काठमाडाैं । आजदेखि सिंगटी खाेलाकाे आईपीओ खुलेकाे छ । दोलखाको सिंगटी खोलामा निर्माण भएको २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनाले प्रभावित स्थानीयहरूका लागि साधारण सेयर खुला गरेको हाे ।
निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आयोजना प्रभावित र सर्वसाधारणलाई ४३ लाख ५० हजार कित्ता साधारण सेयर खुला गर्ने तयारी गरेको हो ।
पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयहरूलाई १४ लाख ५० हजार कित्ता साधारण सेयर ४ माघदेखि खुला गरिएको कम्पनी सचिव रमेश अधिकारीले बताए । प्रभावितहरूले आइतबारदेखि १९ माघसम्म सेयर भर्न सक्नेछन् । सेयर संकलन गर्न नेपाल बैंक लिमिटेड, सेन्चुरी कमर्सिएल बैंक, सिंगटीस्थित आयोजनाको कार्यालय र कालिञ्चोक गाउँपालिका–२, बाबरेमा संकलन केन्द्र राखिएको छ ।
प्रभावित क्षेत्रका लागि आह्वान गर्न लागिएको साधारण सेयर दोलखाको कालिञ्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूले मात्र आवेदन गर्न पाउनेछन् । कम्पनीका अनुसार सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् २९ लाख कित्ता सेयर पहिलो चरणमा बाँडफाँड गरेपछि खुला गरिनेछ ।