वोमी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्त्तिक २५ गते दिउँसो ३ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । साथै, संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त लघुवित्ति वित्तीय संस्था एक आपसमा मर्ज भई गत आवमै एकीकृत कारोबार गरेकाले बोनस सेयरमा लाग्ने कर छुट भएको संस्थाले जानकारी गराएको छ । हाल संस्थाको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ ।
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य ६७५ रुपैयाँ
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतको ११ हजार ७५३ कित्ता बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कार्तिक २५ गतेदेखि मंसिर ०१ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आइपुग्ने गरी सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् ।
धितोपत्र बोर्डको अध्यक्ष बन्न ११ जनाले दिए आवेदन
काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न हालसम्म ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलियासहित ११ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा बोर्डका कार्यकारी निर्देशन निरग गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले पनि बोर्डको अध्यक्षको लागि आवेदन पेश गरेका छन् । त्यसैगरी, डा. केशव प्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाई र कृष्ण आचार्य पनि बोर्डको अध्यक्ष बन्नका लागि दावेदार पात्र हुन् । मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिले आवेदन दिएका मध्ये कम्तिमा ३ जना आवेदकको नाम सिफारिस गर्ने छ । र, मन्त्रिपरिष्दको बैठकले छानिएका आवेदकमध्ये एक जनालाई नियुक्त गर्ने प्रकृया रहेको छ ।