नेपालमै पहिलो पटक ‘ड्रोन बीमा’, प्रिमियम ३ देखि ५ प्रतिशतसम्म

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले नेपालमै पहिलो पटक ड्रोन बीमालेख सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट ड्रोन बीमालेख जारी गर्न स्वीकृति पाएसँगै कम्पनीले उक्त बीमा योजना बजारमा ल्याएको हो । नेपालमा कृषि, प्ूर्वाधार निर्माण, चलचित्र तथा मिडिया, शैक्षिक तथा अनुसन्धान, पर्यटन तथा फोहर संकलनदेखि विभिन्न क्षेत्रमा ड्रोनको प्रयोग बढ्दै गइरहेको छ । ड्रोनको बढ्दो प्रयोगसँगै कम्पनीले यस्तो जोखिम बहन हुने गरी नयाँँ बीमालेख सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार यो बीमालेख व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि ड्रोन प्रयोग गर्ने व्यक्ति/संस्थालाई सम्भावित आर्थिक जोखिमबाट सुरक्षित बनाउने उद्देश्यले ल्याइएको हो । कम्पनीका नायब प्रबन्धक सुजन खकुरेलले यो बीमालेख एउटा पूर्ण प्याकेज भएको जानकारी दिए । यो बीमालेखले मूख्यतया तीन वटा क्षेत्रलाई समेट्ने उनले बताए । जसअन्र्तत ड्रोन उडाउँदै गर्दा प्राकृतिक विपत्ति जस्तै पानी, भुइँचालो, चट्याङ वा अन्य कारणले हुने क्षतिदेखि चोरी हुँदासमेत यी बीमालेखले कभर गर्छ । त्यस्तै, ड्रोन सञ्चालनका क्रममा तेस्रो पक्षको व्यक्ति वा सम्पत्तिमा क्षति पुगेमा वा चोटपटक लागेमा त्यसको दायित्व बिमाले कभर गर्छ । त्यस्तै, ड्रोन सञ्चालन गर्ने सञ्चालक (अपरेटर) को दुर्घटना भई मृत्यु भएमा वा पूर्ण/अस्थायी अशक्तता भएमा बिमा कभरेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।  ड्रोनको वर्गीकरण  नायब प्रबन्धक खकुरेलका अनुसार ड्रोनको प्रयोगका आधारमा यसलाई  ७–८ वटा क्याटेगरीहरू छुट्याइएको छ । जस्तैः सामान ढुवानी, फोटोग्राफी/भिडियोग्राफी, प्रहरी निगरानी, निर्माणसम्बन्धी कार्य, वन्यजन्तु संरक्षण, म्यापिङ र कृषि । उनले ड्रोनको वर्गीकरणअनुसार बीमा पनि छुट्टाछुटै हुने बताए ।  यो बीमाले कुनै कम्पनी वा व्यक्तिगत रूपमा फोटोग्राफीमा रुचि राख्ने व्यक्ति दुवैले लिन सक्छन् । बीमा गर्न चाहिने बीमितले ड्रोन किनेको बिल, बजार मूल्य, ड्रोनको सिरियल नम्बर र युनिक आइडेन्टिटी नम्बर, र सञ्चालकको लाइसेन्स आवश्यक पर्छ ।  नायब प्रबन्धक खकुेलले भने, ‘मानव रहित हवाई उपकरणसम्बन्धी कार्यविधि २०७५’ अनुसार अधिकार प्राप्त र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स लिएको हुनुपर्छ ।’ बीमा शुल्क नायब प्रबन्धक खकुरेलका अनुसार ड्रोनको जोखिम र प्रयोग हुने क्याटेगरी अनुसार यसको प्रिमियम पनि छुट्टछुटटै हुन्छ । ‘सामान ढुवानी गर्नको लागि हो कि निगरानी अथवा कुनै कृषिको लागि हो, त्योअनुसार बीमाको रकम छुट्टछुट्टै हुन्छ,’ उनले भने ।  उनका अनुसार यो बीमालेखमा औसतमा ड्रोनको बजार मूल्यको प्रयोजनका आधारमा ३ देखि ५ प्रतिशतसम्म प्रिमियम दर तोकिएको छ । दाबी प्रक्रिया  दाबी प्रक्रियाबारे उनले ड्रोन बीमामा क्षति भएपछि बीमितले ३० दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्ने बताए । उनका अनुसार दाबीका लागि ड्रोन खरिदका कागजात, बीमालेख (पोलिसी), दाबी फाराम र घटनाको विस्तृत विवरण पेश गर्नुपर्ने हुन्छ । चोरीको घटनामा भने प्रहरीको रिर्पोट अनिवार्य गरिएको छ । ठूलो परिमाणको क्षति भएको अवस्थामा कम्पनीले प्राविधिक टोली (सर्भेयर) मार्फत घटनास्थलको निरीक्षण तथा क्षतिको मूल्याङ्कन गर्ने व्यवस्था रहेको उनले बताए । उनले आवश्यक कागजात पूरा भएपछि सकेसम्म छिटो दाबी भुक्तानी गर्ने कम्पनीको उद्देश्य रहेको पनि उल्लेख गरे । बीमालेख ल्याउनुअघि अध्ययन खकुरेलले ड्रोन बीमालेख ल्याउनुअघि कम्पनीले विस्तृत अध्ययन गरेको र अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनी (रिइन्स्योरेन्स) सँग समेत परामर्श गरी बीमालेख तयार पारिएको बताए ।  ‘हामीले यो बीमालेख ल्याउनुअघि धेरै अध्ययन गरेका छौं, अन्तर्राष्ट्रिय बजारका रिइन्स्योरेन्ससँग पनि छलफल गरेर नेपाली बजारको आवश्यकतालाई ध्यानमा राखी यो बीमालेख डिजाइन गरेका हौं,’ उनले भने । खकुरेलले कम्पनीमा यसअघि नै विभिन्न ग्राहकले ड्रोनको बीमा सम्बन्धमा बारम्बार जिज्ञासा राख्ने गरेको जानकारी दिए । तर यस्तो बीमालेख उपलब्ध नभएकाले उनीहरूलाई सेवा दिन नसकिएको अवस्था थियो ।   ‘ग्राहकबाट निरन्तर ड्रोन बीमाबारे सोधपुछ भइरहन्थ्यो, त्यतिबेला यस्तो बीमालेख उपलब्ध छैन भन्नुपर्दा बजारमा यसको आवश्यकता महसुस गरेका थियौं,’ उनले भने ।  उनका अनुसार ड्रोनको प्रयोग विभिन्न क्षेत्रमा बढ्दै गएकाले यस्तो बीमा नेपाली बजारका लागि आवश्यक रहेको छ । हाल बीमालेख तयार भइसकेकाले इच्छुक व्यक्तिले तत्कालै ड्रोन बीमा गर्न सक्ने उनले बताए । साथै उनले ड्रोन बीमालेख नेपालमा नयाँ भएकाले धेरैलाई यसबारे जानकारी नभएको बताए । त्यसैले कम्पनीले यसको प्रवद्र्धन र जनचेतना अभिवृद्धिका लागि विशेष रूपमा काम गरिरहेको उनको भनाइ छ । ‘ड्रोन बीमा नेपालका लागि नयाँ अवधारणा भएकाले धेरैलाई यसको बारेमा जानकारी छैन, त्यसैले हाम्रो टोली अहिले यसको प्रचारप्रसार र बजार विस्तारमा सक्रिय रूपमा लागिरहेको छ,’ उनले भने ।

