मेटलाइफको जुम्लामा सेवा विस्तार, स्मार्ट बोर्ड हस्तान्तरणसहित बीमा पहुँच बढाउने
काठमाडौं । मेटलाइफ नेपालले जुम्लामा सेवा औपचारिक रूपमा सुरु गरेको छ । यससँगै नेपालको दुर्गम तथा सेवा अभाव भएका क्षेत्रमध्ये एक मानिने जुम्लामा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार भएको छ । कम्पनीका अनुसार यो विस्तार देशभर, विशेषगरी दुर्गम समुदायसम्म बीमा सेवा सहज रूपमा पुर्याउने प्रतिबद्धताको एक हिस्सा हो । जुम्लाका बासिन्दाले भोग्दै आएका सीमित पूर्वाधार, वित्तीय सेवासम्मको दूरी तथा सेवा अभावलाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । यस पहलमार्फत स्थानीय परिवारलाई व्यवहारिक उपकरण र मार्गदर्शन उपलब्ध गराई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ । जुम्ला समुदायलाई थप सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । यस सहयोगले विद्यार्थीहरूलाई थप आकर्षक र अन्तरक्रियात्मक सिकाइ वातावरण प्रदान गर्नुका साथै शिक्षकहरूलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ। साथै, मेटलाइफ नेपालले स्थानीय युवालाई लक्षित गरी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ । जुम्ला कार्यालय उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पुर्याउने प्रतिबद्धता दोहोर्याए । उनले भने, 'जुम्ला एजेन्सी कार्यालयको उद्घाटनले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पुर्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । बीमा सेवाको पहुँच विस्तारसँगै, हामी शिक्षामा सहयोग र युवामाझ बीमा सचेतना अभिवृद्धिमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्न पनि उत्तिकै प्रतिबद्ध छौं, जसले उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पुयाउँछ ।'
नुवाकोटको किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
प्रकाश सिलवाल किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका छन् । मुलुकभरका गाउँपालिकामध्ये स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँले सञ्चालन गर्नेमा पहिलो भएको किस्पाङ गाउँपालिकाले सामान्य चिकित्सा र डिप्लो इन फार्मेसीको कोर्स पूरा गर्न रु एक लाख ९५ हजार मात्रै शुल्क लिँदै आएको छ । किस्पाङ गाउँपालिका–३, काहुलेमा २०८० सालमा स्थापत सो शिक्षालयले पहिलो व्याच ढिलो सम्बन्धनका कारण डिप्लोमा इन फार्मेसीमात्र भर्ना गरेको थियो । दोस्रो ब्याचका सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्णरुपमा तथा तेस्रो ब्याचको सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्ण हुने गरी भर्ना गरेको छ । सातै प्रदेश र ३१ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने हिसाबले पनि यो शिक्षालय सम्भवतः मुलुककै पहिलो शिक्षालय बनेको छ । गृह जिल्ला नुवाकोटका ३० प्रतिशत र बाँकी अन्य जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत रहँदा किस्पाङ अहिले शैक्षिक पर्यटनको गाउँ बन्न पुगेको छ । यहाँ बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी शिक्षालयकै होस्टेलमा बसेर पढ्छन् । केहीले शिक्षालय वरपर डेरा लिएका छन् । प्राविधिक शिक्षालयमा स्वास्थ्य सहायक (एचए) मा अध्ययनरत सङ्खुवासभाकी सङ्गीता मगर, सल्यानकी धनसोरी बुढाथोकी, महोत्तरीकी प्रियङ्का