सामुदायिक लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बुधबार साँगास्थित लहरीखर्क रिसोर्टमा संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको हाे । सभाले अध्यक्षले प्रस्तुत गरेकाे आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन, आ.व.२०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु स्विकृत गरेको छ । साथै सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको प्रस्ताव गरिएको पारिश्रमिक समेत स्विकृत गरेको छ ।

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाद्वारा एटिएम सेवा सुरु

काठमाडाैं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले एक कार्यक्रमका बीच औपचारिक रुपमा सहकारी संस्थाकाे एटिएम बुथको उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रहेका कँडेलले सहकारी क्षेत्रलाई डिजिटाइजेशनमा जान केहि कानुनहरु परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । सहकारीको आफ्नै प्रविधि प्रचलनमा ल्याउन सहकारी कानुन मात्र पर्याप्त नभएको भन्दै महासंघले त्यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग पहल गरिरहेको उनले जानकारी दिए । कुनै समय सहकारीहरुलाई एटिएम सञ्चालन गर्न कुरा गर्दा खर्चिलो हुने भन्दै पछाडि हटेको स्मरण गर्दै कँडेलले भने अहिले ५० भन्दा बढि संस्थाले एटिएम मेशिन राखेर सदस्यलाई सेवा दिइरहेका बताए ।        

एसबी सोलुसन र डिजि हबबीच ‘क्रेडिट एक्स प्रो’ अटोमेसन प्रणालीको लागि सम्झौता

काठमाडाैं । एसबी सोलुसन र डिजि हबबीच लगानी र सहकार्यका लागि सम्झौता भएको छ ।  कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको हो । यो लक्ष्यलाई पुरा गर्नका लागि एसबी सोलुसनका अध्यक्ष र डिजि हबका प्रबन्ध निर्देशक बीचमा सम्झौता भएकाे हाे । लेन्डिङ क्षेत्रमा डिजिटलाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ । डिजि हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ । एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन् । क्रेडिट एक्स सँगसँगै एसबी सोलुसनले बैंक तथा वित्तिय संस्थाहरुलाई क्रेडिट रेटिङ र वित्तिय मूल्याकंन, अनलाइन कर योग्यता, अनलाइन अकाउन्ट खोल्न, डकुमेन्ट व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीको क्रेडिट र ग्यारेन्टी स्वचलित व्यवस्थापन प्रणाली, मेमो व्यवस्थापन प्रणाली, कागजात अभिलेख प्रणाली, बजेट प्रबन्धन प्रणाली जस्ता सेवाहरु प्रदान गरिरहेको छ । डिजि हब प्रालिले बैंक तथा वित्तिय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ । डिजि हबले डिजिटल नेपालको भिजनलाई साकार पार्नका लागी काम गरिरहेको छ ।