निर्णय छ । लकडाउनसँगै पुँजीबजार पनि बन्द हुँदै गयो । यससँगै अर्थतन्त्र चलायमान बनाउने बजारलाई धेरै लामो समय बन्द गराउन हुन्न, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नकारात्मक सन्देश जान्छ भन्ने आवाज पनि बलियो बन्दै गयो । पुँजीबजारका सरोकारवालाहरु पनि बजार खुलाउनु पर्छ भन्ने तर्क गर्न थाले । उनीहरु बजार सञ्चालन गराउने तर्फ लागे । र, छैटौं पटक लकडाउन थपिएसँगै सरकारले पनि बजार खुलाउने नीतिगत निर्णय गर्यो । धितोपत्र बोर्डले पनि बजार घटबढ हुनेभन्दा पनि यसले अर्थव्यवस्था प्रतिबिम्बित बनाउँछ भने उद्देश्यले बजार खुलाउने निर्णय लियो । साथै, उसले यो समय लगानीकर्तालाई अनलाइन प्रणालीमा आवद्ध गराउने अवसरको रुपमा लिई विभिन्न मापदण्डहरु तय गरी दैनिक २ घण्टाका लागि भने पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गर्यो । यससँगै बजार बन्द भएको ५०औं दिन अर्थात मंगलबारदेखि खुल्ने भयो । यो महामारी तथा संकटबीच पनि खुल्दै गरेको बजार कस्तो होला ? बजारले कस्तो बाटो तय गर्ला ? लगानी गर्ने कि नगर्ने ? आफूले गरेको लगानी के होला ? भन्ने चिन्ता आम लगानीकर्तामा परेको छ । यसैबीच बजारका बारेमा जानकार तथा लगानीकर्ताको धारणा के छ भनेर हामीले यो सामग्री तयार गरेका छौं । अम्बिका प्रसाद पौडेल, पूर्व अध्यक्ष – नेपाल इन्भेष्टर्स फोरम बजार खुल्नु भनेको लगानीकर्ताको हित हुनु हो । किनभने सबैले सँधै सबै कुराहरु बन्द गरेर बस्नु समस्याको समाधान होइन । आफू सुरक्षित हुने, सामाजिक दुरी कायम गर्नुपर्छ । जे जस्तो छ, त्यसमै चलाएर आर्थिक गतिविधि चलायमान बनाउनु पर्छ । अबको बजार सरकारको नीति तथा आगामी बजेटले निर्धारण गर्ने हो । सरकारले पुँजीबजार सम्बन्धि जस्तो कार्यक्रम ल्याउँछ, त्यही अनुसार लगानीकर्ताको मनस्थिति विकास हुने हो । तर, अन्तर्राष्ट्रिय बजारको गतिअनुसार भन्ने हो भने हाम्रो बजार पनि शुरु शुरुमा घट्ला । यसले पछि आफ्नै गति लिन्छ । किनभने आर्थिक गतिविधिहरु, आर्थिक क्रियाकलापहरु चलाउनु पर्छ, चल्छन् भन्ने मान्यता अनुसार नै बजार खुलाईएको छ । त्यसैले म निरासा छैन । किनेभने कोरोनाको असरसँगै हाम्रो बजार करिब २३ प्रतिशतसम्म घटी सकेको छ । अब बजारमा धेरै घट्ने ठाउँ छैन । त्यसैले बजार खुलाउने निर्णयप्रति सकारात्मक छु । लगानीकर्ताले आफूले लगानी गर्दा जहिल्यै पनि आफ्नो आर्थिक हैसियत, धान्न सक्ने क्षमतालाई विचार गर्नुपर्छ । यसको अलवा कोरोनाका प्रकोप लामो समयसम्म रह्यो भने पनि सबैभन्दा बढी असर गर्ने क्षेत्र कुन हो र कम असर गर्ने क्षेत्र कुन हो भन्ने पहिचान गर्नु पर्नेछ । त्यस्तै, अहिले रहेको मूल्य र कोरोनाको असल पर्दा पनि दिने प्रतिफललाई विचार गरेर लगानी गर्न सकियो भने खासै गाह्रो हुँदैन । र, यस्तै संकटको अवस्थामा पनि विवेक पुर्याउन