सुकुम्बासी हटाएझैँ अतिक्रमित सरकारी सम्पत्ति पनि फिर्ता ल्याइयोस्
भक्तपुरमा चार वटा नगरपालिका छन्, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमी नगरपालिका, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका । यी स्थानीय तहमा कांग्रेस, एमाले र नेपाल मजदुर किसान पाटी (नेमकिपा) का जनप्रतिनिधि छन् । भक्तपुरमा वि.सं. २०२१ सालमा जग्गा नापजाँच भएको थियो । व्यक्तिका जग्गा उसैलाई दिइयो । अर्थात् लालपूर्जा बाँडियो भने सरकारी, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी, तालतलैया, पोखरी, इनार, कुवा, राजकुलो, वन जंगल, राजपरिवार, खोलानाला लगायत जग्गा सरकारको नाममा राखियो । भक्तपुरमा लाखौं रोपनी सरकारी जग्गा थियो भन्ने रैथाने स्थानीयहरू अझै पनि छन् । तर, भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा कसरी गयो ? केही उदाहरण यहाँ उल्लेख छ । भक्तपुर नगरपालिका-१, सल्लाघारी आर्मी ब्यारेक, चंगा गणेश, खरिपाटी जाने सडकको दायाँबायाँ, दुवाकोटको टेम्पोपार्क, सिर्जना नगर, राधेराधेस्थित भाटभटेनी, निर्माणाधीन पन्ध्र तले भवन, ड्राइभिङ सेन्टर, हार्डवेयरलगायत सञ्चालित र निकोसेराको पनि अधिकांश जग्गा सरकारी, गुठी, ऐलानी भएको दाबी गरिन्छ । २०२९ सालसम्म यी ठाउँमा एउटै घर थिएनन् । घारीमात्र थियो । नेवारहरूले दाहसंस्कार गर्थे । २०३२ सालमा नेमकिपाका एक कार्यकर्ताले सल्लाघारीमा छाप्रो हाले, उनैले २०३५ सालमा ढुंगा-माटोको घर बनाए । माथि टायलको छानो हालेर । त्यसपछि यी ठाउँमा अतिक्रमण शुरु भएको हो । एउटा घरबाट अहिले हजारौंको संख्यामा यहाँ घर बनिसकेका छन् । सल्लाघारी स्थित तीनकुने चौर पनि राजपरिवारको जग्गा हो । तत्कालीन राजा महेन्द्रले प्रति रोपनी एक हजार रुपैयाँमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा किनेका थिए । राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा गयो । तर, ट्रष्टको बेवास्ताका कारण यो जग्गा व्यक्तिका नाममा गएको छ । वा हडपेर घरलगायत संरचना बनाइएको छ । अहिले बढीमा ६०-६५ रोपनी मात्र जग्गा छ । तीनकुने चौर नजिक यातायात कार्यालय छ, त्यसकै अगाडि ठूलो घर छ । जहाँ किरानादेखि चिया, फलफूल पसल र ब्यूटीपार्लरसम्म सञ्चालन भएको छ । विकुलाल खिउँजुको रहेको सो घर तीन वटा ढुंगेधारा पुरेर बनाइएको स्थानीयको आरोप छ । यद्यपि, नेमकिपाको कार्यकर्ता भएकोले उनले घर सम्पन्नता प्रमाणपत्र पाइरहेका छन् । यता, सूर्यविनायक नगरपालिकाको भवन रहेको आसपासको सबै जग्गा पनि सरकारी भएको बताइन्छ । नगरपालिकासँगै सडक डिभिजन, महालेखा परीक्षणलगायतका कार्यालय छन् । त्यस वरपरका सबै जग्गा सरकारी भएको दाबी गरिन्छ । यद्यपि, यहाँ घर बनिसकेको छ । पहिला नगरपालिका भाडामा बस्थ्यो । शुशिल भैरवथान मन्दिर नजिकै भाडामा बस्दाको घरसहित आसपासका जग्गा पनि सरकारी नै भएको बताइन्छ । दशकअघि त्यहाँ ठूलो चौर थियो, जहाँ आल, ढुंगेधारा र पिपलको रुख थियो, त्यहाँ मानिसहरू गाईवस्तु चराउँथे, घरायसी प्रयोगका लागि त्यहीबाट पानी लगिन्थ्यो । तर, अहिले चौर छैन, आल, ढुंगेधारा पनि छैन । पिपलको रुखसमेत आधा काटिएको छ । चौर रहेको भनिएको ठाउँमा घरैघर बनिसकेको छ । स्थानीयका अनुसार त्यो चौर वडा नम्बर ५, का वडाध्यक्ष राजकुमार जोशीकै भाइ र नेमकिपाका कार्यकर्ताहरूले कब्जा गरेर घर बनाएका हुन् । यतिमात्र होइन, वडाध्यक्ष जोशीले शुशिल भैरवथान मन्दिर र बाटो जग्गा मिचेर मन्दिरभन्दा अग्लो घर बनाएका छन् । यसरी घर बनाउनेमा प्रेम जोशी र