जागिरसँगै विश्वविद्यालयको पढाइ, एमएमा बने गोल्ड मेडलिस्ट
काठमाडौं । पढ्ने भनेकै पैसा कमाउन हो अर्थात् जागिर खानकै लागि पढ्नुपर्छ, अधिकांशको विचार यस्तै हुन्छ । तर सबैको हकमा जागिरमात्रै पढाइको उद्देश्य हुँदैन । तीमध्येका एक हुन्– कमल पौडेल । जसले सरकारी जागिरबाट समय निकाली पढे अनि गोल्ड मेडलिस्ट भए । पाल्पाको तानसेनका कमलले एमए अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट नम्बर ल्याउँदै गोल्ड मेडलिस्ट बनेका हुन् । बुटवल बहुमुखी क्याम्पसबाट ३.७७ जीपीए ल्याएका उनले त्रिविको ५१ औं दीक्षान्त समारोहमा तीनवटा पदक तथा पुरस्कार पाए । जसमा तारापद चौधरी स्वर्णपदक, खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार रहेका छन् । धेरै विद्यार्थीमा राम्रो नम्बर नआउँदा एउटा न एउटा बहाना बनाउँछन् । कसैले पढ्ने समय नै हुँदैन भन्छन् त कसैले के । तर पढाइको भोक भएकाहरूलाई कुनै बहानाले रोक्न सक्दैन । बिहान १० बजेदेखि पाँच बजेसम्म सरकारी जागिर गरेर पढेका कमल कसैको दबाब र करले भन्दा आफ्नै इच्छा र स्वरुचिले पढ्दा त्यसको परिणाम अझ राम्रो आउने बताउँछन् । पौडेल पेसाले एक मेकानिकल इन्जिनियर हुन् । उनी यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी परीक्षण कार्यालय, बुटवलमा कार्यरत छन् । २०७३ सालमा निजामती सेवामा प्रवेश गरेका उनले कामसँगै पढाइलाई कसरी निरन्तर दिने र कसरी अध्ययन गर्दा गोल्ड मेडलिस्ट हुन सकिन्छ भन्ने विकासन्युजको प्रश्नमा भन्छन्, ‘पढाइ होस् या काम कुनै पनि सुरु गरिसकेपछि निरन्तरता हुनुपर्छ, अर्को कुरा रुचि पनि हुनुपर्छ जसको परिणाम राम्रै निस्कन्छ।’ कमल पाैडेल कमललाई म टपर हुनुपर्छ, भन्ने कहिल्यै लागेन । तर पढिसकेपछि राम्रै नम्बर ल्याउनुपर्छ भन्ने लागिरहन्थ्यो । ‘प्लस टु, ब्याचलर्स पढ्दा राम्रो गर्नुपर्छ, सकेसम्म धेरै नम्बर ल्याउनुपर्छ भन्ने सोच हुन्थ्यो तर स्नातकोत्तर गर्दा त्यो सोच पनि थिएन,’ कमलले भने । ‘पहिले पढाइ भनेपछि सफल हुनुपर्छ, पास हुनुपर्छ भन्ने दबाब हुन्थ्यो, त्यो दबाब महसुस स्नातकोत्तर गर्दा कहिल्यै भएन । पास हुनुपर्छ , डिग्री हातमा लिनुपर्छ भन्ने ध्येय मात्र अध्ययन गरेको हुँ, यसले गर्दा पनि सफलता हात परेको हुनसक्छ,’ उनले थपे । २०७१ सालमा स्नातक तह सकेका पौडेल ०७८ सालमा स्नातकोत्तरमा भर्ना भएका थिए । जागिरसँगै पढाइ कमललाई जागिर गरेको कही समयपछि मास्टर डिग्रीको आवश्यकता महसुस भयो । त्यसपछि उनले पढ्ने योजना बनाए । उनको कामसँगै मेल खाने विषय अर्थशास्त्र थियो । त्यसपछि उनले अर्थशास्त्र विषय लिएर पढ्ने योजना बनाए । ‘सरकारी क्षेत्रमा लामो