यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स(नेपाल) को तर्फबाट इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मोलरी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो । यससँगै नवनियुक्त सञ्चालक मोलरीले असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी ४ वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि उक्त पदमा भी के कुकरेजा रहेका थिए । उनको पदावधि सकिएसँगै भारतीय जीवन बीमा निगमले मोलरीलाई मनोनित गरेको हो ।

बोनसपछि साधना लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४१५.२० रुपैयाँ कायम भएको छ । यससँगै बुधबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४१५.२० रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७६९ रुपैयाँमा भएको थियो ।