श्याम जोशी पनि छन् । भक्तपुरमा जतिपनि सरकारी, गुठी, ऐलानी, मठमन्दिर, वनजंगल लगायतका सरकारी जग्गा व्यक्तिका नाममा गएका छन्, त्यसमा एमाले नेता महेश बस्नेत, पूर्वसांसद प्रेम सुवाल, नारायणमान बिजुक्छेको हात रहेको स्थानीयहरू खुलेर बताउँछन् । वर्तमान सरकारमा वालेन्द्र शाह (वालेन) प्रधानमन्त्री छन् । अब उनले भक्तपुरसहित देशभर कति सरकारी, गुठी, ऐलानी, मठमन्दिर, पाटीपौवा, चौतारा, ढुंगेधारा, कुवा, वनजंगल, हदबन्दी बढी, राजपरिवार, खोलानाला लगायतको घर कति थियो ? र, अहिले कति छ ? खोजतलास गर्न सिडिओ र मालपोत कार्यालयहरूलाई निर्देशन दिनुपर्छ । जनताले धेरै विश्वास गरेर वालेनलाई पदमा पुर्याएका छन् । उनीसँग जनताको साथ छ, त्यसैले देश र जनताको हितमा हुने काम गर्न डगमगाउन हुन्न । प्रधानमन्त्री वालेनले त धमाधम निर्णय गर्ने हो, निर्देशन दिने हो । विगतमा कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश र जनताको हितमा हुने काम गर्नुको साटो आफ्ना कार्यकर्ता र आफन्त पोस्ने काम गरे । नतिजा आज हामी सामु छ । जनता उनीहरुलाई हेर्ने चाहँदैनन् । यदि वालेनले पनि पदमा हुँदा काम नगर्ने हो भने त्यही अवसर नआउला भन्न सकिन्न । त्यसैले, प्रधानमन्त्री वालेन तातिनुपर्यो । सुकुम्बासी हटाएसँगै अतिक्रमित सरकारी सम्पत्ति पुनः राज्यकै स्वामित्वमा ल्याउनुपर्छ । ठूला होस् या साना सबैलाई ऐन कानून लाग्छ भन्ने भाष्य अब वालेन सरकारले प्रमाणित गर्नुपर्छ । यदि उनी यो काममा सफल भए देशभर वाहवाही त हुने छ नै सँगै कानुनमाथि गुमेको सर्वसाधारणको विश्वास पुनः जागृत हुनेछ । प्रधानमन्त्री वालेनले अहिले गृह मन्त्रालय पनि सम्हालेका छन् । यसैले, उनले अतिक्रमित सरकारी जग्गा खोज्न चाँडो निर्देशन दिनुपर्छ । किनकि अवसर बारम्बार आउँदैन । अहिले प्रधानमन्त्री स्वयम् गृहमन्त्री रहेकोले उनलाई यो काम गर्न सजिलो छ । भोलि गृहमन्त्री आउने बित्तिकै प्रधानमन्त्रीले यो काम गर्न पाउँदैनन् । हस्तक्षेप गरिएको आरोप लाग्नसक्छ । त्यसकारण, अवसर र समयको कदर गरौं । प्रधानमन्त्रीले सरकारी सम्पत्ति खोजतलास र फिर्ता ल्याउनका निम्ति कडा निर्देशन दिन जरुरी छ । बहुमतको सरकारलाई सबैले टेर्ने नै छ । यसैले, अब प्रधानमन्त्रीले ढिलाई नगरौं । जसरी वालेनले मेयर हुँदा नसकेको सुकुम्बासी व्यवस्थापन कार्य प्रधानमन्त्री भएपछि गरे । त्यसरी नै मेयर रहँदा नसकेको अतिक्रमित सरकारी सम्पत्ति अब फिर्ता ल्याउनुपर्यो । सँगै छिमेक भारत र चीनले लगेको वा कब्जा गरेको नेपाली भूभाग पनि फिर्ता ल्याउन पहल गर्नुपर्यो । यदि वालेन सरकारले यी काम गरे दशकौंसम्म सत्ता उनकै हातमा जानेछ । किनकि देश र जनताको हितमा काम गर्नेलाई जनताले कहिले निराश बनाउँदैनन् ।
सरकारले ऊर्जा क्षेत्रमा देखेको चुनौती र अवसर
रमेश लम्साल/रासस सरकारले मुलुकको ऊर्जा क्षेत्रमा विभिन्न १३ चुनौती रहेको ठहर गर्दै त्यसलाई समाधानका लागि प्रभावकारी पहलकदमी एवं लगानी विविधकरण तथा कानुनी सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ । वितरण प्रणालीको क्षमता र गुणस्तर कमजोर हुनु, औद्योगिक क्षेत्रमा गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिको अभाव हुनुलाई चुनौतीका रूपमा लिएको छ । यस्तै, सरकारले घरायसी तथा व्यावसायिक क्षेत्रमा बढी विद्युत् खपत गर्ने उपकरणको प्रयोगमा वृद्धि गर्नु, कृषि, सिँचाइ तथा औद्योगिक क्षेत्रमा विद्युत् प्रयोग वृद्धि गर्नु र विद्युतीय सवारी चार्जिङ पूर्वाधारको अभाव हुनु पनि चुनौतीका रूपमा