एक घण्टामै ७० अंकले घट्यो बजार, परिसूचक साढे २४०० मुनि
काठमाडौं । सोमबारको सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सो दिन नियमित कारोबार खुलेको एक घण्टामै नेप्से परिसूचक ७०.३६ अंकले घटेर २४४३.५१ बिन्दुमा झरेको छ । जुन प्रतिशतको आधारमा २.८० प्रतिशतले घटी हो । एक घण्टाको अवधिमा बजारमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा २०९ वटा स्क्रीप्टहरुको २२ लाख २९ हजार ६६० हजार कित्ता सेयर किनबेच भइसकेको छ । नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । एक घण्टामा कम्पनीको ४ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । त्यस्तै, बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । केही दिनयता सेयर बजार निरन्तर रुपमा आरालो लागिरहेको छ । लगानीकर्ताको मनोबल घट्दै गएपछि बजार निरन्तर रुपमा घटेको हो ।
अवैधरुपमा बैकिङ कारोबार गर्ने मेक्स मि इ–कमर्सका संचालक पक्राउ
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् । नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सञ्चालक तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेका तिमिल्सेनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात वर्ष कैद र ७० हजार जरिवान सजाय हुने कानूनी व्यवस्था छ । रासस
प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा ७ जना निर्वाचित
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा ७ जना निर्वाचित भएका छन् । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक पदमा ७ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक समितिको तर्फबाट एक जना रहेका छन् । संस्थापक सेयरधनीको तर्फबाट पियुष राज अर्याल, दिपेश अमात्य, डा. सन्तोष अग्रवाल र प्रमिला के.सि. थापा रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट राजिव प्रसाद प्याकुरेल र सुरज श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन् भने डा. रेशम थापाले स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् । यससँगै यी नवनिर्वाचित सञ्चालकले आगामी ४ वर्षको कार्यकाल सम्हाल्ने छन् ।