उच्च शिक्षामा विद्यार्थी संख्या बढ्यो, व्यवस्थापन संकायमा आधाभन्दा बढीको आकर्षण
काठमाडौं । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ७२ हजार ४ सय ८९ रहेको उच्च शिक्षा अध्ययनरत विद्यार्थी संख्या आर्थिक वर्ष २०८१/८२ मा १०.९ प्रतिशतले वृद्धि भएर ७ लाख ४५ हजार ७ सय ७० पुगेको छ । उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये व्यवस्थापन संकाय सबैभन्दा आकर्षक बनेको देखिएको छ । कुल विद्यार्थीमध्ये ५०.५ प्रतिशत व्यवस्थापन संकायमा अध्ययनरत छन् । विपरीत रूपमा कृषितर्फ अध्ययन गर्ने विद्यार्थीको संख्या अत्यन्त न्यून अर्थात् ०.१५ प्रतिशत मात्र रहेको छ । तथ्यांकअनुसार व्यवस्थापन, शिक्षाशास्त्र तथा मानविकी एवं समाजशास्त्र संकायमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा करिब ८० प्रतिशत पुगेको छ । यसले नेपालमा प्राविधिक तथा कृषि शिक्षा भन्दा परम्परागत संकायतर्फ विद्यार्थीको आकर्षण अझै बढी रहेको देखाएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा २०८२ फागुनसम्म १५ केन्द्रीय र ६ प्रादेशिक गरी कुल २१ विश्वविद्यालय सञ्चालनमा रहेका छन् । साथै संघअन्तर्गत ६ र प्रदेशअन्तर्गत २ गरी ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । तीमध्ये १२ केन्द्रीय विश्वविद्यालय र ६ प्रादेशिक विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा छन् भने ३ केन्द्रीय विश्वविद्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । यसैगरी, २०८२ फागुनसम्म विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको संख्या ५७ पुगेको छ । यसैबीच, त्रिभुवन विश्वविद्यालय अझै पनि उच्च शिक्षाको मुख्य केन्द्रका रूपमा रहेको तथ्यांकले देखाएको छ । संघीय, प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विदेशी विश्वविद्यालयका सम्बन्धनमा सञ्चालित क्याम्पसमध्ये ७५.३ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्ययनरत छन् । तीमध्ये ४७.९ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा तथा २७.४ प्रतिशत सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरिरहेका छन् । अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा भने २४.१ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । सरकारी लगानीको दृष्टिले पनि त्रिभुवन विश्वविद्यालय अग्रस्थानमा रहेको छ । कुल सरकारी लगानीमध्ये ६७.५ प्रतिशत हिस्सा त्रिभुवन विश्वविद्यालयमा रहेको छ भने अन्य विश्वविद्यालय तथा कार्यक्रमहरूमा ३२.५ प्रतिशत लगानी रहेको छ । उच्च शिक्षाको गुणस्तर सुनिश्चिततामा पनि सुधार देखिएको छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्थाको संख्या २०८२ फागुनसम्म १४५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११४ रहेको थियो ।
विद्यालयमा महिला शिक्षकको सहभागिता बढ्यो, माथिल्लो तहमा भने अझै पुरुषकै वर्चस्व
काठमाडौं । नेपालका विद्यालयमा महिला शिक्षकको सहभागिता बढ्दै गएको देखिए पनि उच्च तहमा पुग्दै जाँदा महिला शिक्षकको उपस्थिति घट्दै गएको तथ्यांकले देखाएको छ । शैक्षिक सत्र २०८२ को तथ्यांकअनुसार सबै प्रकारका विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये ४३.७ प्रतिशत महिला र ५६.३ प्रतिशत पुरुष रहेका छन् । अघिल्लो शैक्षिक सत्र २०८१ मा महिला शिक्षकको हिस्सा ४२.६ प्रतिशत तथा पुरुष शिक्षकको हिस्सा ५७.४ प्रतिशत रहेको थियो । यसले विद्यालय शिक्षामा महिला शिक्षकको सहभागिता क्रमशः बढिरहेको संकेत गरेको छ । तर तहगत रूपमा हेर्दा आधारभूत तहमा महिला शिक्षकको उपस्थिति बढी भए पनि माध्यमिक तहमा पुग्दा पुरुष शिक्षकको वर्चस्व कायम रहेको देखिएको छ । तथ्यांकअनुसार आधारभूत तहमा महिला शिक्षकको हिस्सा ५६.६ प्रतिशत रहेको छ भने पुरुष शिक्षक ४३.४ प्रतिशत छन्। तर माध्यमिक तहमा महिला शिक्षकको हिस्सा घटेर १६.२ प्रतिशतमा सीमित भएको छ। सो तहमा पुरुष शिक्षकको हिस्सा ८३.८ प्रतिशत पुगेको छ । विद्यालय तहमा भर्नादर बढ्यो, टिकाउदरमा मिश्रित अवस्था विद्यालय तहमा विद्यार्थीको कुल भर्नादर बढेको देखिएको छ भने टिकाउदरमा मिश्रित अवस्था देखिएको छ । शैक्षिक सत्र २०८२ को तथ्यांकअनुसार आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) दुवैमा कुल भर्नादर वृद्धि भएको हो । शिक्षा सम्बन्धी सार्वजनिक तथ्यांकअनुसार शैक्षिक सत्र २०८२ मा आधारभूत तहको कुल भर्नादर १३६.