कामना सेवा विकास बैंकद्वारा बैजनाथ माविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको महेन्द्रनगर शाखामार्फत आयोजित कार्यक्रममा शाखा प्रमुख कृष्णसिंह भाटले वडा नं. ८ का अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर परिवारबाट आउने भएकाले बैंकले उपलब्ध गराएको सहयोगले उनीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

शाखा प्रमुख भाटले शैक्षिक सामग्री वितरणमार्फत शिक्षाको पहुँच विस्तार र समुन्नत समाज निर्माणमा बैंकले आफ्नो सामाजिक दायित्व निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्मचारी, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

बैंकले आगामी दिनमा पनि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक तथा वित्तीय साक्षरतामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Share News