समय काम गर्नु छ भनेपछि काम गर्ने क्षेत्रसँग पनि सम्बन्धित हुने, केही न केही नयाँ ज्ञान प्राप्त पनि हुने र आफ्नो कार्यसम्पादन क्षेत्रमा पनि सहयोग गर्छ भन्ने सोंचेर अर्थशास्त्र विषय पढ्न सुरु गरेको हुँ,’ उनले भने । कमलले तानसेनकै पदम पब्लिक नमुना सामुदायिक विद्यालयबाट एसएलसी पास गरे । कक्षा १२ सम्म विज्ञान विषय लिएर तानसेनमै पढेका उनी स्नातक तहमा इन्जिनियरिङ पढ्न काठमाडौं आए । काठमाडौंको पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरे । उनी पढाइमा सानैदेखि राम्रो थिए । स्नातक तहको पढाइ सक्ने बित्तिकै लोकसेवामा नाम निकालेर सरकारी जागिर सुरु गरे । प्राविधिक विषयबाट स्नातक गरेको व्यक्तिले किन स्नातकोत्तरमा अप्राविधिक विषय रोजाइमा पर्यो भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘मैले जुन विषय पढें, जे विषय पढेर अहिले काम गरिरहेको छु, यही विषय अध्ययनका लागि म काठमाडौंमै हुनुपथ्र्यो, जुन सम्भव थिएन । अर्थशास्त्र पढ्न मलाई राजधानी जानु पर्दैनथ्यो । दिनभरि कार्यालयको काम गरेर साँझ कलेज गएर पढ्न सकिन्थ्यो । अर्को कुरा अप्राविधिक ज्ञान हासिल गर्ने पनि रहर थियो ।’ सरकारी सेवा प्रवेश गरिसकेपछि कहीँ न कहीँ प्राविधिक तथा अप्राविधिक ज्ञानको पनि खाँचो पर्दो रहेछ । उनलाई पनि यो अनुभव भयो । आफ्नो सेवालाई नै काम लाग्ने विषय के हुनसक्छ भनेर हेर्दा अर्थशास्त्र सान्दर्भिक देखिएकाले पनि यो विषय रोजेको उनी बताउँछन्। बुवासँग कमल पाैडेल प्राविधिक अप्राविधिक विषयमा फरक कार्यालयको कार्य सञ्चालनमा प्राविधिक ज्ञानसँग अप्राविधिक ज्ञानको पनि आवश्यकता पर्छ । फरक विषय रोज्नुलाई अवसरको रूपमा लिन्छन् कलम । उनका लागि अर्थशास्त्र नौलो विषय थियो । कसरी पढ्ने होला भन्ने एक किसिमको चुनौती पनि थियो । त्यही चुनौतीले पढ्न थप प्रेरित गरेको उनको अनुभव छ । ‘अर्थशास्त्रका धेरै विषय म्याथम्याटिक्स बेस हुन्छन्, यसो हुँदा आफूलाई सहज बनाउनसक्ने ठाउँ पाएँ,’ उनी भन्छन्, ‘पहिलेको गणितको ज्ञान जुन थियो त्यसले पनि यतापट्टिको पढाइमा धेरै सहयोग गर्यो ।’ ‘एक्कासि नयाँ विषय पढ्दा गाह्रो पक्कै हुन्छ तर त्यो चुनौती मैले पहिलो सेमेष्टर पढिसक्दासम्म सामना गरिसकेको थिएँ, त्यसपछि सहज भयो,’ उनले थपे । कसरी पढ्ने ? पढ्ने हरेक व्यक्तिको आ–आफ्नै तरिका हुन्छ । कमल पढाइ सुरु गर्नुभन्दा अगाडि पाठ्यक्रममा के छ, त्यसमा पढ्ने पर्ने विषय के हो र शिक्षकले कसरी पढाइरहेका छन् भन्ने कुरालाई हेरेर आफ्नो अध्ययन गरेको बताउँछन् । ‘छुटेका केही कुरा युट्युबबाट पनि हेर्थें । धेरै कुरा अहिले युट्यबमै पाइन्छ तर त्यसलाई कसरी पढ्ने र त्यस्ता कुरालाई कसरी ग्रहण गर्ने भन्ने व्यक्तिमा भर पर्छ ,’ उनी भन्छन्, ‘नोट बनाएर हुन्छ कि पटकपटक पढेर हुन्छ कि पढेका कुरालाई दैनिक जीवनसँग लागू गरेर हुन्छ, यो विद्यार्थी आफूले बुझ्नुपर्ने हुन्छ ।’ अर्थशास्त्रको कुरा गर्दा कर प्रणालीको बारेमा पढ्नुपर्छ । यो के रहेछ भनेर हेर्दा अहिलेको कर प्रणाली के छ, कसरी प्रयोग भइरहेको छ भन्ने हेरेर बुझ्न पनि सकिन्छ । कमल आफू पढ्दा किताब, इन्टरनेटलगायतका विभिन्न माध्यमबाट विभिन्न सामग्री तयार पार्थे । सजिलै बुझ्नेगरी टिपोट गरेर अध्ययन गर्थे । उनी विद्यार्थीले सबैभन्दा पहिले आफ्नो बुझ्ने तरिका के हो पत्ता लगाउनुपर्ने बताउँछन् । पढाइको लागि सबैभन्दा राम्रो तरिका व्यवहारिक ज्ञानसँग प्रयोग गरेर हेर्नुपर्ने उनको बुझाइ छ । धेरै कुरा स्वअध्ययन गर्ने र शिक्षकले गरेको गाइडलाइनबाटै पनि धेरै कुराहरू सिक्न सकिने उनको अनुभव छ । भन्छन्, ‘पढाइका सिद्धान्त धेरै छन् । कुन सिद्धान्त अपनाउँदा विद्यार्थीले आफूलाई बुझेको अनुभव गर्छन् भन्ने कुरा आफै थाहा पाउनुपर्ने हुन्छ ।’ कमल आफ्नो हकमा किताबमा भएको सिद्धान्तको प्रयोग कहाँ र कसरी भइरहेको छ भनी खोजी गर्ने गर्दछन् जसले पढेको कुरा याद गर्न पनि सहज हुन्छ । ‘मैले ल्याएको डिग्रीबाट म सन्तुष्ट हुनैपर्छ, यति नम्बर मैले ल्याउनैपर्छ भन्ने चाहिँ विद्यार्थीमा हुनैपर्छ,’ उनी भन्छन्, ‘डिग्री लिनको लागि मात्र पढेको जस्तो नहोस् भोलि कपाल फुलेर आफ्नो डिग्री हेर्दै गर्दा उबेला यतिको चाहिँ गरिएको थियो भन्ने सन्तुष्टि पनि मिलोस् भन्ने लाग्थ्यो ।’ तीन घण्टा परीक्षा प्रणालीको विरोध वर्षभरि पढेर विद्यार्थीको मूल्यांकन तीन घण्टाको परीक्षाले गरिने प्रणालीको कमल विरोध गर्छन् । उनलाई तीन घण्टाको लागि मात्र अध्ययन गरेर सफलता देखाइरहेकाले यो वास्तविकता होइन भन्ने लाग्छ । ‘जस्तै म्याथको कुरा गरौं– परीक्षा लिँदैगर्दा विद्यार्थीलाई जुन प्रश्न सोधिन्छ, त्यसमा प्रयोग हुने फर्मुला उसको अगाडि उपलब्ध गराइदिनुपर्छ भन्ने हो । उसँग ज्ञान छ, फर्मुला घोकेर जाँदा मिलाउन सकेन भने उसको मूल्याकंन गर्दा यसले जानेन भन्न मिल्दैन,’ उनी भन्छन् । कुनै प्रश्नमा कुनकुन चिजलाई आधार मानेर यसको हल गर्न सकिन्छ भन्ने प्रश्नपत्रमै उपलब्ध गराउन सक्यो भने साँच्चै ज्ञान प्रयोग गर्न जानेको छ छैन भनेर हेर्न सकिने उनी बताउँछन् । रटान परीक्षा प्रणालीको पौडेल खुलेर विरोध गर्छन् । यसले शिक्षा प्रणाली उँगो लाग्न नसक्ने उनको जिकिर छ । उनी तल्लो तहमा नभए पनि माथिल्लो तहको परीक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको बताउँछन् । नेपालका लगानी