मेटलाइफले बीमितलाई अधिकतम ८० रुपैयाँसम्म बोनस दिने, कुनमा कति ?

काठमाडौं । अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो । उक्त बोनसदर १७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्मको बीमाङ्कीय मूल्यांकन अनुसार निर्धारण गरिएको कम्पनीले जनाएको छ । यससँगै नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमामा प्रतिहजार ६० देखि ८० रुपैयाँसम्म बोनसदर दिने भएको छ । यो योजनाको लागि १ देखि १५ वर्षसम्म अवधिको प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सो भन्दा माथिको बीमालेखमा प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, शिक्षा संरक्षण बीमाका लागि १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सोभन्दा माथिको बीमालेखका लागि ८० रुपैयाँ नै तोकिएको कम्पनीले जानकारी गराएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक नामको बीमालेखमा पनि बीमितले न्यूनतम ४५ देखि अधिकतम ६५ रुपैयाँसम्म पाउने छन् । उक्त बीमालेखमा १ देखि १५ वर्ष अवधिको ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५५ रुपैयाँ र २१ वा सो भन्दा माथिको लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । साथै, यी बोनसदर मृत्यु दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालू बीमालेखहरुमा लागू हुनेछ । यो बोनसदर बीमा समितिबाट अर्को व्यवस्था स्वीकृति नभएसम्म लागू हुने कम्पनीले जनाएको छ ।

सीवाईसी नेपाल लघुवित्तले अघि बढायो आईपीओ जारी गर्ने प्रक्रिया, माग्यो बोर्डको स्वीकृति

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फाइल पेश गर्दै करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । संस्थाले कूल ३ लाख ९५ हजार ३३६ कित्ता अर्थात ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न गत असोज ११ गते मात्रै बोर्डसँग स्वीकृति मागेको छ ।बोर्डको स्वीकृति पाएपश्चात संस्थाले सो मात्राको सेयर सर्वसाधारणमा जारी गर्ने छ । संस्थाले आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता भइसकेको छ । बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र पाएको छ । संस्थाले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन ९प्राप्ति० गरिसकेको छ ।

२१ लाख बढीले भरे बुद्धभूमि नेपालको आईपीओ

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले जारी गरेको आईपीओमा २१ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (असोज १४ गते) अन्तिम दिनसम्ममा २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । अन्तिम दिन साँझ ५ बजेसम्ममा उनीहरुले २ अर्ब ६५ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको अर्थात २ करोड ६५ लाख ३१ हजार ४० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन संस्थाले माग गरेको भन्दा ३३.१६ गुणा बढी हो । कम्पनीले गत असोज ११ गतेबाट सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशतअर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेसँगै कम्पनीको आईपीओ निष्काशन आजबाट बन्द भएको छ ।