अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ तोकिएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ३१३ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता २४२ रुपैयाँदेखि कारोबार शुरु हुने छ । थापाथलीमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको बजार पुँजीकरण ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
एनसीएचएलको अध्यक्षतामा रामबहादुर मानन्धर
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा राम बहादुर मानन्धर चयन भएका छन् । एनसीएचएलको १६९ औं सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा मानन्धरलाई चयन गरिएको हो । नवनियुक्त अध्यक्ष मानन्धरले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा नीलम ढुगांनानबाट अध्यक्षको सपथ गरेका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको विभाग परिवर्तन भएसगैँ एनसीएचएलको अध्यक्षमा मानन्धरले प्रतिनिधित्व गरेका हुन् । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक/एक जना प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयां बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड-१९ लगायतका विभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बिमा कम्पनीहरूको अबस्था, बीमा व्यवसायमा देखिएका विभिन्न कठिनाइहरुको गहिरो छलफल गर्नुका साथै यस क्षेत्रको बिकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल गरी सुझावहरु दिइएकाे थियाे । सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराएका थिए र उक्त विवरणहरु पारित भएका छन् ।