२ प्रतिशत पुगेको छ । गत शैक्षिक सत्रमा यो दर १२४.८ प्रतिशत थियो। यस्तै, माध्यमिक तहको कुल भर्नादर पनि ८०.६ प्रतिशतबाट बढेर ८५.७ प्रतिशत पुगेको छ। तथ्यांकले आधारभूत तहमा छात्रको कुल भर्नादर छात्राको तुलनामा बढी रहेको देखाएको छ। तर माध्यमिक तहमा भने छात्राको भर्नादर छात्रको भन्दा उच्च रहेको उल्लेख गरिएको छ । यसैबीच, आधारभूत तहमा खुद भर्नादर बढे पनि माध्यमिक तहमा उल्लेख्य गिरावट आएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपित जनसङ्ख्या र उमेर समूहको आधार फरक पर्दा आधारभूत तहको खुद भर्नादर ३.७ प्रतिशत बिन्दुले बढेको छ भने माध्यमिक तहको खुद भर्नादर २०।४ प्रतिशत बिन्दुले घटेको छ । विद्यार्थी टिकाउदरतर्फ भने आधारभूत तहमा गिरावट देखिएको छ। शैक्षिक सत्र २०८२ मा कक्षा ८ सम्मको टिकाउदर ७९.१ प्रतिशत पुगेको छ। कक्षा १० सम्मको टिकाउदर ७४.६ प्रतिशत र कक्षा १२ सम्मको टिकाउदर ४१ प्रतिशत रहेको छ। माध्यमिक तहमा भने टिकाउदरमा सुधार देखिएको जनाइएको छ । त्यस्तै, लैङ्गिक समता सूचकाङ्क आधारभूत तहमा सुधार भएको छ भने माध्यमिक तहमा केही घटेको देखिएको छ । पूर्वप्राथमिक शिक्षामा कुल भर्नादर र कक्षा १ मा कुल प्रवेशदरमा सुधार आए पनि अन्य शैक्षिक सूचकहरूको अवस्था मिश्रित रहेको तथ्यांकले देखाएको छ । शिक्षा क्षेत्रमा भर्नादर वृद्धि सकारात्मक संकेत मानिए पनि विद्यार्थीलाई विद्यालयमा टिकाइराख्ने चुनौती अझै कायम रहेको छ । प्रारम्भिक बालविकास केन्द्र बढे, तर भर्ना हुने बालबालिकाको संख्या घट्यो नेपालमा प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमअन्तर्गत सञ्चालन हुने बालविकास केन्द्रको संख्या बढेको भए पनि त्यहाँ भर्ना हुने बालबालिकाको संख्या भने घटेको छ। शैक्षिक सत्र २०८२ मा देशभर ४२ हजार ६ सय १९ प्रारम्भिक बालविकास केन्द्र सञ्चालनमा रहेका छन्। तीमध्ये ८०.६ प्रतिशत सामुदायिक तथा १९.४ प्रतिशत संस्थागत बालविकास केन्द्र रहेका छन्। गत शैक्षिक सत्र २०८१ मा देशभर ४१ हजार २ सय ८४ बालविकास केन्द्र रहेका थिए । त्यतिबेला ८१.१ प्रतिशत सामुदायिक र १८.९ प्रतिशत संस्थागत केन्द्र रहेका थिए । यस वर्ष केन्द्रको संख्या बढे पनि सामुदायिक केन्द्रको हिस्सा केही घटेको देखिएको छ । यस्तै, प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालबालिकाको संख्या ६.२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। शैक्षिक सत्र २०८१ मा १३ लाख १ हजार ४ सय २८ बालबालिका भर्ना भएकोमा शैक्षिक सत्र २०८२ मा यो संख्या घटेर १२ लाख २० हजार ५ सय ३८ मा झरेको छ। यद्यपि, बालविकास केन्द्रको अनुभव लिएर कक्षा १ मा भर्ना हुने विद्यार्थीको अनुपात भने बढेको छ। शैक्षिक सत्र २०८२ मा यस्तो अनुपात ७७.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ७६.३ प्रतिशत थियो। तथ्यांकअनुसार बालविकास केन्द्र तथा पूर्वप्राथमिक कक्षामा छात्रको संख्या छात्राको तुलनामा बढी रहेको छ । कुल भर्नामध्ये छात्रको हिस्सा ५५.१ प्रतिशत तथा छात्राको हिस्सा ४४.९ प्रतिशत रहेको छ ।
नेपाल एसबिआई मर्चेन्टले राष्ट्रिय माध्यमिक विद्यालयलाई दियो शैक्षिक सामग्री
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले काठमाडौंको इन्द्रायणीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय ब्याग तथा कुर्सी वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी, सञ्चालन प्रमुख केदार प्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठ, प्रधानाध्यापक अर्जुन कारञ्जित लगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नु समाजप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा कम्पनीले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले विद्यालय तथा विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोगप्रति कम्पनीप्रति आभार व्यक्त गरे । उनले यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । शंखरापुर नगरपालिका–९, इन्द्रायणीस्थित उक्त विद्यालयमा हाल २६५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।