४७.५० बोनसपछि महिला लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । ४७.५० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १ हजार ७३८.०२ रूपैयाँले घटेको छ । बुधबार प्रतिकित्ता ५३९७ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ३६५८.९८ रुपैयाँ कायम भएको छ ।
माछापुच्छ्रे कृति क्यापिटलले व्यवस्थापन गर्यो एक अर्बको लगानी
काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गर्न सफल भएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत सो मात्राको लगानी व्यवस्थापन गरेको हो । यो अवसरमा क्यापिटलले संस्थालाई यो उचाइमा पुर्याउन सहयोग तथा साथ दिने सबैलाई धन्यवाद दिएको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विगत आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । साथै, क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।
नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धिताे कर्जा दिने
काठमाडाैं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धिताे कर्जा दिने भएकाे छ । बैंकले राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएकाे छ । बुधबार यसकाे लागि बैंक र संस्थानबीच सम्झाैता भएकाे छ । उक्त सम्झाैतामा बैंकका तर्फबाट काठमाडाैं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार बैंकले बीमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ । सम्झाैतापछि बाेल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने बताएका थिए ।