सेयरधनीलाई स्पष्ट रुपमा नगद लाभांश पठाउन बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा गराउन आग्रह गरेको छ । बोर्डले कार्त्तिक ८ गते एक विज्ञप्ति मार्फत नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत संगठित संस्थाहरुलाई सो आग्रह गरेको हो । सूचीकृत कम्पनीहरुले आफै सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा पर्याप्त जानकारी नआएको गुनासो आएसँगै बोर्डले उक्त निर्देशन दिएको हो । ‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफै जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रार मार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेण्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल)को नाम मात्र आउने गरेकोले कुन कम्पनीको लाभांस हो, कुन आर्थिक वर्षको कुन दरको लाभांस हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको’ बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यससँगै कम्पनीहरुले आफै वा आफ्नो सेयर रजिष्ट्रार मार्फत सेयरधनीको बैंक खातामा नगद लाभांस भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, दर आदि खुल्ने गरी पठाउन बोर्डले आग्रह गरेको छ । साथै, यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउसले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रुपमा सूचित गर्नुपर्ने विषयहरु स्पष्ट रुपमा खुलाई पठाउने व्यवस्था गर्न बोर्डले सम्बन्धित सूचीकृत कम्पनीहरुलाई अनुरोध गरेको छ ।
महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ(आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो । कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको नेसनल बिजनेस मिट २०७८ राष्ट्रिय सम्मेलन सम्पन्न गरिएकाे थियाे । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेकाे उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरेका थिए । त्यसैगरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समिक्षा गरेका थिए भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गरेका थिए । सम्मेलनको अन्तमा २०७८/०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेका छ । कम्पनीले बीमा जनचेतना अभिवृद्धिको लागि यो आ.व. भित्र सबै शाखा उपशाखाले आ-आफ्नो क्षेत्रमा युवा सँग महालक्ष्मी लाईफू कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेकाे छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले ‘युवा सँग महालक्ष्मी लाईफू कार्यक्रम’ विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए ।
बैंक अफ काठमाण्डुका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सकाे सेवा प्रयाेग गर्न पाउने
काठमाडाैं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाण्डुसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स्ले आ–आफ्नाे संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सम्झौतासँगैं अब बैंक अफ काठमाण्डाैंसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सकाे फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । नेपाल पेमेन्ट सोलुसन भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ३० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १० भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।