टियागो ईभी अन्तर–स्कुल चित्रकला प्रतियोगिता 'कार्टनिभल'का आशिम र समय्यालाई पी एस ५ पुरस्कार

काठमाडौं । टियागो ईभी कार्निभल अन्तर–स्कुल चित्रकला कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदीयन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त अन्तर–स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रम चित्रकला प्रतियोगिता, उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोहसहित सम्पन्न गरिएको थियो । प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम भएका छन् भने कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलकी समया थापा प्रथम हुन सफल भइन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेसन–५ (पी एस ५) प्रदान गरिएको थियो । दुई चरणमा सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो । दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो । कक्षा ५ देखि ८ को समूहमा काठमाडौं युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो तथा त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी, कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय भएका छन् । उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, शैक्षिक व्यक्तित्व, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः डा. शर्मा चयन

काठमाडौं । डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, डिल्लीबजार काठमाडौंको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले २५ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेसँगै सञ्चालक समितिको बैठकले पुनः डा. रुद्र शर्मालाई अध्यक्षमा चयन गरेको छ । २५ सदस्यीय नयाँ सञ्चालक समितिमा केही सदस्य पदेन सदस्यका रूपमा रहेका छन् भने नयाँ सदस्यहरूमा पूर्व सांसद विशाल भट्टराई, पूर्व मन्त्री विक्रमबहादुर थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा. आनन्द पन्थ, समाजसेवी शोभियत उप्रेती, कविता लामा लगायत चयन भएका छन् । वि.सं. २०३७ सालदेखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित यस क्याम्पसले ४५ वर्ष पूरा गरिसकेको छ । क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र लगायतका विषयहरू र स्नातकोत्तर तहमा अंग्रेजी तथा समाजशास्त्र विषय सेमेस्टर प्रणालीमा अध्यापन हुँदै आएको छ । त्यस्तै, शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तहमा चार वर्षे बीएडमा नेपाली, अंग्रेजी तथा स्वास्थ्य र शारीरिक शिक्षा विषयहरू तथा स्नातकोत्तर तहमा एमएड (नेपाली) सञ्चालनमा छन् । व्यवस्थापन संकायअन्तर्गत चार वर्षे बीबीएस र बीबीएम तथा स्नातकोत्तर तहमा एमबीएस कार्यक्रम सञ्चालनमा रहेका छन् । यसअघि साधारण सभाको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठले नारी शिक्षाको उन्नयनमा क्याम्पसको ठूलो योगदान रहेको चर्चा गर्दै क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व मन्त्री विक्रमबहादुर थापाले क्याम्पसमा विद्यार्थी संख्या बढाउन क्याम्पसलाई थप सुदृढ र सक्षम बनाउँदै आवश्यक सुधारसहित अगाडि बढ्नुपर्ने बताए । क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७ सय छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिइन् । उनले क्याम्पसलाई क्यूएए स्तरोन्नतिका लागि विश्वविद्यालय अनुदान आयोगमा आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै शैक्षिक गुणस्तर कायम गर्न क्याम्पस प्रशासन निरन्तर प्रतिबद्ध रहेको बताइन् । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्माले समयानुकूलका विषयहरू थप गर्दै क्याम्पसलाई गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए । क्याम्पसका शैक्षिक निर्देशक प्रा. डा. जयन्तनाथ खनालले आगामी शैक्षिक कार्यक्रम विस्तारअन्तर्गत व्यवस्थापन संकायमा नयाँ कार्यक्रम सञ्चालनका लागि आवेदन दिइसकिएको र कानुन संकाय सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिए । कार्यक्रममा क्याम्पसका आर्थिक तथा प्रशासनिक निर्देशक प्राध्यापक बाबुराम पौडेल, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति निलकण्ठ भुसाल, प्राध्यापक संघका सहसचिव टीपी भुसाल लगायतले सामुदायिक क्याम्पसका रूपमा रहेको कन्या क्याम्पसलाई नारी शिक्षाको उत्कृष्ट गन्तव्य बनाउनुपर्नेमा जोड दिएका थिए ।

एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा 'प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट' घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको स्कलरशिप प्रदान गरेको छ । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आईटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा उक्त स्कलरसिप प्रयोग गर्न सकिने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । बुटवलका २१ वर्षीय स्पीनर तिलक राज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपीएलको उपाधि जितेका हुन् । उनले लुम्बिनीलाई पहिलो पटक एनपीएलको च्याम्पियन बनाउने क्रममा बलिङबाट महत्वपूर्ण योगदान दिएका थिए । तिलकले प्रतियोगिताभर ८ खेल खेल्ने क्रममा ८ विकेट नै लिए । शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई ६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको हो । फाइनलमा तिलकले सुदूरपश्चिम विरुद्ध ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए । उनले क्वालिफायर टु मा विराटनगर किंग्स विरुद्ध सानदार बलिङ रच्दै ३ विकेट लिएका थिए र प्लेअर अफ दि म्याच समेत घोषित भएका थिए ।   तिलकले यसअघि नेपालको यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनले आईसीसी यू-१९ पुरुष विश्वकप समेत खेलेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट डोमेस्टिक क्रिकेट पनि खेल्दै आएका छन् ।   युवा लेग स्पीनर तिलकलाई भविष्यमा नेपालको सम्भावना भएको स्पीनरको रुपमा हेरिएको छ । उनले एनपीएलको पहिलो संस्करण पनि लुम्बिनी लायन्सबाट खेलेका थिए र उनलाई दोस्रो संस्करणमा रिटेन गरिएको थियो । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले विगत १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आईटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