साढे १२ लाख बढीले भरे चन्द्रागिरी हिल्सको आईपीओ, अब भर्न नपाइने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा साढे १२ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार (पुस २८ गते) सम्ममा १२ लाख ५१ हजार ९३८ जना आवेदकले सेयर भरेका हुन् । कम्पनीको सेयरमा आवेदन दिने अन्तिम दिनसम्ममा २ करोड ४४ लाख २९ हजार ८४० कित्ता अर्थात २ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर माग भएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको थियो । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेको हो । चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको थियो । उक्त सेयरमा इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । यससँगै आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने व्यवस्था थिएन ।

इजी ट्याक्सी नेपालमा आबद्ध ट्याक्सीधनीले प्रभु इन्स्यारेन्सको बीमा सेवा पाउने

काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो । आइतबार प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बिच इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्सको तर्फबाट सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तरगत ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सीधनीलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरलरुपमा फछ्र्यौट गरिने बताए । कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत संचालन भएका बीमा सेवा सुबिधाको लागि संयुक्त सचेतना र सुबिधाका कार्यक्रमहरु तयार पार्ने सहमति समेत गरेका छन् । इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिईरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुबिधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा बिस्तार हुने आशा व्यक्त गरे । इजी ट्याक्सी नेपालले विभिन्न योजनाहरु र अभियानमार्फत ट्याक्सी व्यवसायलाई थप मर्यादित र जिम्मेबार बनाउँदै डिजिटल मैत्री बनाईरहेको छ । जसले डिजिटल नेपालको अभियानलाई थप प्रबद्र्धन र सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश दिने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । पुस २७ गते दिउँसो ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ८४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।