यादव, सर्लाहका अर्पितकुमार दास र रौतहटकी आकृति चौधरी विभिन्न जिल्लाबाट जोडिए पनि आफूहरु अब एकै शिक्षालयको शिक्षार्थी भएकामा खुसी देखिन्छन् । यस्तै बाजुराकी कोपिला विश्वकर्मा र प्रमिला दानी मात्र होइन डिप्लोमा इन फार्मेसी पढिरहेकी सुर्खेतकी विजया गुरूङ यसरी धेरै जिल्लाबाट आएका साथीहरुसँग आफूहरुको सांस्कृतिक सिकाइ पनि भएको बताउँछिन् । डिप्लोमा इन फार्मेसी अध्ययनरत अछामका नवीन बयक र एचए दोस्रो वर्षमा अध्ययनरत सुर्खेतका पवन बरालले प्राविधिक शिक्षा पढाइसँगै नयाँनयाँ साथीहरु बनेकामा फरक अनुभूति गरेको बताए । रोचक कुरा, यही शिक्षालयमा पिता डिल्ली ढकाल र छोरी सलिना ढकाल फार्मेसीको विद्यार्थीका रुपमा रहेका छन् । नुवाकोटको लिखु गाउँपालिका–२, ढिकुरे निवासी ढकाल पढाइ पूरा गरेर गाउँमै फार्मेसी खोल्ने योजनामा रहेका छन् । 'ग्रामीण भेगमा पनि यस प्रकारको शिक्षा उपलब्ध हुनु हाम्रा लागि राम्रो कुरा हो', डिल्ली ढकालले भने । कैलालीको घोडाघोडी नगरपालिका–२ बाट किस्पाङमा प्राविधिक शिक्षा हासिल गर्न आएका शैलेश गिरी भौगोलिक दूरी टाढा भए पनि सुलभरुपमा पढ्न पाइने भएकाले यहाँ आएको बताउँछिन् । गिरीसँगै शिक्षालयमा १७ विद्यार्थी भक्तपुरको गठ्ठाघरस्थित लोमस फर्मास्युटिकल्समा प्रयोगात्मक अभ्यासका लागि खटिएका छन् । तीमध्ये गिरीसहित केहीले अहिले नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालमा प्रयोगात्मक काम गरिरहेका छन् । नुवाकोटकै सूर्यगढी–५ की विद्यार्थी अञ्जली गिरी शिक्षालयमा छात्राका लागि व्यवस्थित र सुरक्षित आवास रहेको बताउँछिन् । किस्पाङ–१, भाल्चेका रुवन तामाङ समग्रमा शिक्षालयको पढाइ राम्रो रहेको प्रतिक्रिया दिन्छिन् । उनीहरु दुवैले पढाइ सकेर मेडिकल खोल्ने तयारी गरेका छन् । शिक्षालयका प्रमुख विनोद न्यौपानेका अनुसार देशको समग्र झलक शिक्षालयमा पाइन्छ । शिक्षालयमा पहिलो वर्षमा सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी ४०/४० विद्यार्थी रहेकामा छात्रवृत्तिमा अध्ययनमा तीन विद्यार्थी छन् । प्रदेशअनुसार सामान्य चिकित्सातर्फ ६ प्रदेशका विद्यार्थी र डिप्लोमा इन फार्मेसीतर्फ सातै प्रदेशका विद्यार्थी छन् । विभिन्न विषय र वर्षमा गरेर बारा, रौटहट, पर्सा, सर्लाही, बझाङ, बाजुरा, धादिङ, दोलखा, हुम्ला, कालिकोट, नुवाकोट, रसुवा, रोल्पा, सङ्खुवासभा, बैतडी, बाजुरा, बर्दिया, धादिङ, हुम्ला, कालीकोट, कञ्चनपुर, नुवाकोट, ओखलढुङ्गा, रौतहट, सर्लाही, सिन्धुली र तनहुँका विद्यार्थी अध्ययनरत छन् । दोस्रो वर्षमा प्रदेशगतरुपमा बागमतीका २७, गण्डकीका एक, कर्णालीका १७, मधेसका २६ र सुदूरपश्चिमका चार विद्यार्थी अध्ययनरत छन् । तेस्रो वर्षमा विभिन्न प्रदेश र जिल्लाका गरी १७ विद्यार्थी छन् । 'होस्टेल सुविधाका साथै शिक्षालयमै उत्पादन गरिएको अर्गानिक तरकारी प्रयोग गरेर विद्यार्थीलाई गाउँघरको अनुभूति दिइएको छ ।' शिक्षालय प्रमुख न्यौपानेले भने, 'हामीले समय समयमा अतिथिलाई कक्षा दिलाउनाका साथै खेलकुद सप्ताह, हाजिरीजवाफ, वक्तृत्वकला, सरस्वती पूजा, वनभोज, नारी दिवस तथा होली उत्सवजस्ता कार्यक्रम गर्दै आएका छौँ । यसले विद्यार्थीमा उत्साह पैदा गरेको छ ।' गाउँपालिकाका अध्यक्ष एवं शिक्षालय सञ्चालक समितिका अध्यक्ष वीरवल तामाङ ३१ जिल्लाका विद्यार्थी आएर पढ्नु भनेको किस्पाडको पानीलाई ती