सकियो भने राम्रो प्रतिफल लिन सकिन्छ । अहिलेको अवस्थामा अनलाइन नलिएका लगानीकर्तालाई समस्या छ । हामीले के बिर्सनु हुँदैन भने अहिले अनलाइन नलिएकाले हिजो पनि ब्रोकरलाई नै अडर दिएर खरिदबिक्री गर्ने प्रक्रिया थियो । अहिले पनि ब्रोकरको अफिस चल्छ । फोनबाट अर्डर दिनु पर्यो । सबै बैंक तथा वित्तीय संस्थाहरु पनि खुल्न थालेका छन् । आफूलाई पायक पर्ने ठाउँमा ब्रोकरलाई पैसा भुक्तानी गरिदिने र ब्रोकरले पनि उनीहरुको खातामा पैसा जम्मा गरिदियो भने त्यति ठूलो समस्या पर्दैन । तर, लगानीकर्ताले बुझ्नु पर्ने के छ भने, यस्तो संक्रमण तथा संकटको अवस्थामा हिजोको जस्तै सबैकुरा सहज हुन्छ भन्ने हुँदैन । केही न केही कुरा असहज हुन्छ । त्यो असहजता भित्र पनि हामीले सहजता खोज्नु पर्छ । यसलाई त्यही किसिमले लिएर आफ्ना कृयाकलापहरु सञ्चालन गर्नुपर्छ । कसैले बिक्री गर्ने हो भने इलेक्ट्रोनिक डिपोजिट इन्स्ट्रक्सन स्लीप (इडीआईएस) बाट बिक्री गर्न सजिलो हुन्छ । खरिद गर्नको लागि नजिकै रहेको बैंकको शाखाहरुबाट ब्रोकरको खातामा पैसा जम्मा गर्न सकिन्छ । हामी प्रविधिमैत्री पनि हुँदै जानुपर्छ । यसको मतलब यी सबै कुरा प्राथमिक बजारमा हुनुपर्छ भन्ने होइन । पहिलो बजार सबैको लागि समान, समावेशी हुनुपर्छ । दोश्रो बजारमा आफ्नो लगानीको जोखिम लिन सक्नेहरु प्रवेश गरेका हुन्छन् । प्राथमिक बजारजस्तो दोश्रो बजार सबैको पहुँचमा हुँदैन । दोश्रो बजारमा प्रवेश गर्ने भनेको लगानीको जोखिम लिन सक्नेहरु मात्रै हुन् । त्यसैले, उनीहरु प्रविधिमैत्री हुन सक्नुपर्छ, गाह्रो साह्रोसँग जुध्न सक्नुपर्छ । छोटेलाल रौनियार, अध्यक्ष – नेपाल इन्भेष्टर्स फोरम अहिलेको अवस्थामा बजार खोलेर कसैलाई पनि फाइदा छैन । एउटा, चलखेल गर्नेहरुलाई फाइदा होला, नत्र अरु कसैलाई पनि फाइदा छैन । अर्को, लगानीकर्ता जो सेयर बेचेर बैंकको पैसा तिर्छु, घर व्यवहार चलाउँछु भन्नेमा छन्, उनीहरुलाई फाइदा होला । तर, त्यस्ता लगानीकर्ता कमै मात्र छन् । अहिलेको अवस्थामा धेरैको ‘मेरो सेयर’ छैन । धेरै लागानीकर्ता ‘आईपीएस कनेक्ट’मा आवद्ध छैनन् । त्यसैले यसमा धेरै समस्या छन् । यो मात्र नभएर नेप्सेको अनलाईन प्रणालीमा पनि समस्या छ । अनलाइन आएदेखि लगानीकर्ता मारमा परेका छन् । अनलाइन सफ्टवेयर परीक्षण कालमै छ । बोर्डले मान्यता दिएको छैन । यदि उक्त प्रणाली राम्रो भएको भए २० हजार अर्थात १ प्रतिशत लगानीकर्ताले मात्रै किन लिए अनलाइन ? यसो भन्दै गर्दा पहिला यो अनिवार्य थिएन भन्ने प्रश्न आउन सक्छ । हो, यो पहिला अनिवार्य थिएन । किन भएन अनिवार्य ? अनिवार्य गराउने त बोर्ड र नेप्सेको काम हो । यदि, त्यति बेला नै अनिवार्य बनाईदिएको भए आम लगानीकर्ता सबैले लिन्थे । अनलाइन राम्रो, बलियो तथा सबल भएको भए अहिले बजार बन्द गराउनु पर्ने अवस्था आउने थिएन । देश पुरै बन्द भए पनि धितोपत्र बजार चल्थ्यो । बजार खुलाउनको लागि अन्तर्राष्ट्रिय दवाव आयो, त्यसैले खुलाएको भन्ने पनि सुनिन्छ । उनीहरुलाई थाहा छैन कि हाम्रो अनलाइन अपुरो, अपाङ्ग छ भनेर । मलाई त लाग्छ, अर्थमन्त्रीलाई पनि राम्रोसँग भनिएको छैन कि हाम्रो अनलाइन अधुरो अपुरो छ भनेर । अनलाइन पूर्ण तथा बलियो भएको भए बजार खोलेर हामी घरबाटै काम गथ्र्यौं । हाम्रो पैसा, हाम्रो लगानी भएको सेयर मार्केट बन्द गराएर मुटु माथि ढुङ्गा राखेर बसिरहेका छौं । बन्द गराएर हामीलाई फाइदा छैन । अहिले बजार खोल्नु भनेको ९९ प्रतिशत लगानीकर्ता बजारबाट आउट गराएर एक प्रतिशतलाई मात्र सेयर किनबेच गर भन्न खोजेको हो । अनलाइन बलियो पार्नलाई ९९ प्रतिशत लगानीकर्तालाई दुःखमा पार्नु हुँदैन । त्यसैले मेरो विचारमा यो गलत काम हो । हामी पनि खुसी छैनौं । लकडाउन जारी हुँदै बजार खुल्नु भनेको घाटी थिचेर काम गर भन्नु हो । अब नियामकबाटै बजार खोल्ने निर्णय भईसक्यो । हामीले भन्ने केही छैन । तर अहिले बजार खोल्न व्यवहारिक रुपमा सम्भव छैन । संकटबीच खुलेको बजारमा लगानीकर्तामा अझै डर त्रास कायमै छ । बजार घट्नसम्म घटिसकेको छ । कोरोनाले गर्दा छोटो अवधिमा उच्च अंकले नेप्से परिसूचक घटेको छ । सुरुमा दुई/चार दिन डराएर बेच्लान, तर पछि त्यही लगानीकर्ताले किन्छन् । बजार चाहिँ घट्दैन । प्रकाश तिवारी, लगानीकर्ता तथा सेयर विश्लेषक अन्तर्राष्ट्रिय बजारको हिसाबले हेर्दा नेपालको बजारमा पनि शुरुमा प्यानिक आउने सम्भावना छ । तर, २ प्रतिशत सर्किट ब्रेकरको नयाँ व्यवस्थाले लगानीकर्तालाई पहिलाको जस्तो घाटा हुँदैन । किनभने पहिला एक दिनमा जति घट्थ्यो, अब त्यति घट्न एक हप्ता लाग्छ । प्यानिक हुँदाको अवस्थामा अध्ययन नगरी हतारमा निर्णय लिएर बेच्नेहरुलाई घाटा नाफा हुन सक्छ । अध्ययन गरेर बुझेर बेच्छु भन्नेले स्वयम् आफ्नो विवेकले काम गर्दा मार्केट तथा परिस्थितिलाई दोष लगाउने अवस्था आउँदैन । कारोबार भनेको सानोबाट बढ्दै बढ्दै ठूलो हुँदै जाने हो । त्यसमा काम गराउनको लागि ब्रोकरहरुले गर्नुपर्ने कामहरु धेरै नै छन् । यो अवस्थामा लगानीकर्ताहरु आफै उपस्थिति नभए पनि युजर आईडी दिने । लगानीकर्ताले अनलाईनको लागि घरमै आएर खाता खोल्दिए हुन्थ्यो भन्ने अपेक्षा गर्छ भने बैंकहरुले गाउँगाउँमा गएर ग्राहकको खाता खोलेको जस्तो ब्रोकरहरुले उनीहरुको घरघरमै गएर ट्याबलेट मार्फत अनलाईन आईडी खोलिदिन सक्ने अवस्था आउँछ । समग्रमा बजार घट्ने बढ्ने भन्ने त मार्केट आफैले तय गर्ने कुरा हो । यो अवस्थामा कम्पनीलाई कति असर पर्छ, के हुन्छ । सेयर किन्ने बेच्नेको सेन्टिमेन्ट कस्तो हुन्छ भन्नेले मार्केट घट्ने बढ्ने निर्धारण गर्छ । हामीले सोचेको अबको मार्केट घरबाटै लगानी गर्न सक्ने हुनुपर्छ । लकडाउनको कारणले मात्र नभई आगामी दिनमा