झापामा विद्यालयको जग्गामा ६५ परिवारको बसोबास, शैक्षिक पूर्वाधार संकटमा

सुरुङ्गा । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण र अभिलेखीकरण अभियान तीव्र बनाइरहेका बेला पूर्वी नेपालका विभिन्न जिल्लामा विद्यालयका नाममा रहेका सयौँ बिघा जमिन अतिक्रमण भएको छ । झापा गाउँपालिकामा विद्यालयको स्वामित्वमा रहेको जग्गामा सिङ्गो बस्ती बसोबास गरिरहेको विवरण सार्वजनिक भएको हो ।      झापा गाउँपालिका-२ स्थित कुवाडीदेवी माध्यमिक विद्यालयको नाममा रहेको करिब ११ बिघा १७ कट्ठा जमिनमध्ये ठूलो हिस्सामा स्थानीयले घरटहरा निर्माण गरी बसोबास गर्दै आएका छन् । विद्यालय प्रशासनका अनुसार उक्त क्षेत्रमा हाल ६५ परिवार बसोबास गरिरहेका छन् ।      सङ्घीय सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार सार्वजनिक जग्गाको डिजिटल अभिलेख व्यवस्थित गर्ने प्रक्रिया सुरु भएपछि विद्यालयले आफ्नो नाममा रहेको जग्गाको वास्तविक अवस्था अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गरेको थियो । विद्यालयले सात दिनभित्र आवश्यक कागजात तथा विवरणसहित सम्पर्कमा आउन आग्रह गरे पनि अधिकांश परिवार सम्पर्कमा नआएका कुवाडीदेवी माध्यमिक विद्यालयले जनाएको छ ।      विद्यालयका प्रधानाध्यापक मुकेशकुमार कर्णका अनुसार सूचना जारी गरेपछि हालसम्म सातदेखि आठ परिवार मात्रै सम्पर्कमा आएका छन् । 'जग्गामा बसोबास गरिरहनुभएका धेरैजसो व्यक्तिहरू सम्पर्कमा आउनुभएको छैन', उनले भने, 'यसले समस्या समाधानको प्रक्रिया थप जटिल बन्ने देखिएको छ ।'      विद्यालय प्रशासनका अनुसार हाल विद्यालय व्यवस्थापन समिति गठन नभएकाले तत्काल थप निर्णय लिन कठिन भएको छ । समिति गठन भएपछि पुनः सूचना जारी गरेर आवश्यक प्रक्रिया अघि बढाइने तयारी गरिएको प्रधानाध्यापक कर्णले जानकारी दिए ।      पूर्वी नेपालका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसका नाममा रहेको ठूलो क्षेत्रफलको जमिनमा बस्ती बसिसकेको तथ्यसमेत सार्वजनिक भएको छ । पाराखोपी माध्यमिक विद्यालय, आठराई–तेह्रथुमको नाममा रहेको १२० बिघा चार कट्ठा तीन धुर, मेची बहुमुखी क्याम्पस भद्रपुरको १२६ बिघा, करफोक माध्यमिक विद्यालय इलामको ८४ बिघा, आदर्श विद्या मन्दिर घैलाडुब्बाको ८७ बिघा, जनता प्राथमिक विद्यालय शरणामतिको २७ बिघा, महेन्द्र माध्यमिक विद्यालय पन्थापाडाको २७ बिघा तथा डिल्लीराज माध्यमिक विद्यालयको २१ बिघा जमिनमा बसोबास विस्तार भएको झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिइन् ।       स्थानीय तहका जानकारहरूका अनुसार वर्षौंदेखि भूमिहीन तथा विपन्न परिवार सार्वजनिक तथा विद्यालयको जमिनमा बस्दै आएका छन् । प्रारम्भमा अस्थायी रूपमा सुरु भएको बसोबास समयसँगै स्थायी बस्तीमा परिणत भएको स्थानीय बताउँछन् । कतिपय स्थानमा राजनीतिक संरक्षण तथा प्रशासनिक निष्क्रियताका कारण अतिक्रमण नियन्त्रण बाहिर पुगेको स्थानीयको भनाइ छ ।      सरकारले पछिल्लो समय सार्वजनिक जमिन संरक्षणलाई प्राथमिकतामा राख्दै डिजिटल अभिलेख तयार गर्ने, अतिक्रमण पहिचान गर्ने तथा आवश्यक परे खाली गराउने नीति अघि बढाएको छ । वन क्षेत्र, नदी उकास, गुठी तथा विद्यालयका नाममा रहेका जग्गाको संरक्षणका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइएको छ । शिक्षासम्बन्धी सरोकार भएका निकायका प्रतिनिधिका अनुसार विद्यालयका नाममा रहेको जमिन अतिक्रमण हुँदा शैक्षिक पूर्वाधार विस्तारमा प्रत्यक्ष असर परेको कावा अध्यक्ष थपलियाले बताइन् । कतिपय विद्यालयले खेलमैदान, भवन तथा अन्य संरचना निर्माण गर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् । झापा गाउँपालिकाको पछिल्लो घटनाले सार्वजनिक सम्पत्तिको संरक्षण, भूमिहीन व्यवस्थापन र राज्यको कार्यान्वयन क्षमताबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण बन्दै गएको जानकारहरू बताउँछन् । रासस 

मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘उत्कृष्ट छात्रवृत्ति’ प्रदान

काठमाडौं । मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति' अभियान अन्तर्गत चालु आर्थिक वर्ष देशभरका कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकका अनुसार उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गरी वितरण गरिएको हो । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाइएको छ । छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । 'अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,' एक विद्यार्थीले भावुक हुँदै प्रतिक्रिया दिए । अभिभावकहरूले पनि बैंकको सहयोगले आफ्ना सन्तानको भविष्यप्रति नयाँ भरोसा जागेको बताएका छन् । बैंकले शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व भएको विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।  

एनएमबि बैंकद्वारा तमु समुदायका ४० विद्यार्थीलाई शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले तमु धिं नेपाल सँगको सहकार्यमा तमु समुदायका ४० जना जेहन्दार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममार्फत गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित लगायतले संयुक्त रूपमा वितरण गरेका थिए । कार्यक्रममा बोल्दै राजिव रञ्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासका क्षेत्रमा बैंकको सहकार्य निरन्तर रहने बताए । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।