प्रिमियर इन्स्योरेन्सको सभाले पारित गर्यो लाभांश
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २१ गते सम्पन्न इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । तर, माघ ४ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् । १ अर्ब ७ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी बोनस सेयरपछि १ अर्ब २२ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षमा इन्स्योरेन्सले १ अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने ३४ करोड ७९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्सको सभा कम्पनीको केन्द्रिय कार्यालयमा भिडियो कन्फरेन्स मार्फत भएको थियो । सभामा सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका हुन् ।
५ वर्षपछि साइनिङ स्टार सेभिङका ३५ लाख ठगी गर्ने लेखा समिती संयोजक पक्राउ
काठमाडौं । ३५ लाख रुपैयाँ ठगी गर्ने सहकारीका लेखा-समिती संयोजक पक्राउ परेका छन् । कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका लेखा-समिती संयोजक पंचमान महर्जन पक्राउ परेका हुन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले बिहीबार स्वयम्भूबाट पक्राउ गरेकाे हाे । महर्जनले को-अपरेटिभमा जम्मा गरेको निक्षेप रकम बाइस करोड चौसठ्ठी लाख चौरानब्वे हजार चार सय अठ्हत्तर रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन बाहेकको व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको पाइएको थियो । उनलाई ठगीमा संलग्न भएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले मिति २०७३/०३/१९ मा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो तर उनी त्यसयता फरार रहँदै आएका थिए ।
जाल्पा सामुदायिक लघुवित्तको आईपीओः कति कित्तासम्म भर्न पाइन्छ ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा माघ २१ गतेदेखि आवेदन दिन पाइने भएको छ । लघुवित्तले सो दिनदेखि आईपीओ बिक्री खुला गर्ने भएसँगै सर्वसाधारणले सो दिनदेखि आईपीओ भर्न पाउने भएका हुन् । लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिने छ । यससँगै इच्छुकले माघ २१ गतेदेखि छिटोमा माघ २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ । यदि उक्त अवधिसम्म पनि माग अनुसारको आवेदन नपरेमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन खुला गरिने व्यवस्था छ । इच्छुकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । तर संस्थाले बिक्रीमा राखेको आईपीओको कित्ता एकदमै न्यून भएकाले लगानीकर्ताले १० कित्ताको लागि मात्र लगानी गर्दा उपयुक्त हुने देखिन्छ । त्यस्तै, आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । संस्थाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट इक्रा एनपी आईआर डबल बि रेटिङ्ग पाएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ ।