छिमेक लघुवित्तकाे ३० प्रतिशत लाभांश पारित, संचालकमा पुन: ऋषि राज जोशी
काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्थाकाे ३० प्रतिशत लाभांश पारित भएकाे छ । लघुवित्त काे २०औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । शेयरधनीहरुलाई आ.व.२०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई साधारण सभाले पारित गरेको हो । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार ७ सय ७५ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । काठमाडाैंकाे मध्यबानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६८ जिल्लामा १९२ वटा शाखा मार्फत कुल ४ लाख ६ हजार ६ सय २८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । यस्तै संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी ऋषि राज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन् ।
बीमक संघको अध्यक्षमा क्षेत्री निर्विरोध, उपाध्यक्षमा बैदवार र महासचिवमा खड्का
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय सम्ममा सबै पदाधिकारीमा एक/एक जना र कार्यसमिति सदस्यमा ५ जनाको मात्र उम्मेदवारी दर्ता भएको नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष क्षेत्री सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी यसअघि संघको महासचिवमा थिए । त्यस्तै, उपाध्यक्षमा बिरेन्द्र बैदवार चयन भएका छन् । उनी सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का चयन भएका छन् । कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् । श्रेष्ठ आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत हुन् । त्यसैगरी, कार्यसमिति सदस्यमा ५ जना चयन भएका छन् । जसमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्रचार्य, अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्री, राष्ट्रिय बीमा कम्पनीका सुवास कोइराला, जनरल इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठ र ओरियन्टलका बिनोद घाते निर्विरोध चयन भएका छन् । संघको वार्षिक साधारणसभा शुक्रबार अपरान्ह ४ बजे बस्दै छ । साधारणसभापछि नयाँ नेतृत्वकाे औपचारिक घोषणा कार्यक्राम रहेको छ ।
बीमा कम्पनीले ९० दिनभित्रै सीईओ नियुक्ति गरिसक्नुपर्ने
काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले ३ महिना अर्थात ९० दिनभित्र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नुपर्ने छ । नियामक निकाय बीमा समितिले सञ्चालित कुनै पनि जीवन तथा निर्जीवन बीमा कम्पनीको सीईओको पद खाली भएको ३ महिनाभित्रमा नयाँ सीईओ नियुक्त गरिसक्नुपर्ने जनाएको हो । समितिले हालै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७८ को पहिलो संशोधन गर्दै सो व्यवस्था गरेको हो । साथै, उक्त संशोधित निर्देशिका अनुसार कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारी गरी सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने छ । र, स्वीकृत भएको मितिले १५ दिनभित्रमा बीमा समिति समक्ष पेश गर्नुपर्ने छ । त्यस्तै, यो निर्देशिका तत्काल कार्यान्वयनमा ल्याइने समितिले जनाएको छ ।