सर्वोत्तम सिमेन्ट प्रकरणः ढुंगाना र साउदलाई के गर्दैछ अर्थमन्त्रालय ?

काठमाडौं । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयरमा भित्री कारोबार गरेको आरोप लागेका धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा अर्थमन्त्रालय अन्योलमा देखिएको छ । सर्वाेत्तम सिमेन्टको सेयर आफ्नी छोरीको नाममा आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना र श्रीमतीको नाममा सेयर किनेको आरोप लागेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले अघिल्लो साता ३ दिनको म्याद दिएर स्पष्टिकरण सोधेको थियो । आरोपी ढुंगाना र साउदले स्पष्टिकरण मन्त्रालयमा पठाइसकेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । दुबै जनाले नेप्सेमा सुचिकरण नभएको कम्पनीको सेयर खरिद गर्दा भित्री कारोबार गरेको ठहर नहुने दाबी गरेका छन् । यस्तै, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले भने विवाह गरेर गएकी छोरीले सेयर खरिद गरेको विषयलाई एकाघर परिवारका सदस्यको सेयर किनेको अर्थ नलाग्ने थप दलिल पनि पेश गरेका छन् । ढुंगाना र साउदले पेश गरेको स्पष्टिकरण अध्ययन भइरहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । ‘दुबै जना (ढुंगाना र साउद) ले पेश गरेको स्पष्टिकरण प्राप्त भएको छ, उहाँहरुको स्पष्टिकरणको अध्ययन भइरहेको छ, अध्ययनपछि मात्रै के हुन्छ भन्न सक्ने अवस्था छ,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले विकासन्युजसँग भने । ती अधिकारीले ढुंगाना र साउदमाथि कारबाही हुन सक्ने संकेत गरे । ‘कानुनभन्दा माथि कोही पनि हुँदैन, सबैले कानुन विधि र प्रक्रिया अनुसार काम गर्ने हो, उहाँहरुले आचरण विपरित वा कानुन उल्लघंन गरेको देखिए कारबाहीको भागिदार हुनै पर्छ,’ ती अधिकारीले थपे । तर, अहिलेसम्म अर्थमन्त्रालयले के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । यस्तै, पदको दुरुपयोग गरी आफन्तको नाममा सेयर खरिद गरेको देखिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अहिलेसम्म कुनै कारबाही गरेको छैन ।

राष्ट्रिय वाणिज्य र नेपाल बैंकले किने हिमालयन रिको एक अर्ब रुपैयाँ बराबरको सेयर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक हिमालयन रि इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँको सेयर किनेका छन् । दुबै बैंकले ५०/५० करोड रुपैयाँ बराबरको सेयर किनेका हुन् । ग्लोबल आईएमई, प्रभु, एनआईसी एशिया लगायत बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको सेयरमा ठूलो लगानी गरेपछि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि नयाँ पुनर्बीमा कम्पनीको सेयरमा ठूलो लगानी गरेका हुन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा ११० जना व्यक्ति तथा कम्पनीले ७ अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यसमा अधिकांश व्यक्तिगत तथा प्रालि प्रर्वद्धक छन् भने ३ वटा पब्लिक लिमिटेड रहेका छन् । दुई बैंकका साथै हिमालयन इन्फ्राष्ट्रक्चर फण्डले पनि १ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयन रिलाई बीमा समितिले पुर्नबीमा व्यवसाय गर्न लाइसेन्स दिएको छ तर कम्पनीले व्यवसायिक कारोबार भने शुरु गरिसकेको छैन ।

दुई दिनमै १५ लाखले भरे सानिमा लाइफको आईपीओ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोश्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार साउन २१ गते अपरान्ह ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जनाले २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ । इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ । सम्बन्धित समाचार आईपीओ ल्याउन लागेको सानिमा लाइफले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने