मेरो माइक्रोफाइनान्स लघुवित्तकाे शाखा कार्यालय सितापाइलमा पनि
काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सितापाइलामा मंगलबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरले एक समारोहबीच सितापाइला शाखा कार्यालय उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन समारोहलाई सम्बाेधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले शाखा कार्यालय सञ्चालनमा आएकोमा संस्थालाई बधाई दिए । साथै सबल अनि विश्वसनीय संस्थाको रुपमा स्थापित गराउन आफू निरन्तर लागी पर्ने समेत बताए । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सवै वर्ग र क्षेत्रलाई लघुवित्त कार्यक्रममा समावेश गरि स्थानीय सीप र श्रोतको परिचालनमा नागरिकहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताए । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसंगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको छ । संस्थाले आफ्ना ग्राहकहरुलाई आधुनिक एस.एम.एस.मोबाइल बैंकिङ्ग सुविधा समेत उपलब्ध गराइरहेको छ ।
३१४० बिन्दुसम्म पुगेको नेप्सेमा रेकर्ड ब्रेक, १० कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । मंगलबार जस्तै बुधबारको बजारले पनि नयाँ रेकर्ड राख्न सफल भएको छ । बजारमा नेप्से परिसूचक उच्चतम ३१४०.४० बिन्दुसम्म पुगेर ३१२३.१५ बिन्दुमा फर्किएको छ । जुन हालसम्मकै दैनिक क्लोजिङ्को उच्च बिन्दु हो । मंगलबारको तुलनामा भने बुधबारको बजार १२.०५ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबारको बजारमा १५ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ अर्ब ६ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको थियो । कारोबारमा आएका २२५ कम्पनीमध्ये अपि पावरको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ७९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य भने प्रतिकित्ता ५६४.३० रुपैयाँ रहेको छ । त्यस्तै, नयाँ उचाईमा पुगेको बजारमा १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अधिकांश कम्पनी हाइड्रो समूहका रहेका छन् । बुधबारको बजारमा ७ समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूह १२५ अंकले घटेको छ भने हाइड्रोमा उछाल देखिएको छ । हाइड्रो समूह एकैदिन १९४.०७ बिन्दुले बढेको छ ।
प्रिमियममा आईपीओ जारी गर्न रिलायबल लाइफले तोक्यो मूल्य, बीमा क्षेत्रमै पहिलो
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग्दै उक्त प्रकृया अघि बढाएको हो । इन्स्योरेन्सले कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न बोर्डसँगै स्वीकृति मागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । र, नेपाली बीमा बजारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने नै कम्पनी पहिलो हुने छ । उक्त आईपीओ जारी गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।