अर्थात सामान्य परिस्थितिमा पनि ब्रोकर अफिस धाउनु पर्ने अवस्था नआओस् । चेक लिन तथा दिन बैंक तथा ब्रोकरकोमा जान नपरोस् । घरमै बसी–बसी कारोबार गर्ने, आफ्नो बैंक खाताबाट पैसा ब्रोकरको खातामा ट्रान्सफर हुने, सेयर बेचेपछि ब्रोकरकोबाट आफैमा ट्रान्सफर हुने । इलेक्ट्रोनिक डिपोजिट इन्स्ट्रक्सन स्लीप (इडीआईएस) को माध्यमबाट बेचेको सेयर ब्रोकरकोमा पुनःहाल्न मिल्ने जस्ता व्यवस्था अबका दिनमा सजिलो होस् । तर यसमा केही बाधा छन् । अहिलेको अनलाइन पूर्वाधार त्यति भरपर्दाे छैन । सबै लगानीकर्ताले अनलाइनबाट कारोबार गर्दा उक्त सिष्टममा धेरै समस्या आउन सक्छ । त्यसैले नेप्सेले अहिले नै आफ्नो सिष्टमका समस्याहरुलाई सुधार्नु पर्ने हुन सक्छ । अहिले १० हजार यूजर हुँदा जति प्रेसर तथा समस्या आउँछन्, पछि लाखौं यूजर हुँदाको प्रेसर बढी हुन्छ । अब अनलाइनबाटै कारोबार हुने भयो भन्दै खुसी हुनुभन्दा पनि सबैले घरबाटै अनलाइनमार्फत कारोबार गर्दा सिष्टमले धान्छ कि धान्दैन भन्ने कुरामा नेप्सेले ध्यान दिनु पर्यो । धान्दैन भने त्यही अनुसारको सिष्टम विकास गर्नु पर्यो । प्रविधि अनुसार बजारमा नयाँ जोखिमहरु आउँछन् । अनलाइन सिष्टमको विकास गर्ने क्रममा विकृतिहरु आउन सक्छन्, त्यसलाई न्युनिकरण गर्दै जानु पर्ने हुन्छ । अनलाइन सिष्टम हुँदा लगानीकर्तालार्ई बढी प्रेसर पर्ने हुन्छ । पहिले सबै काम ब्रोकरहरुले गरिदिन्थे भने अब आफैले गर्नुपर्ने हुन्छ । सेयर किनबेच गर्दा एकबाट अर्कोमा रकम ट्रान्सफर गर्दा गल्तीहरु हुने जस्ता समस्या आउने हुन्छन् । तर यी समस्या आउनु भनेकै उनीहरुले सिक्दै जानु हो । र, आगामी दिनमा सबै कुरा युजर फ्रेन्ड्ली हुनु हो । नयाँ अनलाइन प्रयोगकर्ताहरु बढ्दै जान्छन् । अनलाइन कारोबार बढ्दै जान्छ । यसले गर्दा हामी पहिले के कुराले गर्दा पूर्णरुपमा अनलाइनमा जान सकेका रहेनछौं, के कारणले गर्दा विगतका दिनमा कारोबार खुलाउन सकिएको रहेनछ, अनलाइन कारोबार गर्दा के के समस्याहरु आउँदा रहेछन् भन्ने सबै समस्याहरु थाहा पाइन्छ । बजारमा सुधार गर्नुपर्ने कामहरु धेरै छन् । अब ती समस्याहरु के–के हुन् भन्ने आउँदै जान्छ । जसलाई न्युनिकरण गरी सुधार गर्दै जानुपर्ने छ । मार्केट खुलाउनै पर्ने थियो । यो अवधिमा केही नभएपनि कम्तिमा एक महिना जति कारोबार हुन्थ्यो । सो अवधिमा धेरै कुराहरु सुधार हुन्थ्यो होला, लगानीकर्ताहरु पनि अनलाइन सिष्टम चलाउनमा अभ्यस्त भईसक्थे । अहिलेको अवस्थामा प्रायः लगानीकर्ता अनलाइनको लागि नयाँ हुने भएकाले धितोपत्र बजारका सहजकर्ताहरु जस्तै, ब्रोकर, लगानीकर्ता संघ संगठनहरुले अनलाईन मैत्री शिक्षा दिनु पर्ने देखिन्छ । उनीहरुले अनलाइनबाट भिडियो तथा मिटिङ गरेर हुन्छ कि कसरी हुन्छ, नयाँ प्रयोगकर्तालाई अनलाइन कसरी युज गर्ने, युज गर्दा कहाँ कहाँ समस्या आउन सक्छ भनेर सिकाउनु पर्ने देखिएको छ । त्यस्तै प्रविधिमैत्री लगानीकर्ताले यसमा सहयोग गर्न सक्नेछन् । धितोपत्र बजारका सरोकारवालाहरुले अहिलेको अवस्थामा नयाँ युजरहरुलाई अनलाइन सिष्टम कसरी चलाउनु पर्छ भन्ने शिक्षा दिन आवश्यक छ । अर्को, नेप्सेले पनि अहिलेको अवस्थामा के हुन सक्छ भनेर मार्केटलाई सुक्ष्म रुपमा निगरानी गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डले पनि सबै सरोकारवालाहरुसँग छलफल गरी के गर्दा मार्केटलाई सजिलो हुन्छ भन्ने रणनीति बनाएर अघि बढ्नु पर्ने देखिन्छ । त्यस्तै, अबको अवस्थामा चुप लागेर बस्ने बेला छैन । सबैलाई पहिलेको भन्दा धेरै कामहरु थपिन्छन् । सबै सरोकारवालाहरु मिलेर अघि बढ्यो भने पूर्ण अनलाइनलाई सजिलै चलाउन सक्छौं । राधा पोखरेल, अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ हामीले त बजार खोल्नु हुँदैन नै भनिरहेका छौं । लकडाउन पुरै खुलेको छैन । यो अवस्थामा बजार खुल्नु भनेको सबैको पहुँचमा भएन । कतिपय लगानीकर्ता उपत्यका बाहिर छन्, जहाँ कफ्र्यु पनि लागेको छ । बाहिर निस्किन सक्ने अवस्था छैन । उपत्यका भित्रकै कुरा गर्नु पर्दा पनि लगानीकर्ताले पास लिन पनि एकदम गाह्रो छ । दुई दिनको अवधिमा मेरो सेयर तथा कनेक्ट आईपीएसमा आवद्ध हुने जस्ता काम गर्नको लागि पनि कार्यालय धाउनु पर्ने हुन्छ । त्यसको लागि पास नभई जान सक्दैनौं । ब्रोकरहरुले पास उपलब्ध गराउने भन्ने छ । उनीहरुले कति जनालाई दिने ? यससँगै कारोबार भयो, अब सेयर रोक्का भयो, फुक्का गर्नुपर्ने हुन्छ । जुन बैंकले फोनकै भरमा गराउन पनि गाह्रो छ । बैंकमा जानु पर्यो । ब्रोकरकोमा जानु पर्यो । सहज नभएको अवस्थामा बजार खोल्नु भनेको अप्ठेरो नै हो । हो, बजार बन्द गर्नु हुँदैन । तर यतिका दिन बन्द गरेर उही अवस्थाबाट बजार खोल्नु नराम्रो हो । यसबाट साना लगानीकर्ता मारमा पर्छन् । कारोनाको त्रासले गर्दा बजार २५ प्रतिशतले घटिसकेको छ । अब २० प्रतिशत घट्न थाल्यो भने बैंकहरुले मार्जिन कल गर्न थाल्छन् । यस्तो अवस्थामा लगानीकर्ताले के गर्ने ? अबको बजार के होला भनेर भन्न सकिँदैन । अन्तर्राष्ट्रिय बजार बढ्यो । किन बढ्यो भन्दा उनीहरुले राहत प्याकेज ल्याएका छन् । यहाँ त राज्यले उल्टै राहत मागेको छ । लगानीकर्तालाई दिने कुरा त असम्भव छ । अर्को, हामी बिरामी छौं । अहिले हाम्रो सुस्त मनस्थिति छ । नर्मल अवस्थामा छैनौं । दिनका दिन संक्रमितको संख्या बढेकाले भयावह अवस्था हुँदै गएको छ । हो, बजार बन्द गर्न हुन्न । तर पूर्ण अनलाइन नभईकन बजार चलाउन सकिँदैन । किन्ने र बेच्ने मात्रै गर्ने होइन । राफसाफ गर्नुपर्यो । बजार भनेको धेरै जनाको बीचमा मोलमोलाई भएपछि मात्र बजारले आफ्नो गति लिन्छ । तर सीमित व्यक्तिको लागि मात्र बजार खुल्यो भने बजारले आफ्नो रुप लिन सक्दैन । बढाउन चाहे बढ्छ । घटाउन चाहे घट्छ । बजार घट्न नदिन सरकारले केही रणनीति लिन सक्थ्यो । यहाँ त ल खोल्नु भनेपछि भयो । के कसरी खोल्ने, लगानीकर्तालाई कुन रुपमा ल्याउने भन्नेमा कसैको ध्यान नै गएन । त्यसैले, साना लगानीकर्ता पहिले पनि चेपुवामा परेका थिए, अहिले पनि पर्ने नै भए ।

