समता र घरेलु लघुवित्तको बैंकिङ्ग कारोबार चैत ३१ गते बन्द, एकीकृत कारोबार कहिले ?

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको मर्जरपछि आगामी बैशाख २ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै मर्जरपछि बनेको संस्थाको साे दिनदेखि एकीकृत कारोबार शुरु हुने भएको हो । दुबै वित्तीय संस्था एक आपसमा मर्ज हुने निर्णयलाई नेपाल राष्ट्र बैंकले गत चैत १० गते अन्तिम स्वीकृति दिएको थियो । यससँगै संस्थाको एकीकृत कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ । मर्जपछि बनेको संस्थाको रजिष्टर्ड कार्याल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिक वार्ड नं.८ मा रहने संस्थाले जनाएको छ । त्यस्तै, २०७७ बैशाख २ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकोले डाटा माइग्रेसनको लागि चैत ३१ गतेका दिन दुबै वित्तीय संस्थाको बैंकिङ्ग कारोबार बन्द हुने संस्थाले जानकारी गराएकाे छ ।

डिप्रोक्स लघुवित्तका अध्यक्ष खनालद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष दीपक खनालले मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष खनालले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। गत चैत २० गते सम्पन्न डिप्रोक्स लघुवित्त वित्तीय संस्थाकाे १९ औँ वार्षिक साधारणसभाबाट खनाल सञ्चालक भएका थिए । उनी लुम्बिनी विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा बनेकाे हुन् ।  त्यसपछि बसेको सञ्चालक समितिको बैठकले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। खनाल लुम्बिनी बिकास बैंकमा कार्यरत छन् ।

साढे १६ लाख बढीले भरे रु रु जलविद्युतको आईपीओ

काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज(चैत २४ गते) अन्तिम दिनसम्ममा १६ लाख ६९ हजार ५६६ जनाले कम्पनीको सेयर भरेका हुन् । क्यापिटलका अनुसार चैत २४ गते मंगलबार साँझसम्ममा १६ लाख ६९ हजार ५६६ जना आवेदकले संस्थाको २ करोड ३३ लाख ७७ हजार २२० कित्ता सेयर माग गरेका छन् । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६१.६५ गुणा बढी आवेदन हो । यद्यपि यो तथ्यांक बढ्न सक्ने क्यापिटलले जनाएको छ । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेकाे हाे । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।