विदेशी विद्यार्थी नेपाल भित्र्याउन इक्यान र आइप्यानबीच सहकार्य

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र (हब) तथा अध्ययन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)बीच रणनीतिक समझदारी (एमओयू) भएको छ ।

सोमबार सम्पन्न समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउने, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण प्रवर्द्धन गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्न सहकार्य गर्ने भएका हुन् ।

समझदारीपछि इक्यानका सदस्य संस्थाले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थामा सञ्चालन हुने कार्यक्रम, अध्ययनका अवसर, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति तथा करियरसम्बन्धी जानकारीमा प्रत्यक्ष पहुँच पाउनेछन् । यसबाट विद्यार्थी र अभिभावकले थप विश्वसनीय र अद्यावधिक शैक्षिक परामर्श सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

समझदारीले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई पनि सशक्त बनाउने लक्ष्य राखेको छ । दुवै संस्थाले क्षमता अभिवृद्धि, अन्तरक्रिया, नीति संवाद, अन्तर्राष्ट्रिय सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत संयुक्त कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् ।

यस्तै, सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउन पनि सहकार्य गरिने जनाइएको छ ।

दुवै संस्थाले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यसमेत विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

Share News