काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई संस्थापक सेयरधनीले २७ लाख ६० हजार २८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
कम्पनीका अनुसार यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालि र सुष्मा राणाले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका छन् ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिले ९ लाख ६० हजार २८ कित्ता र सुष्मा राणाले १८ लाख कित्ता सेयर बिक्री गर्न चाहेका छन् ।
नेपाल धितोपत्र बोर्डको निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिम लकइन अवधि समाप्त भएपछि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का बेला कायम रहेका आधारभूत सेयरधनीले आफ्नो धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्न चाहेमा कम्तीमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार कम्पनीले संस्थापक सेयर बिक्री गर्ने मनसायसम्बन्धी सूचना नेप्सेमार्फत सार्वजनिक गर्न जानकारी गराएको हो ।