महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडाैं । महालक्ष्मी विकास बैंकले विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापत हकवालालाई हस्तान्तरण गरेकाे छ । बैंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँगकाे सहकार्यमा उक्त बीमा कार्यक्रम संचालन गरिरहेकाे छ । बैंककाे पालुङस्थित शाखा कार्यालयले म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम छ लाख सात हजार पाँच सय रुपैयाँ हकवालालाई प्रदान गरेकाे हाे । थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्ध जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरेका थिए ।  

‘बोर्डका पछिल्ला गृहकार्यले नै पुँजीबजारमा नयाँ नयाँ कीर्तिमान कायम भएको हो’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डका पछिल्ला निर्णय र कार्यले पुँजीबजारमा नयाँनयाँ कीर्तिमान कायम हुँदै गएको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएशन अफ नेपालले आयोजना गरेको आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालिममा उनले सो बताएका हुन् । साथै, उनले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्ने उनले बताए । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए । एशोसिएशनले समाचार सम्प्रेषण गर्ने पत्रकारको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।

नाईहरुको व्यवसायिक विकासमा अब प्राइम बैंंकले साथ दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले कपाल काट्ने पुर्ख्याैली पेशा रहेका नेपालका नाईहरुको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रिय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका हुन् । हातमा सिप भएका व्यक्तिहरुलाई स्वावलम्बी बनाई उनीहरुको पेशालाई व्यवसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पुर्ण बैंकिङ्ग सेवा सुविधा एकै ढोकाबाट उपलब्ध गराउने लक्ष्य बैंकले राखेको जानकारी दिएकाे छ । साथै, बैंकले नाईका सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना बीमा लगायतका सुविधाहरु प्रदान गर्नेछ । समझदारी अनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ । व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्ष भित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना वीमा र २५ हजार बराबरको अस्पताल भर्ना वीमा उपलब्ध गराउनेछ । साथै डिजिटल बैंकिङ्गतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्युआर कोडको व्यवस्था गर्नेछ र यस मार्फत कारोबार गरे बापत पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोवार ५ थप गरिदिनेछ । यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रति ऋणी ५० हजारदेखि २ लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ । साथै, आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ । यस सम्झाैताकाे दीर्घकालीन लक्ष्य अन्तर्गत चालु आ.व. २०७७०७८ को अन्तिम चौमासिकभित्र व्यक्तिगत, व्यवसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा २००० सदस्यको खाता खोल्ने, देशभरका ५००० सदस्यहरुमा बैंकिङ तथा वीमा साक्षरता पु¥याउने र कम्तीमा ३०० जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनःउत्थान सहुलियत कर्जा प्रवाह गर्ने बैंककाे लक्ष्य रहेको छ ।