एनआईसी एशिया लघुवित्तद्वारा दुर्घटना बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । वित्तीय संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको वित्तीय संस्थाले ज्योति लाईफ ईन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आईरहेको छ । संकुल १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।  

यूनाईटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज(माघ ७ गते) वेविनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहविवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६।०७७ का लागीबाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरेको छ । सभाले कम्पनीको विशेष प्रस्ताव अन्तर्गतको कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई पारित गरेको छ । बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सभाले सर्वसहमतिले पारित गरेको हो । कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरण अनुसार इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख रुपैयाँ रहेको छ । खुद बीमा शुल्क आम्दानी २३ करोड ०७ लाख रुपैयाँ रहेकोमा खुद नाफा २ करोड २२ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको लगानी गत आ.व. को तुलनामा ३.९३ प्रतिशतले वृद्धि भई आषाढ मसान्तमा ६९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । आ.व. २०७५।०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

कृषि विकास बैंकले लञ्च गर्यो किसान क्रेडिट कार्ड र किसान एप, कसरी गर्ने रजिष्टर ?

काठमाडौं । कृषि विकास बैंकले किसान क्रेडिट कार्ड र किसान एप लञ्च गरेको छ । बैंकको आज(माघ ७ गते) भएकाे ५४औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सो कार्ड र एपको लञ्च गरेका हुन् । यो आधुनिक प्रविधियुक्त स्मार्ट एप हो । जसमार्फत किसानले आफ्नो मोबाईल मार्फत बैंकले उपलब्ध गराएको एप्लीकेसन सफ्टवेयर प्रयोग गरी कृषि सम्बन्धी विभिन्न कारोबारहरु सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्ने छन् । के कस्ताे सुविधा पाइन्छ ? बैंकले आज मात्रै लञ्च गरेको किसान एपबाट किसानले विभिन्न सेवा सुविधाहरु पाउने छन् । उनीहरुले आवश्यक कृषि सामग्री बैंकले गरेका मर्चेन्टबाट खरिद गर्न सक्नेछन् । आफुले उत्पादन गरेको कृषि उपज बिक्री गरी भुक्तानी लिन सक्नेछन् । त्यसैगरी बैंकको कर्जा खातामा भएको रकम तोकिएको सीमासम्म कारोबार गर्न सकिने छ । कृषि ज्ञान केन्द्रको सुविधा भएको उक्त एपबाट युटीलिटी पेमेन्टको समेत सुविधा पाइने छ । एप लिन कस्ताे योग्यता हुनुपर्छ ? बैंकबाट कर्जा कारोबार गरिरहेका र खाता मार्फत बैंकिङ्ग कारोबार गर्ने किसानले उक्त एप लिन सक्नेछन् । कृषि सामाग्री, सेवा तथा उपज खरिद बिक्री गर्ने व्यवसायीले पनि सो एप लिन योग्य हुने छन् । त्यसैगरी, बैंकसँग सहकार्य गरेका विभिन्न निकाय एवं वालेट प्रयोग गरेका र अन्य बैंक तथा वित्तीय संस्थाका किसानले उक्त एप लिन सक्नेछन् । रजिष्टर गर्ने कसरी ? योग्यता पुगेका किसानले किसान एप सञ्चालन गर्न बैंकको नजिकैको शाखामा गई आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त आवेदन स्वीकृत भएमा बैंकबाट युजर नेम पासवर्ड तथा पिन प्राप्त हुने छ । त्यसपछि किसानले आफ्नो स्मार्ट फोनको गुगल प्ले स्टोर तथा एप स्टोरबाट बैंककको किसान एप डाउनलोड गनुपर्छ । अनि बैंकबाट प्राप्त भएको यूजर नेम, पासवर्ड तथा पिन राखी एप सञ्चालन गर्न सकिने बैंकले जानकारी गराएको छ ।