नेपाल लघुवित्त बैंङ्कर्सको अध्यक्षमा प्रकाशराज शर्मा चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल लघुवित्त बैंङ्कर्स संघ (एनएमबीए) को अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन् । कार्त्तिक ५ गते सम्पन्न संस्थाको १५औं वार्षिक साधारणसभाले शर्मालाई संघको अध्यक्षमा निर्विरोध चयन गरेको हो । अध्यक्ष शर्मा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उक्त सभाले अध्यक्ष शर्मासहित ११ जनाको नयाँ कार्यसमितिलाई निर्विरोध चयन गरेको हो । नव निर्वाचित कार्यसमितिले आगामी दुई वर्षसम्म संस्थामा रहेर आफ्नो कार्यभार सम्हाल्ने छन् । यससँगै उपाध्यक्षमा मिन बहादुर बोहरा, महासचिवमा राम बहादुर यादब र कोषाध्यक्षमा प्रेम बहादुर पाठक चयन भएका छन् । उपाध्यक्ष बोहरा धौलागिरी लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् भने महासचिव यादब नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् । त्यस्तै, कोषाध्यक्ष पाठक उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् । सभाले सबैको लघुवित्त वित्तीय संस्थाका सीईओ केशवकुमार पौडेललाई संघको सचिवमा चयन गरेको छ । त्यसैगरी सदस्यमा ६ जना चयन भएका छन् । जसमध्ये महुली लघुवित्तका गंगाधर पाण्डे, इन्फिनिटी लघुवित्तका प्रविणकुमार लामा, आशा लघुवित्तका बद्रीप्रसाद दुलाल, सिभिल लघुवित्तका विनोद आचार्य र जालपा सामुदायिक लघुवित्तका बिमला योगी हुन् । संघको उक्त सभा काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको थियो । प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले उद्घाटन गरेका उक्त सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोज काजी तुलाधर, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेल तथा एनएमबीएका पूर्व-अध्यक्षहरु रामचन्द्र जोशी र धर्मराज पाण्डेले शुभकामना मन्तव्य दिएका थिए । राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले लघुवित्त संस्थाहरुको २०७८ असार मसान्तको कूल पुँजी कोष ३९ अर्ब, सदस्यहरुको निक्षेप १३० अर्ब, अन्य संस्थाहरुबाट सापटी २०७ अर्बका साथै लगानीमा रहिरहेको कर्जा ३६६ अर्ब रहेको र गत आर्थिक वर्षमा धेरै संस्थाहरुले राम्रै व्यवसाय गरेको देखिएको बताए । साथै, उनले लघुवित्त क्षेत्रबाट आएका मागहरु सम्बन्धमा संघसंग छलफल गर्ने आश्वासन पनि दिए । संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा सञ्चालन भएको सभाको वन्द सत्रले आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन र २०७८/७९ को वार्षिक कार्यक्रम तथा बजेट पारित गरेका थियो । नेपाल लघुवित्त बैकर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ र विद्यमान ७० मध्ये ५० वटा लघुवित्त संस्थाहरु यसका सदस्य छन् ।

बीमा समितिको निर्देशिका र विद्युत किनबेच प्रतिवन्ध गर्ने निर्णयमा इप्पानको आपत्ति, दियो ६ बुँदे सुझाव

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्क सम्बन्धि निर्देशिका प्रति ध्यानाकर्षण गरेको छ । संस्थाले कार्त्तिक ७ गते एक कार्यक्रमको आयोजना गर्दै विद्युत खरिद बिक्री सम्झौता माथि प्रतिवन्ध गर्ने निर्णय तथा बीमा समितिको उक्त निर्देशिकामा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जलविद्युत क्षेत्रमा लगानी गरी काम गरिरहेको संस्था तथा व्यक्तिहरुको मनोभावनामा ह्रास आउने गरी गत आश्विन ७ गतेको नेपाल सरकार मुख्य सचिव स्तरीय निर्णय यथाशक्य चाँडो पुनरावलोकन गर्न समेत माग गरेको छ । जलविद्युत विकास गरी यसको उचित बजारीकरण गरि स्वदेश तथा विदेशमा विक्री वितरण गरि विदेशी मुद्रा आर्जन गर्नको लागि आएको सुनौलो अवसरलाई बाधा नपुर्याउन संस्थाले माग गरेको छ । यसको लागि संस्थाले विभिन्न ६ बुँदे सुझावहरु पेश गरेको छ । १. विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतीय चुलो वितरण गर्ने, २. विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनको प्रयोग बृद्धि गर्ने , ३. उद्योगहरुलाई सस्तोमा विद्युत उपलब्ध गराउने, ४. विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गर्ने तथा खुल्ला विद्युत व्यापार नीति कार्यन्वयन गर्ने, ५. अन्तरदेशीय विद्युत व्यापार नीति नियम निर्माण गर्ने तथा गुणस्तरिय विद्युत प्रशारणलाइनहरु विस्तार गरी छिमेकी मुलुकहरुमा विद्युत विक्री वितरण गर्ने, ६. ट्रान्समिसनको ह्विलिङ्ग शुल्क सम्बन्धि नीति नियम निर्माण गर्ने । साथै, विद्युत व्यापारको अन्तराष्ट्रिय बजार यथाशक्य चाँडो खोजी हुन र जलविद्युत उत्पादकहरुको लगानीको सुनिश्चितता गराउन पनि संस्थाको आग्रह रहेको छ । यस्ता निर्णयहरुले देशको विकास र समृद्धिमा दिर्घकालीन नकारात्मक असर पर्ने र पुनः यो अवस्था श्रृजना गर्न वर्षों लाग्ने हुँदा विद्युत विकास र विस्तारमा सरकार र सम्बन्धित मन्त्रालयहरुले सरोकारवालाहरुसँग यथाशक्य छलफल र अन्तरक्रिया गरि निकास निकाल्नु हुन इप्पानले अनुरोध गरेको छ । साथै जलविद्युत विकास, विस्तार र जलविद्युतमा भएका लगानीको संरक्षण तथा सुरक्षाको खातिर यस्ता अलोकप्रिय निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै इप्पानले समयमै यस्ता निर्णयहरुको पुनरावलोकन हुन नसकेमा इप्पान चरणबद्ध आन्दोलन गर्न बाध्य समेत हुन संस्थाको अध्यक्ष कृष्णप्रसाद आचार्यले बताएका छन् ।

नेपाल इन्स्योरेन्सको वरिष्ठ डिसीईओमा महर्जन, कामुको जिम्मेवारी पनि सम्हाल्ने

काठमाडौं । नेपाल इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । कार्त्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । नियुक्तिसँगै नवनियुक्त वरिष्ठ डीसीईओ महर्जनले कार्त्तिक ७ गतेदेखि नै कार्यभार सम्हाल्ने छन् । उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको उक्त पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गर्ने छन् । यससँगै उनलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समेत तोकिएको इन्स्योरेन्सका कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जनाएका छन् ।