सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । फागुन २ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ । त्यसैगरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण कार्यको लागिपुनःवर्तमान लेखापरीक्षकश्री देवकी बिजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको छ । कम्पनीको सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्कवेटमा सम्पन्न भएको हो ।
नगर विकास कोष ३३ औं वर्षमा प्रवेश : उत्कृष्ट नगरपालिका र खानेपानी आयोजना उपभोक्ता सम्मानित
काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोष ३३ औं वर्षमा प्रवेश गरेको छ । कोषले सहरी क्षेत्रमा पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आईतवार राजधानीमा एक भव्य कार्यक्रमका साथ नगर विकास कोषले वार्षिक उत्सव मनाएको छ । नगर विकास कोषको ३३ औं वार्षिकोत्सव समारोहलाई सहरी विकास मन्त्री प्रभु साहले उद्घाटन गरेका थिए । मन्त्रि साहले कोषले गरेको कामलाई प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताएका छन् । उनले सहरी पूर्वाधारको विकास गर्न कोषलाई निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तिय मध्यस्थकर्ताका रूपमा विकास गर्ने बताए । सम्बृद्धिको यात्रामा महत्वपूर्ण भूमिका खेलेको कोषलाई आगामि दिनमा अझ सफलता मिल्नेमा उनले विश्वास व्यक्त गरे । यस्तै सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य हासिल गर्न नगर विकास कोषले उल्लेख्य जिम्मेवारी बहन गरेको टिप्पणी गरे । ‘केही करोड रकमबाट सुरु भएको नगर विकास कोषले अर्बौंको कम्पनी बनाउन सफल भएकोमा खुसी लागेको छ ।’ कोषका पूर्व कार्यकारी निर्देशक तथा राष्ट्रिय पुन:निमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवालीले भने, ‘कोषले ठूलो फड्को मारेको छ ।’ नेपाल नगरपालिका संघका अशोक बेन्जु श्रेष्ठले नगरपालिकाहरुलाई नगर विकास कोष जस्तो संस्था अपरिहार्य भएकोमा जोड दिए । नगर विकास कोषले हालसम्म ८३ वटा नगरपालिका र ९४ वटा खानेपानी संस्थासँग काम गर्दै आएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए । कोषले ऋण लगानी मार्फत नमुना काम गरेका नगरपालिका र खानेपानी आयोजना उपभोक्ता संस्थालाई सम्मान गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका र सर्लाहीको लालबन्दी नगरपालिका सम्मानित भएका छन् । यस्तै खानेपानी संस्थातर्फ कावासोती खानेपानी उपभोक्ता संस्था नवलपुर र करैया मक्कर उपभोक्ता संस्था रूपन्देहीलाई सम्मान गरिएको छ ।
अपि पावरको बोनस सेयर सूचीकृत
काठमाडौं । अपि पावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आइतबार (फागुन २ गते) मात्रै १७ लाख २० हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, उनीहरुले दोश्रो बजारमा कारोबार गर्न पाउने छन् । आइतबारको बजारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता २८२ रुपैयाँमा शुरु भएको थियो । त्यसपछिको कारोबारमा भने संस्थाको सेयर मूल्य घटेको थियो । र, अन्तत बजार बन्द हुँदा अर्थात संस्थाको अन्तिम कारोबार प्रतिकित्ता २८० रुपैयाँमा भएको छ ।