विद्यार्थीहरुले प्रसादका रुपमा लिन पाएको अवसरमा रुपमा आफूहरुले लिएको बताउँछन् । गाउँपालिको आय विस्तार र राष्ट्रका लागि उद्यमशीलताको विकासको शिक्षालय एक कोसेढुङ्गा हुने उनले बताए । यसलाई आफूहरुले सेवाका रुपमा लिएको र पर्यटकीय विकासका लागि पनि आधार हुने तामाङले विश्वास व्यक्त गरे । गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने दरबन्दी पूर्ण हुने गरी नियमित भर्ना हुनु र विद्यार्थीहरुबाट अहिलेसम्म सकारात्मक प्रतिक्रिया प्राप्त हुनुले शिक्षालयको भविष्य उज्जल रहेकामा सन्देह नरहेको बताउँछिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट भवन निर्माणका लागि रु एक करोडको निर्माण कार्य भएको सो शिक्षालयमा आर्थिक वर्ष २०८२/८३ का लागि सोही मन्त्रालयले रु तीन करोड विनियोजन गरेकामा अहिले शिक्षालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेको छ । उनले क्रमशः गाउँपालिकाले बजेट बढाउँदै प्रयोगशालालगात पूर्वाधार विकास गरी शिक्षालयलाई नमुना बनाइने बताए । दक्ष र अनुभवी प्रशिक्षबाट अध्ययन अध्ययापन भइरहेकामा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा पढेका डा आशिष दाहाललगायत पूर्णकालीन शिक्षक सात, कर्मचारी पाँच र अल्पकालीन १३ जना कार्यरत छन् । शिक्षालयमा पुस्तकालयमा पर्याप्त पुस्तकका साथै आधुनिक एवं सुविधा सम्पन्न कम्प्युटर, आवश्यक प्रयोगशाला उपकरण र रसायन सामग्री उपलब्ध छन् । रासस
सम्बन्धन प्राप्त क्याम्पस र कलेजमा स्थलगत अध्ययन गर्दै त्रिवि, ७० हजार रुपैयाँ शुल्क
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय, डीनको कार्यालय कीर्तिपुरले सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूको स्थलगत सम्भाव्यता अध्ययन गर्ने भएको छ । व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेका नियमित शैक्षिक कार्यक्रमहरू ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) र मास्टर अफ बिजनेस स्टडीज (एमबीएस) र विशेष शैक्षिक कार्यक्रम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (बीआईटी), ब्याचलर अफ पब्लिक एडमिनिस्ट्रेशन (बीपीए), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (बीटीटीएम), मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (एमएमएचएमएम), मास्टर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (एमटीटीएम), मास्टर अफ इन्फर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (एमआईटीएम) मा नयाँ कार्यक्रम वा सेक्सन थप गर्न आवेदन दिएका क्याम्पस तथा कलेजहरूको स्थलगत अध्ययन गरिनेछ । त्रिवि कार्यकारी परिषदको २०८२ भदौ १४ गतेको बैठकको निर्णय अनुसार १०० पूर्णाङ्कको मूल्यांकनमा न्यूनतम् ६० अंक प्राप्त गर्न सक्ने क्याम्पस/कलेजहरू मात्र अध्ययन प्रक्रियामा समावेश हुन सक्नेछन् । उपत्यकाभित्रका क्याम्पस/कलेजहरूले प्रति शैक्षिक कार्यक्रम ५५ हजार रुपैयाँ र उपत्यका बाहिरका क्याम्पस/कलेजहरूले ७० हजार रुपैयाँका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उक्त रकम व्यवस्थापन संकाय, डीनको कार्यालयको खातामा सूचना प्रकाशित मितिले १५ दिनभित्र जम्मा गर्नुपर्नेछ । साथै, तोकिएको समयसीमा भित्र शुल्क नबुझाउने क्याम्पस÷कलेजहरूलाई स्थलगत सम्भाव्यता अध्ययनका लागि योग्य नमानिने पनि त्रिविले जनाएको छ ।