आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सको पानीपोखरीमा केन्द्रीय कार्यालय भवनको शिलान्यास भएकाे छ । मङ्सिर २४ गते शुक्रबारका दिन बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उक्त भवनकाे शिलान्यास गरेका हुन् । उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलज्यू, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायतको उपस्थिति थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा खेलकुद विकासको लागि सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल एपीएम टेबल टेनिस क्लबबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले क्लबले आयोजना गर्न लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताकाे मुख्य प्रायोजक भएर काम गर्नेछ । उक्त प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ । उक्त प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुरमा हुनेछ । प्रतियोगितामा ३२० खेलाडी सहभागि हुनेछन् । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोलीसगै स्थानीय क्लबका पनि हुने बैंकले जनाएको छ । साग्रिला डेभलपमेन्ट बैंकले नेपालको खेलकुद विकासको लागि नयाँ सुरुवात गरेको जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको पुस ९ गतेदेखि बुक क्लोज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ । उक्त सभा सो दिन बिहान विराटनगरको होटल हैरिसन प्यालेसमा बस्दै छ । सभाले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त लाभांश खान इच्छुकले आगामी पुस ८ गतेभित्र इन्स्योरेन्सको सेयर खरिद तथा होल्ड गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ छ ।