कोरोना बीमा भुक्तानीमा अर्थमन्त्रीको चासो, आवश्यक प्रक्रिया अघि बढाउन समितिलाई दिए निर्देशन

काठमाडौं । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । सो सम्बन्धमा चासो देखाउँदै मन्त्री शर्माले बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई छलफलमा बोलाएका हुन् । शर्माले कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् । साथै, उनले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् । हाल विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रकृया अघि बढाएको छ । सो प्रयोजनको लागि फाइनान्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको छ । जसको ७० प्रतिशत अर्थात एक बराबर ०.७० कित्ता हकप्रद सेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी ८३ करोड ८७ लाख रुपैयाँ पुग्ने छ ।

नियोटेरिक नेपालमा ग्याजेट किन्दा आइएमई पे बाट भुक्तानी गरे छुटका साथै उपहार

काठमाडौं । नियोटेरिक नेपालको ग्याजेट किनेपछि ‘आइएमई पे’ बाट भुक्तानी गरे आर्कषक छुट, उपहार र फ्रि डेलिभरी पाइने भएको छ । बुधबार दुई कम्पनीबीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेको छन् । यो योजना ११ आजदेखि सुरु भएर २० कार्तिक सम्म लागु हुनेछ । एक महिनाको यस स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले आइआइइएफ जेड एयर एचएस१४ ल्यापटप जित्न सकिनेछ भने कुनैपनि लोजिटेक, रापो, रिको, आइडियाकार्ड, सेनहिजर खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको अफर रहेको छ । साथै वान प्लस फोन खरिद गर्दा हाइफ्युचर इयरबड्स टाइडीबड्स सित्तैमा पाउन सकिनेछ ।