मध्य भोटेकोशीको आईपीओ बाँडफाँड भोलि, तोकियो समय र स्थान
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओ भोलि (असोज ११ गते) बाँडफाँड हुँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र तथा सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको आईपीओको बाँडफाँड भोलि सोमबार बिहान ९ बजे काठमाडौंको नक्सालस्थित रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा हुने छ । कम्पनीले आयोजना प्रभावित तथा सिल्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई कूल ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमध्ये आयोजना प्रभावितलाई १८ लाख र स्थानीयलाई ४२ लाख कित्ता सेयर छुट्टाइएको थियो । निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको थियो ।
मानुषी लघुवित्तको आईपीओ एक महिनापछि सूचीकृत, पहिलो कारोबार ४०० रुपैयाँसम्ममा हुने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको एक महिनापछि सूचीकृत भएको छ । गत भदौ ७ गते बाँडफाँड भएको कम्पनीको आईपीओ असोज १० गते नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । संस्थाको कूल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर असोज ११ गते सोमबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । संस्थाको पहिलो सेयर कारोबारको लागि नेप्सेले न्यूनतम १३२.६९ देखि अधिकतम ३९८.०७ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यससँगै उक्त रेञ्ज भित्र रहेर कम्पनीको पहिलो सेयर कारोबार हुने छ । नेप्सेले संस्थाको स्टक सिम्बोल ‘एमएलबीएस’ तोकेको छ । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ करोड ९३ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो ।
प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वष २०७६/७७ को सञ्चित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ पुग्ने छ ।