काठमाडौं। नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि एनसीएचएललाई स्वीकृति प्रदान गरिएको हो । हाल यो स्वीचमा आवद्ध हुन बैंक/वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलगायतसँग समन्वय गरी छिट्टै प्रणाली सञ्चालनमा ल्याउने एनसीएचएलले जनाएको छ ।
विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर आबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गरिएको एनसीएचएलले जनाएको छ । यसका लागि अघिल्लो आर्थिक वर्षमा नेपाल क्लियरिङ्ग हाउसलाई स्विकृति प्रदान गरिएको थियाे ।
नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ्ग हाउसले दुई चरणमा कार्यान्वयन गर्न कार्य हुँदै आएको छ । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआरलगायतका भुक्तानीहरुको लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ । दोश्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको एनसीएचएलले जनाएको छ ।
विज्ञप्तिकाे अनुसार नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आएपछि राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने छ । यस अन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्युआर लागू हुने छ भने नेपालभित्र रहेका क्युआरबीच समेत अन्तरआवद्धता कायम गर्न सकिने छ ।
सेवावापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीचमार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ ।