नाफा र ईपीएसमा फर्वाडको फड्को, डिप्रोक्स र एनआईसी एशियासहित ५ लघुवित्तको ‘नेक टु नेक’ प्रतिस्पर्धा
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तहरुको औषत नाफा ४९ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा लघुवित्तहरुको औषत खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.९७ प्रतिशतले बढेको हो । चालु आवकाे पुस मसान्तसम्म कूल ३५ वटा लघुवित्तहरुले ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् । जुन गत वर्षको सोही अवधिकाे तुलनामा एक अर्ब १० करोड रुपैयाँले बढी हो । यी लघुवित्तहरुले गत वर्षको पुस मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बराबरको मात्रै खुद नाफा गरेका थिए । समीक्षा अवधिमा अधिकांश लघुवित्तको लाभांश बढेको छ । ३५ वटा लघुवित्तमध्ये २७ वटा लघुवित्तहरुले गत वर्षको तुलनामा नाफा बढाएका छन् भने ८ वटाले घटाएका छन् । नाफा घटाउनेमध्ये ६ वटा नेप्सेमा सूचीकृत छन् । सबैभन्दा बढी नाफा कमाउनेमा फर्वाड लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले समीक्षा अवधिमा १०३.५५ प्रतिशतले नाफा बढाएर ४५ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । जुन गत वर्षको पुससम्ममा २२ करोड ५० लाख रुपैयाँ रहेको थियो । त्यस्तै, एनआईसी एशिया, डिप्रोक्स, मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, ग्लोबल आईएमई, मिर्मिरे र फर्ष्ट माइक्रोफाइनान्सले १० करोडभन्दा बढी नाफा कमाएका छन् भने बाँकीको नाफा १० करोडभन्दा कम छ । सूचीकृत लघुवित्तमध्ये प्रतिशतका आधारमा मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा वृद्धिदर उच्च छ । संस्थाले समीक्षा अवधिमा ४२८.२६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत वर्ष ४६ लाख रुपैयाँ नोक्सानमा रहेको मानुषी लघुवित्त चालु आवको पुससम्ममा १ करोड ५१ लाख रुपैयाँ बढी नाफामा छ । त्यस्तै, नेप्सेमा सूचीकृत नभएका ६ लघुवित्तमध्ये सबैभन्दा बढी नाफा सीवाईसी लघुवित्तको छ । लघुवित्तले समीक्षा अवधिमा ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । र, प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा धौलागिरी लघुवित्त रहेको छ । धौलागिरीले गत वर्षको तुलनामा ४९७ प्रतिशतले नाफा वृद्धि गरी २ करोड १५ लाख रुपैयाँ पुर्याएको छ । सूचीकृत नभएका लघुवित्तमध्ये २ वटाको नाफा गत वर्षको तुलनामा घटेको छ । सीवाईसी र उपकार लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा क्रमशः ६०.०६ र ५२.१६ प्रतिशतले घटेको हो । दुई लघुवित्तको ईपीएस १०० रुपैयाँभन्दा माथि ३५ लघुवित्तमध्ये दुई लघुवित्त (फर्वाड र महिला) को प्रतिसेयर आम्दानी (ईपीएस) एक सय रुपैयाँभन्दा माथि छ । सबैभन्दा बढी नाफा कमाएको फर्वाड लघुवित्तको ईपीएस १०८.५० रुपैयाँ छ । त्यस्तै, ५० प्रतिशतले नाफा बढाएको महिला लघुवित्तको प्रतिसेयर आम्दानी ११०.९७ रुपैयाँ छ । जुन लघुवित्त संस्थाहरु मध्येकै बढी हो । सूचीकृत मध्ये ४ लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा कम छ । आरएसडीसी, मनकामना स्मार्ट, गणपति र गुराँस लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा पनि तल छ । जसमध्ये आरएसडीसी लघुवित्तको सबैभन्दा कम अर्थात १२.१५ रुपैयाँ ईपीएस छ ।
