बुद्धभुमी हाइड्रोको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल
काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यससँगै, अब बुद्धभुमी हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु काठमाडौंको नारायणचौरस्थित सिद्धार्थ क्यापिटल मार्फत हुने छ ।
एभरेष्ट बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार मात्रै एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता ५८३ रुपैयाँ भएको बैंकको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०३.८६ रुपैयाँ कायम भएको छ । त्यसैगरी सबैको लघुवित्तको पनि ३१.०५ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १५०४.०१ रुपैयाँ कायम भएको छ । त्यस्तै, अबको बजारमा यी तीन वटै कम्पनीको पहिला कारोबार समायोजन पश्चात कायम भएको मूल्यको आधारमा हुने छ ।
स्वावलम्बन विकास केन्द्रको ३० औं साधारणसभा सम्पन्न: शुन्य गरिबी, बेरोजगारी र कार्बन उत्सर्जनको कार्यनीति पारित
काठमाडौं । स्वावलम्बन विकास केन्द्रको ३० औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले लघुवित्त कार्यक्रम मार्फत शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्बन उत्सर्जनको लागि सदस्य संस्था तथा सरोकारवालाहरु संग सहकार्य गरेर अघि बढ्ने कार्यनीति पारित गरेको छ । यसको साथै साधारणसभाले विगतका राम्रा कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा सामाजिक व्यवसाय प्रवर्धन तथा तीन जीरो क्लब गठनको अवधारणा समेत अघि बढाउने निर्णय गरेको छ । सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक वर्ष २०७७/७८को आयव्यय विवरण, कार्य प्रगति विवरण तथा २०७८/७९को प्रस्तावित कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुतिका क्रममा अध्यक्ष श्रेष्ठले आगामी दिनमा गरीब, विपन्न तथा पिछडिएका समुदाय र महिलाहरुको जिवनस्तर उकास्न लघुवित्त संस्था तथा लघुवित्तकर्मीहरु मिलेर सामाजिक व्यवसाय प्रवद्र्धनमा लाग्नु पर्ने, गरीब र विपन्न वर्ग लक्षित स्वास्थ्य सेवा शुरु गर्नु पर्ने र बेरोजगार युवावर्गलाई दक्ष तथा सिपालु बनाएर रोजगारीको लागि सक्षम बनाउने एउटा दक्ष जनशक्ति विकास केन्द्र स्थापना गर्ने बेला आएको धारणा राखेका थिए । केन्द्रले ३० वर्ष पुरा गरेको अवसरमा तयार पारेको विशेषांङ्कको विमोचन गरेको थियो । सभाले केन्द्रको लेखा परीक्षण सहितको, नीति तथा कार्यक्रम प्रतिवेदन ३०औं साधारणसभाबाट सर्वसम्मत रुपमा पारित गरेको छ ।