बैंकहरुको कर्जाः सेयर धितोमा ११० प्रतिशतको वृद्धि, कुन क्षेत्रमा कति ऋण ?

<p>काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिकाे कर्जा उल्लेख्य रुपमा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७७/७८ मा मार्जिन प्रकृतिको कर्जा ११०.८ प्रतिशतले बढाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले गत आवमा मार्जिन प्रकृति अर्थात सेयर खरिद गर्नका लागि कुल ५५ अर्ब [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिकाे कर्जा उल्लेख्य रुपमा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७७/७८ मा मार्जिन प्रकृतिको कर्जा ११०.८ प्रतिशतले बढाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले गत आवमा मार्जिन प्रकृति अर्थात सेयर खरिद गर्नका लागि कुल ५५ अर्ब ८७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षमा यस्तो किसिमको कर्जा ११ प्रतिशतले मात्रै बढेको थियो भने कुल ४ अर्ब ९९ करोड ३० लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो । गत वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतलेघटेको छ ।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

कुन क्षेत्रमा कति ऋण ?

कृषिमा ४३.६ प्रतिशत बढ्यो
बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा कृषि क्षेत्रतर्फको कर्जामा ४३.६ प्रतिशतको वृद्धि गरेका छन् । गत आवमा कृषि क्षेत्रमा ९८ अर्ब ४२ करोड ८० लाख कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष यो कर्जा १६.७ प्रतिशतले बढेको थियो भने कुल ३२ अर्ब ३१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

औद्योगिक उत्पादन
औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जामा २०.६ वृद्धि देखिएको छ । गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले आद्योगिक उत्पादन क्षेत्रमा कुल १ खर्ब ९ अर्ब ८७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष आद्योगिक क्षेत्रमा कुल ५५ अर्ब १० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

निर्माण क्षेत्र

गत आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुले निर्माण क्षेत्र तर्फको कर्जामा १८.४ प्रतिशतको वृद्धि गरेका छन् । सो अवधिमा बैंकहरुले निर्माण क्षेत्रमा कुल ६३ अर्ब ९० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष यस्तो कर्जा १२.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष निर्माण क्षेत्रमा कुल ३८ अर्ब २० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र

यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जामा २०.४ वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा सो क्षेत्रमा कुल ४२ अर्ब ७० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा अघिल्लो वर्ष १८.६ प्रतिशतले बढेको थियो भने कुल ३२ अर्ब ९३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

खुद्रा व्यापार क्षेत्र

खुद्रा व्यापार क्षेत्रतर्फको कर्जामा पनि २६.२ प्रतिशतको वृद्धि देखिएको छ । यो क्षेत्रमा कुल १ खर्ब ७३ अर्ब ९१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा अघिल्लो वर्ष ७.७ प्रतिशतले बढेको थियो भने कुल ४७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

सेवा उद्योग क्षेत्रतर्फको कर्जा

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सेवा उद्योग क्षेत्रतर्फको कर्जामा २०.९ प्रतिशतको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा कुल ६२ अर्ब ५८ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा अघिल्लो वर्ष २२.१ प्रतिशतले बढेको थियो भने कुल ५४ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

हायर पर्चेज कर्जा घट्यो

गत आर्थिक वर्षमा हायर पर्चेज कर्जा भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षमा हायर पर्चेज कर्जा कुल १३ अर्ब ३९ करोड १० लाख रुपैयाँ मात्रै प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो कर्जामा ३.८ प्रतिशतको गिरावट आएको थियो भने कुल ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

Share News