जीवन बीमा कम्पनीको रोजाइमा विकास बैंक, कोरोना बीमामा १०० प्रतिशत दावी

काठमाडौं । जीवन बीमक संघले बीमा समिति समक्ष १३ बुँदे माग तथा सुझाव पेस गरेको छ । बीमा समिति र जीवन बीमक संघ नेपालबीच बैशाख १७ गते बसेको संयुक्त बैठकमा नेपालमा कोरोना भाईरसले नेपालको जीवन बीमा क्षेत्रमा पारेको समग्र प्रभाव सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय भएको थियो । संघले सुझाव प्रतिवेदन आज बीमा समितिमा पेश गरेको कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए । जीवन बीमक संघले विकास बैंकको मुद्दति खातामा लगानी गर्न पाउनु पर्ने माग गरेको छ । वाणिज्य बैंकहरुले मुद्दति व्याजमा सिण्डिकेट लागू गर्दै व्याज घटाएपछि अर्बौ रुपैयाँ मुद्दतिमा लगानी गर्दै आएको जीवन बीमा कम्पनीहरुले विकास बैंकमा लगानीको ढोको खोलिदिन बीमा समितिलाई अनुरोध गरेका हुन् । ‘हालको लगानी निर्देशिकालाई केही संसोधन गरि बढी प्रतिफल प्राप्त हुने क्षेत्र जस्तै विकास बैंकमा लगानी गर्न सहज हुने व्यवस्था गर्न अनुरोध गर्दछौं’ संघले बीमा समितिलाई बुझाएको प्रतिवेदमा उल्लेख गरिएको छ । जीवन बीमक संघले कोरोना बीमा लगायत मावन जीवन सम्बन्धि सबै बीमा गर्ने अधिकार जीवन बीमा कम्पनीमा मात्र हुनुपर्ने माग गरेको छ । ‘जीवन बीमा अन्तरगत सबै मानव जीवन र सोको सँग सम्बन्धित बीमा योजनाहरु समावेश हुनु पर्ने सामान्य मान्यता रहेको हुनाले जीवन बीमक संघ यस सम्बन्धमा बीमा समितिले पहल गरी कोरोना बीमा लगायत सबै मानव जीवन सम्बन्धी सबै बीमा जीवन बीमा कम्पनीहरुले मार्फत मात्र गर्ने व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछौं’ संघले समितिमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संघले बीमा समितिलाई तिर्ने १ प्रतिशत सेवा शुल्कमा छुट गरिदिन माग गरेको छ । जीवन बीमा कम्पनीहरुको नयाँ बीमा शुल्क तथा नविकरण बीमा शुल्कमा ठूलो मात्रामा कमी आएको, तरलता, नगद प्रवाह र लगानी र सोको व्याज आयमा नकारात्मक असर परेकोले भन्दै संघले उक्त माग राखेको हो । संघले सरकरसँग आवश्यक समन्वय गरी ग्राहक, अभिकर्ता, कर्मचारी र कम्पनीको करको दरमा केही छुट गराउन बीमा समितिले पहल गर्नु पर्ने सुझाव दिएको छ । संघले लकडाउन अवधिको व्याज रकममा २०७७ अषाढ मसान्त भित्र बीमालेख धितो कर्जा तथा व्याज भुक्तानी गर्न आएमा सो लकडाउन अवधीको व्याज रकममा १५ प्रतिशत छुट दिन उपयुक्त हुने सुझाव दिएको छ । कम्पनीले प्रदान गरेको अभिकर्ता कर्जाको असुली र सो