काठमाडौं । एनआईसी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ ।
बैंकले केआई सिंह गाउँपालिका–४, बगर वायल, डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर तथा चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको हो ।
डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत ३६ भन्दा बढी विद्यार्थीमध्ये २१ जना बाबुआमा गुमाएका तथा सीमान्तकृत विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराइँदै आएको छ । बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक पदमसिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।
यस्तै, प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन हुने श्री जन जागृति माध्यमिक विद्यालयका करिब ४५० विद्यार्थीको प्रविधिमा पहुँच बढाउने उद्देश्यले बैंकले ल्यापटप, कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ । आयोजित कार्यक्रममा बैंकको ईएसजी एन्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्रप्रसाद नेपाल तथा प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए ।
बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीको पठनपाठन थप प्रभावकारी हुनुका साथै गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।