जिल्ला सहकारी संघ कास्कीमा कोइराला

कास्की । सहकारीको छाता सङ्गठन जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित भएकी छिन् । अध्यक्षका लागि कोइरालासहित बलराम गौतम र धर्मराज अर्याल चुनावी मैदानमा थिए । सङ्घको ४७औँ साधारणसभाले वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दीपक बाँस्तोला र कोषाध्यक्षमा नवराज बराल निर्वाचित भएका छन् । त्यसैगरी महिला प्रतिनिधिमा कौशिला गुरुङ, चन्द्रकुमारी पराजुली, मैनादेवी रावल, विना लोहोनी निर्वाचित भएका छन् । राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपकप्रसाद आचार्य चयन भएका छन् । विषयगत समितितर्फ आनन्द सुवेदी र सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी तथा लेखा समिति संयोजक धर्मबहादुर गुरुङ एवं सदस्यमा रमण पौडेल र विमलाकुमारी थापा निर्वाचित भएका छन् ।

मुनाल सहकारी १३ वर्षमा प्रवेश

पाेखरा । पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था स्थापनाको बाह्रौं वर्ष पुरा गरी शनिबार माघ ३ गतेबाट तेह्रौं वर्षमा प्रवेश गरेको छ । आफ्नो तेह्रौं वार्षिकाेत्सवको अवसरमा संस्थाले शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनको निर्माण सहयोगार्थ पच्चिस हजार आर्थिक सहयोग प्रदान गरेकाे संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए । २०६५ साल माघ ०३ गते देखी कारोबार सञ्चालन गरेको यस सहकारी संस्था जिल्लाकै अग्रणी सहकारीको रुपमा चिनिन्छ ।

माछापुच्छ्रे कृति क्यापिटलले शुरू गर्याे संयुक्त कारोबार, अध्यक्ष भन्छन्- देशकै नमुना क्यापिटल बन्छाैं

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नामबाट संयुक्त कारोबार शुरू भएको छ । साविककाे माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेड मर्ज भई बनेकाे माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नामबाट माघ २ गतेदेखि एकीकृत काराेबार शुरू भएकाे हाे । मर्जर पश्चात बनेकाे माछापुच्छ्रे कृति क्यापिटलको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नं.११, सुन्धारा, बाघदरबारमा रहने छ । कम्पनीले पुस ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट र पुस १७ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति प्राप्त गरेकाे थियाे । संयुक्त कारोबार संचालन शुभारम्भ समारोहकाे उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गरेका हुन् । समारोहमा पूर्ण विद्युतीय मर्चेन्ट बैंकिङ्ग सेवाको अवधारण प्रस्तुत गर्दै ढुंगानाले एकीकृत कम्पनीलाई राम्रो, भरपर्दाे र ठूलो क्यापिटलको रुपमा प्रगति गर्नका लागि शुभेक्षा दिए । माछापुच्छ्रे बैंकका अध्यक्ष डां. बिरेन्द्र प्रसाद महतोले संयुक्त टिमलाई सृजनात्मक तथा अनुसन्धनात्मक सेवालाई निरन्तरता दिन प्रोत्साहन दिए । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गाभिएर संयुक्त कारोबार सञ्चालन शुभारम्भ गरेको मर्चेन्ट कम्पनी देशकै उत्कृष्ट मर्चेन्ट बैंकको रुपमा स्थापित हुनका लागि प्रोत्साहन दिए । माछापुच्छ्रे कृति क्यापिटलका अध्यक्ष विश्वम्बर न्यौपानेले पूँजी र अनुभवी टिमको समिश्रणले देशकै नमुना क्यापिटल हुने विश्वास प्रस्तुत गरे । गाभिने कम्पनीका सञ्चालक आशिष श्रेष्ठले टिमलाई बधाई दिँदै हालको उत्कृष्ट सेवालाई निरन्तरता दिन शुभकामना दिए । कार्यक्रममा बोल्दै माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यले पुँजीबजारमा योगदान गर्दै देशको नेतृत्वदायी मर्चेन्ट बैंक बन्ने एकिकृत कम्पनीको प्राथमिकता भएको धारणा राखे । मर्जर पश्चात माछापुच्छ्रे कृति क्यापिटल देशकै ठुलो लगानी व्यवस्थापन सेवा प्रदान गर्ने कम्पनी मध्ये एक हुनेछ । क्यापिटल माछापुच्छ्रे बैकको सहायक कम्पनी हुनेछ ।