गर्ने वातावरण भएन नेपालमा अर्थतन्त्रका सुचकहरू हेर्ने हो भने सबै सकारात्मक छन् । बैंकहरूसँग तरलता पनि थुपै्र छ, मौद्रिक नीतिले ल्याएको व्यवस्था पनि लगानीलाई फाइदा गर्ने खालकै छन् । यति हुँदाहुँदै पनि आर्थतन्त्र चलायमान हुन नसकेको अवस्था छ । यसबाट कसरी बाहिर निस्कने भन्ने विषय अहिले चुनौतीकै रूपमा रहेको छ । कतिपय अर्थशास्त्रीले यस्तो बेलामा सरकारले खर्च गरेर डिमाण्ड बढाउनुपर्छ भनेका छन् । पौडेल यस्तै सिद्धान्त प्रयोग गर्न सकिने अवस्था आएको हो कि भन्ने राय व्यक्त गर्छन् । उनका अनुसार लगानीकर्ताले लगानी गरेर यति प्रतिफल पाउँछु भन्ने अवस्था छैन । लगानीकर्तामा यो विश्वास भएन भने अर्थतन्त्र चल्नै सक्दैन । अर्थतन्त्र चल्ने भनेको सेभिङ र इन्भेष्टमेन्टले हो । ‘हामीसँग सेभिङ भयो तर यसलाई लगानी गरेर भोलि प्रतिफल पाउने आशा कसैमा देखिएन । त्यसैले पनि यस्तो अवस्था आएको हुनसक्छ,’ उनी भन्छन् । ‘जब लगानी हुँदैन तब रोजगारी सिर्जना हुँदैन । रोजगारी सिर्जना नभए आय हुँदैन, आए नभए डिमाण्ड आउँदैन, यो अर्थशास्त्रको चेन हो,’ उनी भन्छन्, ‘नयाँ क्षेत्रमा वा भइरहेको क्षत्रमा लगानी गरेर प्रतिफल पाउनसक्छु भन्ने आशा नै लगानीकर्ताको मरिसकेको हो कि भन्ने पनि लाग्छ ।’ देखासिखीले पनि विदेश जानेक्रम बढ्यो विद्यार्थी विदेश जाने निकै बढेको छ । पहिले विदेश पढ्न जानेहरू नेपालमा अवसर नदेखेर भन्दा पनि विदेशमा नयाँ कुरा सिक्न जानेहरू बढी थिए । अहिले नेपालमा केही पनि छैन, अवसर नै छैन भन्ने हेतुले विद्यार्थी बाहिर गएको देखिन्छ । पौडेल देखासिखीले पनि विदेश जानेक्रम बढेको बताउँछन् । ‘कतिपय संस्कृत हाम्रोभन्दा विदेशीको राम्रो हुन पनि सक्छ । पढेर राम्रो गरे भने धेरै मौका आउँछन् भन्ने हुन्थ्यो । अहिले बिना सीप बिना मिहिनेत कुनै आम्दानीको स्रोत आवोस् भन्ने आशा गर्ने बानी पस्दा पनि यस्तो अवस्था आएको हो कि जस्तो लाग्छ,’ उनले भने । उनी नेपालमा समस्या थुप्रै भए पनि केही आशाहरू भने रहेको बताउँछन् । कमलले अहिले तत्काल योभन्दा माथिको शिक्षाका लागि सोचेका छैनन् । भन्छन्, ‘अहिले म पूर्ण रूपमा पारिवारिक जिम्मेवारीमा छु, केही समय यसैमा रमाउँछु । चार–पाँच वर्षपछि फेरि केही सोच्नुपर्ला ।’
हिसानको अध्यक्षमा शर्मा विजयी