को लागि गरिने व्यवस्था सम्बन्धी नियममा छुट प्रदान गर्न अनुरोध गरेको छ । हालको अवस्थामा कम्पनीको आम्दानी र खर्चमा देखिएको ठूलो अन्तरले कम्पनीको वित्तिय अवस्थामा पार्ने प्रभावलाई ध्यानमा राखी सल्भेन्सि मार्जिनको हालको व्यवस्थामा कम गर्न अनुरोध गरेको छ । त्यस्तै, अभिकर्ताको नयाँ लाइसेन्स जारी गर्ने हालको प्रक्रियालाई सरल र सहज बनाउन माग गरेको छ । विश्वव्यापी रुपमा डिजिटल तथा अनलाइन माध्यमबाट बीमा लेख जारी गर्ने लगायतका सबै सेवाहरु दिने गरेकोले विभिन्न देशहरुमा लकडाउनको अवस्थामा समेत बीमा व्यवसायमा प्रभाव नपरेको अवस्था छ । हालको लकडाउन परिस्थिमा सोसियल डिस्टेन्समामा बस्नु पर्ने लगायतको अवस्थामा डिजिटल माध्यमबाट सेवा प्रवाह गर्न पर्ने यस समयको आवश्यकता हो । नेपालमा बैंकहरुले समेत अनलाईनबाट मार्फत घरमै रहेर बैंक खाता खोल्न र बैंकिङ सेवा लिन सकिने व्यवस्था सहित दैनिक विज्ञापन गरिरहेका छन । तसर्थ बीमा क्षेत्रमा पनि नयां पोलिसी, नविकरण लगायतका सबै सेवाहरु डिजिटल माध्यमबाट दिन सकिने गरी आवश्यक व्यवस्था मिलाई दिन अनुरोध गरेको छ । त्यस्तै, बीमा कम्पनीहरुले नोक्सानमा रहेका शाखा कार्यालय मर्ज वा बन्द गर्न पाउने व्यवस्था पनि माग गरेको छ । ‘कम्पनीको आम्दानीमा संकूचन भएको अवस्थामा खर्चहरु धेरै जसो नियमित प्रकृतिको हुनाले संस्थाको दीगोपनको लागि शाखा कार्यालयहरु मर्ज तथा बन्द गर्न कम्पनीलाई सजिलो प्रकृयाको व्यवस्था गरिदिन अनुरोध गर्दर्छौ । जीवन बीमा कम्पनीहरुको व्यवसायको प्रकृति अनुसार दीर्घकालिन लगानीका क्षेत्रहरुमा लगानी गर्नुपर्ने भएकोले दीर्घकालीन अवधीको बीमा वण्ड ÷ विकास वण्ड जारी गर्न सरकारसंग आवश्यक पहल गरिदिन बीमा समितिसँग माग गरेको छ । हालको विषम परिस्थितिमा कम्पनीहरुको खर्च रकम आम्दानी अनुपातमा बढीने हुनाले हाल तोकिएको खर्चको ३० प्रतिशतको सीमा भन्दा बढी भएको खर्च सम्वन्धि हालको व्यवस्थालाई पुनरावलोकन को लागि अनुरोध गरेको छ । हाल नाफाको १० प्रतिशतले व्यवस्था गरिएको महाविपत्ती कोषलाई महामारीको हालको अवस्थामा उपयोग गर्न मिल्ने व्यवस्था गर्न माग गरेको छ ।

उन्नति लघुवित्तद्धारा सिद्धार्थनगर नगरपालिकाकाे काेराेना काेषमा १ लाख सहयाेग

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ५ सिद्धार्थनगर नगरपालिकालाई १ लाखको चेक हस्तातरण गरेको छ । संस्थाले नगरपालिका का नगर प्रमुख हरि प्रसाद अधिकारीलाई १ लाख रुपैंयाको चेक हस्तानतरण गरेको हो । संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाइरस कोभिड १९ राहतकोषमा रु. ६ लाख ५० हजार सहयोग गर्ने सन्दर्भमा सहयोग स्वरुप चेक हस्तानतरण गरेको हो । लघुवित्तका सञ्चालक खड्ग बहादुर राना तथा प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले चेक हस्तान्तरण गरेको थिए ।