बीमा सर्भेयर संघले 'सीएआर' बीमा दाबी सम्बन्धी तालिम आयाेजना गर्दै

काठमाडौ । नेपाल बीमा सर्भेयर संघ (निसा) ले ’ह्यान्डलिङ सिएआर इन्स्योरेन्स क्लेम : फ्रम साइट इन्स्पेक्टेसन टु रिर्पोट राइटिङ’ विषयमा एक दिने तालिमको आयोजना गर्ने भएको छ । तालिम यही साउन १७ गते आयोजना हुने निसाले जनाएको छ । निर्माण (कन्सक्ट्रक्सन अल रिस्क–सिएआर) बीमा दाबीको स्थलगत निरीक्षणदेखि प्रतिवेदन लेखनसम्मका सम्पूर्ण प्रक्रियामा व्यावहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागेको निसाले जनाएको छ । निसाका अनुसार तालिम विहान ११ बजेदेखि ६ बजेसम्म होटल साङ्ग्रिला ब्लु, मैत्री मार्ग, ललितपुर मा सञ्चालन हुनेछ । तालिमका प्रशिक्षक इ. जगन्नाथ गौतम रहनेछन् । उनी सिभिल इन्जिनियर, निर्माण व्यवस्थापनमा स्नातकोत्तर, बीमा सर्भेयर तथा टेक्निकल अडिटर हुन् । तालिममा ऋब्च् बीमा दाबीको स्थलगत निरीक्षण, क्षतिको मूल्याङ्कन, आवश्यक कागजात व्यवस्थापन तथा व्यावसायिक प्रतिवेदन लेखन सम्बन्धी व्यावहारिक पक्षमा प्रशिक्षण प्रदान गरिने छ ।  यो तालिम बीमा सर्भेयर, इन्जिनियर तथा चार्टर्ड एकाउन्टेन्टहरूका लागि लक्षित गरिएको छ ख। प्रभावकारी सिकाइ सुनिश्चित गर्न २५ जना सहभागी मात्र सहभागी गराइने भएकाले इच्छुकलाई समयमै दर्ता गर्न संस्थाले आग्रह गरेको छ । संस्थाले सहभागिता शुल्क दस्यका लागि ५ हजार, गैरसदस्यका लागि ८ हजार तथा  कर्पोरेट सहभागीका लागि १० हजार निर्धारण गरिएको छ ।   

‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न, विजेतलाई ९ लाखको बीमासहित नगद पुरुस्कार

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न गरेको छ । स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता ‘टेम्बल रन’ को सहकार्यमा सम्पन्न गरेको हो ।  कम्पनीका अनुसार कार्यक्रममा ५ सयभन्दा बढी धावक तथा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो । दौड कम्पनीको केन्द्रीय कार्यालय, नक्साल भगवती मार्गबाट प्रारम्भ भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर, उत्तरढोका हुँदै पुनः कम्पनीको केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।  सहभागीहरूको उत्साह, ऊर्जा र सक्रियताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएका थिए । दौड सम्पन्न भएपछि सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधिहरू पनि आयोजना गरिएको थियो, जसले कार्यक्रममा थप उत्साह र रमाइलोपन थपेको थियो ।  कार्यक्रममा सहभागी सम्पूर्ण धावकहरूलाई सहभागिता पदक प्रदान गरिएको थियो। साथै, पुरुष तथा महिला विधामा प्रथम स्थान हासिल गर्ने विजेतालाई ९ लाखसम्मको सलिको आरोग्य हेल्थ इन्स्यारेन्ससहित  नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी ‘सलिको सुरक्षा रन २०२६’स सँगसँगै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । यस अन्तर्गत गण्डकी, कोशी तथा सुदूरपश्चिम प्रदेशस्थित मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम, लुम्बिनी प्रदेशमा रक्तदान कार्यक्रम तथा मधेश प्रदेशस्थित आमाको माया छात्रावासमा भोजन तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको थियो ल। यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत कम्पनीले समाजप्रतिको आफ्नो दायित्वलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रयास गरेको जनाएको छ । कार्यक्रमको सफल आयोजनाले स्वस्थ जीवनशैलीको प्रवर्द्धन, बीमा सचेतनाको विस्तार तथा समुदायसँग कम्पनीको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको कम्पनीले विश्वास व्यक्त गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी दिनहरूमा पनि सामाजिक उत्तर दायित्व, स्वास्थ्य प्रवर्द्धन तथा जनहितका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।