अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच क्यासलेस क्लेम गर्ने सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्ससँग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी (क्यासलेस क्लेम) लाई सरल र प्रभावकारी बनाउन उक्त सम्झौता भएको हो ।
बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर आज(चैत ९ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बुद्धनगरमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सोमबार (चैत ९ गते) कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो । त्यस्तै, कम्पनीको बजार पुँजीकरण ११ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्तीबाट तिर्न सकिने
काठमाडाैं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको उक्त कम्पनीले खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरी बीमालेख जारी गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण बिमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।