२ लाख बढीले पाए न्यादी हाइड्रोको सेयर

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए । कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत रु छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ । बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट ९मेरो शेयर०मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

महिला लघुवित्तको लाभांश संशोधन, बढ्यो बोनस

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गत आर्थिक वर्षको प्रस्तावित लाभांश संशोधन गरेको हो । कार्त्तिक ५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले कूल ५० प्रतिशत लाभांश नै हुने गरी बोनस र नगदमा हेरफेर गर्ने निर्णय गरेको हो । यससँगै संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हालसम्म कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ४७.५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ४ लाख ७५ हजार रुपैयाँ नाघ्ने छ । यसअघि संस्थाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कूल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

ट्वीटर र फेसबुकबाट हटेका ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् । अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफै भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप लगाउदै ती सामाजिक सञ्जालहरुले उनको एकाउन्ट हटाइदिएका हुन् । विषेशगरेर ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए । उनीहरुले हटाएपछि पूर्व राष्ट्रपति ट्रम्पले आफ्ना अपडेटहरु सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाईन सञ्चालन गरेका थिए । तर त्यो पनि केही समयपछि बन्द भएको छ । आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लाग्नु भएको जनाइएको छ । उहाँले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम “ट्रुथ सोसियल” राख्ने पनि तय भइसकेको उनले सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफै रहेका छन् । ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधि सम्वन्धी ठूला कम्पनीहरुको अत्याचारविरुद्ध उभिने बताएका छन् । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरुले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ । ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ । भिडिओ सेवामा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टीएमटीजीले जानकारी दिएको छ । सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ । रासस/एएफपी