कोरोना बीमाको पैसा नदिने मुडमा अर्थमन्त्रालय, बीमा क्षेत्रमा ११ अर्बको त्रास
काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको भुक्तानी विकल्पमा पुनर्विचार गर्न बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीको लागि समितिले विकल्प दिएको ४ महिनापछि अर्थमन्त्रालयले त्यसमा पुनर्विचार गर्न समितिलाई पत्र पठाएको हो । बीमा समितिले गत असोजको दोश्रो सातामा नै दाबी भुक्तानी गर्नको लागि सरकारलाई ४ वटा विकल्प दिएको थियो । समितिले अर्थमन्त्री जनार्दन शर्माको आग्रह अनुसार नै कोरोना बीमाको दाबी बापतको ११ अर्ब रुपैयाँ भुक्तानीको लागि ४ वटा विकल्पसहितको सुझाव पठाएको थियो । जसमा सरकारको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गरेर प्राप्त हुने रकमबाट दावी भुक्तानी गर्ने, बीमा कम्पनीहरुले राज्यलाई बुझाउने कर, भ्याटमा छुट दिने वा समायोजन गरेर भएपनि दाबी भुक्तानी फछ्र्यौटमा सहजिकरण गरिदिने, कोभिड बीमा ऋणपत्र जारी गरेर प्राप्त रकमबाट भुक्तानी दिने र सरकारी बीमा कम्पनीले राष्ट्रसेवक कर्मचारीको बीमा गरेबापत प्राप्त रकमबाट भुक्तानी दिने गरी ४ वटा विकल्पहरु थिए । तर उक्त सुझावसहितको विकल्पमा अर्थमन्त्रालयले कुनै एउटा छानेर निर्णय गर्नुको साटो उल्टै पुनर्विचार गर्न भन्दै ४ महिनापछि समितिलाई पत्र पठाएको छ । यसको मतलब सरकार कोरोना बीमाको दावी भुक्तानीमा सहयोग नगर्ने मुडमा देखिएको उक्त पत्रले स्पष्ट रुपमा जनाएको बीमा समिति श्रोतले बताएको छ । ‘हामीले चार विकल्प प्रस्ताव गरेका थियौं, त्यसमा अर्थमन्त्रालयले केही पनि नभनि विकल्पहरुका बारेमा पुनविचार गर्न अर्को पत्र पठाएको छ, सो पत्रको अर्थ सरकार कोभिड बीमाको भुक्तानी गर्न तयार छैन । र, गर्नै परे पनि थोरै रकम मात्रै भुक्तानी गर्छ भन्ने हामीले बुझेका छौं,’ उच्च श्रोतले विकासन्युजसँग भन्यो । यो चार विकल्पबाहेक ५० प्रतिशत नेपाल सरकारले बेहोर्ने र बाँकी ५० प्रतिशत बीमा कम्पनी, बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी लगायतले बेहोर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । सरकारले गत आर्थिक वर्षको बजेटमा कोरोना बीमाको बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो । त्यसपछि कोरोना बीमा गराउनेहरुको संख्या अझै बढेको थियो । तर, हालसम्म सरकारले यसको बारेमा एउटा ठोस निर्णय लिन नसक्दा कोरोना बीमा गर्नेहरु मारमा परेका छन् । कोरोना बीमाकाे दावी भुक्तानी बाफतकाे ११ अर्ब रूपैयाँ दिन सरकारले अटेर गरेपछि बीमा समितिले भने बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा राेक लगाएकाे छ । दावी भुक्तानीमा अर्थकाे आनाकानी र बीमा समितिकाे निर्देशनहरूले बीमा क्षेत्र थप सशंकित बनेकाे छ ।
घलेम्दी हाइड्रोको नाफामा वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?
काठमाडाैं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षकाे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो । कम्पनीले इन्स्योरेन्स बापतको १ करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा देखिएको हो । यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर १ करोड ६४ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः