विदेशी कम्पनीमा पुनर्बीमा गर्न खुला गरिँदै

काठमाडौं । बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्ने बाटो खुला गरिने भएको छ । बीमा समितिले पुनर्बीमाको जोखिमलाई वर्गीकरण गरेर बीमा कम्पनीहरुलाई विदेशी कम्पनीमा पुनर्बीमा गर्न दिने भएको हो । समितिले पुनर्बीमाको जोखिमलाई उच्चस्तर र न्यूनस्तर गरी दुई भागमा वर्गीकरण गरेको हो । जसमध्ये उच्चस्तरको जोखिम रहेकोलाई विदेशी कम्पनीमा र न्यूनस्तरको जोखिमलाई स्वदेशी कम्पनीमा पुनर्बीमा गर्न दिइने व्यवस्था लागू गरिने समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए । उनका अनुसार एभियशन (हवाई) बीमा, ठूला जलविद्युत परियोजनाका बीमा, जलवायु परिवर्तनबाट हुने क्षतिको बीमा, प्राकृतिक प्रकोपबाट हुने क्षतिको बीमा लगायत भूकम्पबाट हुुने क्षतिको बीमालाई उच्चस्तरको जोखिममा वर्गीकरण गरिएको छ । त्यस्तै, न्यूनस्तरको जोखिममा मोटर बीमा, घर तथा सम्पत्ति बीमा, स्वास्थ्य बीमा लगायत अन्य प्रकारका बीमा पर्दछन् जसको जोखिम तुलनात्मक रुपमा कम देखिन्छन् । समितिले वैदेशिक मुद्रा जोगाउने भन्दै केही महिना अघि मात्रै बीमा कम्पनीहरुलाई विदेशी कम्पनीसँग पुनर्बीमा गर्न रोक लगाएको थियो । र, सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनी (नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स) सँग गर्न निर्देशन दिएको थियो । तर, स्वदेशी पुनर्बीमा कम्पनीले सबै प्रकारको बीमाको जोखिम बहन गर्न नसक्ने भएकाले र बीमा कम्पनीहरुलाई थप सहज होस् भन्ने उद्देश्यले जोखिमलाई विभाजन गरिएको समितिका प्रवक्ता पौडेल बताउँछन् । ‘स्वदेशी कम्पनीले सबै प्रकारका बीमाको जोखिम बहन गर्न नसक्ने अवस्था भएकाले जोखिमलाई दुई भागमा विभाजित गर्न लागिएको हो, यससँगै अब बीमा कम्पनीहरुले बीमाको जोखिमका आधारमा योग्यता पुगेका विदेशी कम्पनीसँग पुनर्बीमा व्यवसाय गर्न पाउने छन्,’ पौडेलले भने । तर, नेपालका पुनर्बीमा कम्पनीले जोखिम बहन गर्न सक्ने किसिमका सबै बीमा भने नेपालमै गराउनु पर्ने उनको भनाई छ । उनीहरुले जोखिम बहन गर्न नसक्ने अवस्था रहेमा मात्रै विदेशी कम्पनीसँगै पुनर्बीमा गर्न पाइने उनले थप प्रष्ट पारे । साथै, यस विषयमा समिति छलफलको चरणमै रहेको समेत उनले बताए । समितिले गत मंसिरमा निर्देशन जारी गर्दै विदेशी कम्पनीमा पुनर्बीमा गर्न करिब रोक लगाएको थियो । उक्त निर्देशन अनुुसार २० प्रतिशत पुनर्बीमा व्यवसाय अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई दिनुपर्ने र बाँकी रहेको ८० प्रतिशत पुनर्बीमा व्यवसाय दुई पुनर्बीमा कम्पनी (नेपाल रि र हिमालयन रि) लाई दिनुपर्ने भएको थियो । सम्बन्धित समाचार बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने वैदेशिक मुद्रा संचितिमा योगदान पुर्याउन नयाँ व्यवस्था गरिएको होः बीमा समिति ४ अर्ब पुनर्बीमा कमिसनमा प्रतिस्पर्धा, विदेशी मुद्रा जोगाउने तर्क गफ मात्र

आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य सुरु

काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य सुरु गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकमका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकम प्रालिद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सेलपेसँग सहकार्य पछि आइएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना क्रेडिटर्सहरुलाई आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपे मार्फत भुक्तानी गर्न सक्नेछन् । सेलपेमार्फत विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी आदि वास्तविक समयमा गर्न सकिन्छ ।  

दोहोरो अंकले घटेको बजारमा एचआईडीसीएल तीन शीर्षकमा अग्रस्थानमा

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सय अंकभन्दा बढीले बढेको बजार सोमबार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँमा सीमित छ । सोमबार २२५ कम्पनीको १ करोड १ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) भने विभिन्न तीन शीर्षकमा अग्रस्थानमा देखिएको छ । एचआईडीसीएल टप ट्रनओभर, टप भोल्युम, टप ट्रान्जेक्सनमा अन्य कम्पनीभन्द अग्रस्थानमा रहेको छ । कम्पनीको एकैदिन ५७ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कूल ७ हजार ६२० पटकमा कम्पनीको १६ लाख ३६ हजार ७८३ कित्ता सेयर खरिद बिक्री भएको हो । जुन अन्य कम्पनीको तुलनामा बढी हो । त्यस्तै, तीन शीर्षकमा अग्रस्थानमा रहेको कम्पनी टप गेनरमा पनि शीर्ष पाँचौं स्थानमा पर्न सफल भएको छ । कम्पनीको सेयर मूल्य ७.३७ प्रतिशतले बढेर प्रतिकित्ता ३५७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २४.५० रुपैयाँ हो । एचआइडिसिएलले पायाे वित्तीय संस्थाको मान्यता कम्पनीले नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको मान्यता पाएसँगै लगानीकर्ता कम्पनीको सेयरमा झुम्मिएका हुन् । र, कारोबारसँगै सेयर मूल्य पनि बढ्न पुगेको हो । बजारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । फर्वार्ड लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, यी कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता २३८७, १६१९ र ६१६ रुपैयाँ पुगेको छ । सोमबार इन्भेन्टमेन्ट, लघुवित्त र अन्य समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।