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । यही पुस ११ र १२ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका अवसरमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी शर्माले १६० र प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित शर्मा निवर्तमान उपाध्यक्ष र भण्डारी निवर्तमान महासचिव हुन् । यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा टङ्कराज आचार्य र डा। स्वागत श्रेष्ठ, महासचिवमा रामहरि सिलवाल र कोषाध्यक्षमा शिव अधिकारी विजयी भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष रमेशकुमार सिलवालले बधाई दिएका थिए । महाधिवेशनको उपराष्ट्रपति रामसहायप्रसाद यादवले शनिबार उद्घाटन गरेका थिए ।
युके डिग्रीको सपना देख्दा दुबईमा दुःख, ब्रिटिश कलेजविरुद्ध विद्यार्थीको उजुरी
काठमाडौं । नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट मान्यताप्राप्त कलेजलाई लिएर बेलाबेला प्रश्न उठ्ने गरेको छ । कहिले महँगो शुल्क लिएको, कहिले नेपाली विद्यार्थीलाई विदेश पठाउन केन्द्रित गरेको त कहिल्यै विद्यार्थीहरूलाई विदेश पठाउने भन्दै ठगेका घटनाहरू बाहिरिने गरेका छन् । हालैमात्र थापाथलीमा रहेको द ब्रिटिश कलेजले विद्यार्थीलाई विदेशमा पढ्न पठाउने भन्दै ठगी गरेको उजुरी शिक्षा मन्त्रालयमा परेको छ । केही दिन अगाडि विद्यार्थी र अभिभावकले कलेजले शैक्षिक ठगी गरेको भन्दै कलेजमै गएर आन्दोलन गरेका थिए । उनीहरूले छोराछोरीलाई युकेको डिग्री दिने नाममा विदेश लिएर सहमतिअनुसारको सुविधा नदिएको आरोप लगाएका छन् । कलेजमा अध्ययनरत एक छात्रा ब्याचलर्स पढ्न २०२३ सालमा कलेजमा भर्ना भइन् । तीन वर्षे स्नातक तहको अध्ययनमा एक वर्ष नेपालमा पढाउने र दुई वर्ष दुबईमा पढाउने कुराले उनलाई ब्रिटिश कलेज मन पर्यो । अभिभावकसँगको सहमतिमा उनी कलेज भर्ना भइन् । एक वर्ष थापाथलीमै अध्ययन गरिन् । कलेजले खानेबस्ने होस्टेलको व्यवस्थासहित दुबईमा राम्रो वातावरणमा दुई वर्ष पढेपछि युके डिग्री पाइने भनेको थियो । सोही सहमतिअनुसार उनी २०२४ सेप्टेम्बरमा दुबई गइन् । यसरी दुबई पढ्न जाने विद्यार्थीमा उनको ब्याच पहिलो थियो । दुबई पढ्न जान पाउँदा उनी खुसी थिइन् । तर जस्तो उत्साह भरेर गएकी थिइन्, दुबई पुग्दा त्यस्तो भएन । त्यहाँ बस्न न कुनै होस्टेल थियो न राम्रो बस्ने ठाउँ नै । बरु विभिन्न देशका विद्यार्थी त्यसमा पनि छात्रा र छात्र एउट भवनमा बस्नुपर्ने बाध्यता थियो । ‘यतिसम्म थियो कि एउटा रुम बाथरुम जति ठूलो पनि थिएन, एउटा बेडमुनि अर्को बेड थियो । सामान राख्ने ठाउँसमेत थिएन,’ विकासन्युजसँगको कुराकानीमा उनले भनिन्, ‘मलाई त्यस्तो ठाउँमा बस्दा सुरक्षित महसुस भएन । पढ्न आएको मान्छेलाई गाईबाख्रा राख्ने गोठजस्तोमा बसेको महसुस हुन थाल्यो । त्यसपछि म नेपाल फर्कें ।’ उनले दुबईको अवस्थाका विषयमा घरमा अभिभावकलाई जानकारी गराएपछि उनीहरूले दुबई कलेजका प्रिन्सिपलसँग इमेलमा गुनासो गरे । एक सातापछि प्रिन्सिपलले उनलाई बोलायो । नेपालमा कलेजसँग भएको सम्झौता र आफूले दुबईमा भोग्नुपरेको बसाइँ फरक भएकाले समाधानका लागि उनले आग्रह गरिन् । जवाफमा प्रिन्सिपलले समस्या समाधान गर्ने बताए । ‘मसँग प्रिन्सिपलसँगको कुराकानी पनि रेकर्ड छ, हामीले समस्या सुनाए पनि समाधानका लागि पहल चालिएन, त्यस्तो अवस्थामा बसेर पढ्न सकिनँ र नेपाल फर्कें,’ उनले भनिन् । उनीसँगसँगै केही विद्यार्थी नेपाल फर्केपनि धेरैजसो विद्यार्थी भने यही अवस्थामा बसेर दुबईमा अध्ययन गरिरहेको उनले बताइन् । पैसा पनि तिरिसकेको र नपढ्दा समयसमेत बर्बाद हुने डरले धेरै विद्यार्थीहरू कुनै प्रतिक्रिया नदिइ बसिरहेको उनी बताउँछिन् । ‘मैले विद्यार्थीलाई गरिने व्यवहार, त्यहाँ बस्नेखानेको अवस्था नभएपछि सबै विद्यार्थीको प्रतिनिधित्व गर्दै आवाज उठाउँछु भनेर नेपाल फर्किएकी हुँ, सबै विद्यार्थीको प्रतिनिधित्व गर्दै न्याय मागिरहेकी छु,’ उनले भनिन् । उनका अनुसार नेपाल आएर न्यायको लागि आवाज उठाउन सहज छैन । भन्छिन्, ‘कलेजले के भन्यो कुन्नि, दुवईका साथीहरू पनि बोल्न मानिरहेका छैनन्, यहाँ साथीहरू पनि बोल्न तयार हुनुहुन्न । विद्यार्थीलाई आफ्नो समय बर्बाद हुने डरले सहर बसेका छन् ।’ ती छात्राका अनुसार धेरै विद्यार्थी पीडित छन् तर बोल्न सकिरहेका छैनन् । उनले आफूलाई सहयोग गर्ने एकजना साथीलाई पनि कलेजले निकालेको बताइन् । साढे ९ लाख कलेजको शुल्क गरी सबै खर्च १६ लाख लागेको उनको भनाइ छ । खानेबस्ने प्रबन्ध गरिदिएको कलेजले दावी गरे पनि आफ्नो खर्च आफै तिर्नुपर्ने अवस्था आएपछि उनी ५ महिनामै नेपाल फर्किएकी हुन् । बिट्रिस कलेजका तीन विद्यार्थीको उजुरी शिक्षा मन्त्रालयका अनुसार तीन जना विद्यार्थीले ब्रिटिश कलेजले ठगी गरेको भन्दै उजुरी दिएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको उच्चशिक्षा शाखाका उपसचिव परशुराम तिवारीले दुबईमा पढ्न गएका धेरै विद्यार्थी ठगिएको भन्दै आउने गरेको बताउँछन् । ‘कतिपय विद्यार्थी शैक्षिक कन्सल्टेन्सीले ठग्यो भन्दै उजुरी दिन पुग्छन्, कतिपय विद्यार्थी कलेजले नै ठग्यो भन्दै गुनासो गर्न आउँछन्,’ उनी भन्छन्, ‘केही दिन अगाडिमात्रै पनि ब्रिटिश कलेजका तीन जना विद्यार्थी आफू ठगीमा परेको भन्दै गुनासो लिएर पुग्नुभएको थियो।’ उनले विद्यार्थीको गुनासो अनुसार शिक्षा मन्त्रालय यो विषयमा अनुसन्धान बढाइसकेको बताए। मन्त्रालयले छानविन समिति नै बनाएर यो विषयमा अनुसन्धान गरिरहेकाले दोषी भेटिए कलेजलाई कारवाही गर्ने तिवारीले बताए । उनी उच्च शिक्षा अध्ययनका लागि विदेश जाँदा विद्यार्थी र अभिभावक पनि सचेत हुनुपर्ने सुझाव दिन्छन् । ‘एकातिर पैसाको नास, अर्कोतिर समय पनि नष्ट हुँदा पढ्न जाने विद्यार्थी र पठाउने अभिभावक नै सचेत हुनुपर्ने देखिन्छ,’ तिवारीले भने । शिक्षामन्त्री महावीर पुनले पनि विदेशी कलेजहरूसँग सम्बन्धन लिएर नेपालमा पढाउने केही कलेजहरूले विद्यार्थीलाई ठगी गरिरहेको उजुरीहरू बढ्दै गएको उल्लेख गरेका छन् । यस्ता विद्यार्थी ठग्ने कलेजको विषयमा शिक्षा मन्त्रालयले छानबिन कार्य अगाडि बढाइसकेको उनी बताउँछन् । पुनले विदेश पठाउन अघि वा नेपालकै विदेशी कलेजमा छोराछोरी भर्ना गर्नु अगाडि कलेजबारेमा बुझ्नसमेत आग्रह गरेका छन् । के भन्छ कलेज ? ब्रिटिश कलेजले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई नेपालसँगै विदेशमा पढ्न पठाउने अवसर दिँदै आएको छ । एक वर्ष नेपालमा र दुई वर्ष दुबईमा पढिसकेपछि फाइनल परीक्षा अस्ट्रेलिया, युके वा नेपालमै जहाँबाट सहज हुन्छ त्यहीबाट दिन पाइन्छ । यसका लागि कलेजले विभिन्न देशमा रहेका कलेजसँग समझदारी गरेको छ । यही कार्यक्रमअन्तर्गत गत सेप्टेम्बर ८ मा २० जना विद्यार्थी दुवई गएका थिए । जसमध्ये केही विद्यार्थी आफ्नो व्यक्तिगत कारण नेपाल फर्केका छन् । यता ब्रिटिश कलेजले भने यो आरोपलाई निराधार भनेको छ । कलेजले विज्ञप्ति जारी गर्दै कलेजमाथि लगाएको आरोप झुटो भएको र कलेजको बदनाम गर्न केही व्यक्ति र समूह सक्रिय भएको बताएको छ । कलेजले विज्ञप्तिमा भनेको छ, ‘हामी शैक्षिक गुणस्तर, विद्यार्थी कल्याण तथा जिम्मेवार संस्थागत आचरणप्रति दृढरूपमा प्रतिबद्ध छौं । साथै अहिले बाहिर आएको गलत हल्ला र सूचनाको पछि नलाग्न पनि सबैलाई अपिल गर्दछौं ।’ ब्रिटिश कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले केही व्यक्तिले कलेजलाई बदनाम गर्ने काम भइरहेको बताए । ‘हाम्रा बच्चाहरू दुबईमा राम्रो वातावरणमा पढिरहेका छन्, केही विद्यार्थी भाइबहिनीहरू आफ्नो व्यक्तिगत कारणले नेपाल फर्किँदा केही अदृश्य शक्तिले चलाइरहेको महसुस भएको छ,’ विकासन्युजसँग कुरा गर्दै मण्डलले भने । मण्डलका अनुसार दुबईमा असहज भएको भन्दै ८ जना विद्यार्थी केही समयअघि नेपाल फर्केका थिए । नेपाल फर्केका विद्यार्थीका अभिभावकसँग छलफल भएर सहमति भइसकेको उनले जानकारी दिए । बाँकी विद्यार्थीलाई पनि छलफलमा आउन आग्रह गर्दा पनि छलफलमा नआई सामाजिक सञ्जालमार्फत संस्थाको बदनाम गर्ने काम भइरहेको भन्दै मण्डलले आपत्ति जनाए । उनले विषय प्रसंग नबुझी विद्यार्थी संगठनको नाममा आएका विद्यार्थीले कलेजमा तोडफोड प्रयास गरेको भन्दै मण्डलले कलेजले कुनैपनि विद्यार्थीमाथि शैक्षिक ठगी नगरेको दाबी गरे । उनले आफूहरू विद्यार्थीका समस्या र गुनासा सुन्न कलेज तयार रहेकोसमेत दावी गरे ।