धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित, छानविन गर्न न्यायिक समिति
काठमाडौं । सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरीदमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैंठकले उनलाई निलम्बन गर्दै न्यायिक छानविन गर्न ३ सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् । न्यायिक समितिले छानवीन गर्दा बोर्डको अध्यक्ष ढुंगाना हुँदा छानविन प्रक्रिया प्रभावित हुनसक्छ भन्दै निलम्बन गरिएको जनाईएको छ । ढुंगानाकी छोरीले सेयर खरिद गरेका कारण उनी विवादमा मुछिएका छन् । समितिले ढुंगानाको संलग्नताबारे छानबिन गर्नेछ । समितिले छानबिन गरी प्रतिवेदन पेश गर्नेछ । यसअघि भदौ पहिलो साता बसेको अर्थसमितिको बैठकले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको ठहर गरेको भन्दै कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । सर्वाेत्तम सिमेन्टको सेयर खरिदमा मुछियका नेप्सेका सीईओ चन्द्रसिंह साउँदले यसअघि नै राजीनामा दिइसकेका थिए भने बोर्ड अध्यक्ष ढुगांनाले राजीनामा नदिने भन्दै सरकारले हटाए अदालत जाने जनाएका थिए ।
सानिमा लाइफको आईपीओ भोलिदेखि किनबेच गर्न पाइने, कतिमा हुन्छ पहिलो कारोबार ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड भएको कम्पनीको सेयर भदौ १६ गते नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर भदौ १७ गते बिहीबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एसएलआई दिइएको छ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०३.१७ रुपैयाँ र अधिकतम ३०९.५१ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको पुतलीसडकस्थित रहेको सानिमा क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
सूर्योदय र वोमी लघुवित्त मर्ज हुने, नेप्सेले रोक्यो सेयर कारोबार
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच भदौ १५ गते साँझ ५ बजे सम्झौता भएको हो । यससँगै दुई संस्थाको सेयर कारोबार भदौ १६ गतेदेखि रोक्का भएको छ । उक्त मर्जरमा जाने प्रयोजनको लागि नेपाल स्टक एक्स्चेञ्जले उनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । अब उक्त प्रकृया सम्पन्न भई दुई संस्थाबीच एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा सेयर कारोबार खुल्ने छ । सूयोदय लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । ‘घ’ वर्घको राष्ट्रियस्तरको कार्य क्षेत्र भएको यस संस्थाले २०७० साल असार ६ गते नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो । त्यस्तै, ‘घ’ वर्घको राष्ट्रियस्तरको कार्य क्षेत्र भएको वोमी लघुवित्तले २०६८ फागुन १९ गते नेपाल राष्ट्र बैंकको इजाजत पाएको थियो । जसको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको साँगामा रहेको थियो ।