रहेको छ । त्यसैगरी, डाटा सेन्टर, हरित हाइड्रोजन, मल उत्पादन गर्ने उद्योग, आधुनिक इँटाभट्टाजस्ता विद्युत् खपत गर्ने सघन उद्योगको न्यून विकास हुनु, आन्तरिक विद्युत्को माग पूर्ति भएपश्चात् बचत भएको विद्युत्लाई निर्यातयोग्य वस्तुका रूपमा द्विपक्षीय, उपक्षेत्रीय तथा क्षेत्रीय बजारमा पुर्याउनु रहेको छ । यसका लागि आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन तथा सम्बद्ध संरचनाहरूको पर्याप्त विकास गर्नु पनि चुनौतीका रूपमा रहेको सरकारी निष्कर्ष छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मा विद्युत्को आन्तरिक माग पूर्ति तथा क्षेत्रीय बजारको आवश्यकताअनुसार निर्यात गर्न उपयुक्त ठूला जलाशयुक्त जलविद्युत् आयोजनाको विकास गर्नु जरुरी छ । छिमेकी मुलुकको नीति तथा नियम र नेपालको विद्युत् उत्पादन र आयात निर्यातसम्बन्धी नीति तथा प्रक्रियाबीच सामन्जस्यता कायम गर्नु, विद्युत् व्यापारमा निजी क्षेत्रको समेत सहभागिता गराउन कानुनी व्यवस्थाको अभाव हुनु पनि चुनौतीका रूपमा रहेको निष्कर्ष निकालिएको छ । नेपालमा उत्पादित विद्युत्को उच्च लागतका कारणले छिमेकी मुलुकको विद्युत् बजारमा प्रतिस्पर्धी हुनु, नेपालको राष्ट्रिय ग्रिड प्रणालीलाई छिमेकी मुलुकको ग्रिड प्रणालीस्तरमा विकास गर्नु, नेपालमा प्रतिस्पर्धी विद्युत् बजारको विकास गरी छिमेकी देशको विद्युत् बजारसँग सम्बन्धित प्रणाली निर्माण गर्नु पनि चुनौती रहेको मन्त्रालयको निष्कर्ष छ । जलविद्युत्लाई निर्यातयोग्य वस्तुका रूपमा विकास गरी वार्षिक व्यापार घाटा न्यूनीकरण गर्ने उच्च सम्भावना हुनुलाई सरकारले अवसरका रूपमा लिएको छ । यातायात, घरायसी तथा औद्योगिक क्षेत्रमा विद्युत् विस्तार गरी आन्तरिक खपत उल्लेख्य रूपमा वृद्धि गर्ने सम्भावना हुनु, देशमै उत्पादित स्वच्छ विद्युत् ऊर्जाको प्रयोगमार्फत दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्ने आधार हुनुलाई अवसरका रूपमा लिइएको छ । आन्तरिक खपतपश्चात बचत हुने विद्युत्लाई द्विपक्षीय, उपक्षेत्रीय तथा क्षेत्रीय बजारमा निर्यात गर्ने पर्याप्त सम्भावना हुनु, नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने स्पष्ट आधार तयार हुनु पनि अवसरका रूपमा रहेको छ । नेपालमा विद्युत् उत्पादन उच्च हुने याममा छिमेकी राष्ट्र भारत तथा बङ्गलादेशमा ऊर्जा माग उच्च रहनु र सो याममा उच्च विद्युत्दर प्राप्त गर्नसक्ने सम्भावना छ । कार्बन शून्यको लक्ष्य राखेका छिमेकी मुलुकका लागि नेपालको जलविद्युत् हरित ऊर्जाको रूपमा आकर्षक विकल्प हुनु, खनिज इन्धनको प्रतिस्थापन गरी विदेशी मुद्रा बचत तथा शोधनान्तर स्थिति बलियो बनाउने विषयलाई मन्त्रालयले अवसरका रूपमा चित्रण गरेको छ । जलवायु वित्त तथा कार्बन बजारमा पहुँच वृद्धि गर्ने अवसर हुनु, ऊर्जा सघन उद्योगजस्तै डेटा सेन्टर, हरित हाइड्रोजन, रासायनिक मल कारखाना आदिको विकासमार्फत ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न सक्ने सम्भावना हुनु पनि अवसरका रूपमा रहेको छ । सरकारले सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत एक हजार ५०० युनिट पुर्याउने र कुलजडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेको छ । त्यसमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य छ । सरकारले तय गरेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार विद्युत् ऊर्जा निर्यातमा अपेक्षित रूपमा वृद्धि हुनेछ । व्यापार घाटामा उल्लेख्य कमी तथा राष्ट्रिय अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदानमा उल्लेख्य रूपमा वृद्धि हुनुलाई अपेक्षित उपलब्धिका रूपमा लिइएको छ । रणनीति कार्यान्वयनमा आएपछि प्रतिव्यक्ति विद्युत् खपत करिब एक हजार ५०० युनिट पुग्नुका साथै शतप्रतिशत जनसङ्ख्यामा भरपर्दो विद्युत् पहुँच सुनिश्चित हुनेछ । विद्युत् निर्यात बढ्दै औसत निर्यातदर र राजस्वमा वृद्धि हुनेछ । आन्तरिक खपत भई बचत हुने विद्युतको प्रभावकारी बजार व्यवस्थापन सुनिश्चित हुनेछ । यस्तै, वातावरणीय प्रदूषणमा कमी आउने तथा दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुग्नेछ । –––
विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल
नवीन लुइँटेल आइसिसी क्रिकेट विश्वकप लिग २ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालका केही दिनपछि हुने दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने भएको छ । युएई, ओमान र नेपालवीचको एउटा श्रृङ्खलामा चार वटा खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप चार वटा खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नु पर्नेछ । जम्मा २० खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानडालाई उछिन्न कम्तिमा पाचौँ खेलको जित पर्याप्त हुनेछ भने चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ । २१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको क्यानडा, २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको नामिबियालाई तथा २८ अङ्कसहित चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई पछाडि पार्न लगातार खेल जित्नुको विकल्प रहने छैन । अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष चारसम्म पुग्न ती आठ खेल नै काफि हुन्छन् । तर सधैँ त्यही खालको नतिजा आउँछ भन्ने हुँदैन । यसपटकको खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी उपकप्तान, कुशल भूर्तेल, आशिफ शेख, भिम विश्वकर्मा, आरिफ शेख, बासिर एहेमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामीछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् । मुख्य प्रशिक्षक स्टुआर्ट ल हुन् भने सहायक प्रशिक्षकहरुमा कलाम अली र बसन्त शाही रहेका छन् । शीर्ष तीन टिमसँग भिड्न त्यत्ति सहज छैन अघिल्लो संस्करणभन्दा यसपटकको आइसिसी क्रिकेट विश्वकप लिग २ नेपालका लागि फरक देखिएको छ । यही वैशाखको १२ देखि जेठको ८ गतेसम्म हुने दुई वटा फरक–फरक श्रृङ्खला नेपालका लागि त्यति सहज हुने देखिएको छैन । विश्लेषकहरुका अनुसार पछिल्लो समय नेपालको एकदिवसीय म्याचमा प्रदर्शन राम्रो देखिएको छैन । नेपाल एक दिवसीय मान्यता जोगाउनै सङ्घर्षरत रहेको छ । धेरै नयाँ खेलाडी हुनु र तयारी पनि त्यत्ति पर्याप्त नहुँदा नतिजामा प्रभाव पर्न सक्छ । अहिले ५ औँ स्थानमा रहेको नामिबियाले २८ खेल खेलिसकेको छ, नेपालले राम्रो खेल्दै उसको स्थानमा जाने सम्भावना हुन सक्छ । अघिल्लो संस्करणको भन्दा अवस्था फरक छ, नेपाल ‘वान डे’ स्टाटस् जोगाउन सङ्घर्षरत छ । क्यानडा र युएईसँगका खेल हार्नु नै नेपालका लागि चुनौती थपिएको हो । शीर्ष तीन स्थानमा रहेका अमेरिका, स्कटल्याण्ड र ओमानसँग वैशाख र जेठमा खेल्दै गर्दा उनीहरुसँगको नतिजा शतप्रतिशत आउँछ भन्ने ढुक्क छैन तर अगाडि बढ्न यसमा शतप्रतिशत नतिजा नआए शीर्ष छ भित्रै अटाउन कठिन बन्न सक्छ । श्रृङखला–२ मा को कसबीच प्रतिस्पर्धी नेपाल, ओमान र यूएईबीचको श्रृङखला यही वैशाख १२ गतेदेखि २२ गतेसम्म हुने भएको छ । यसअघि नै हुने तय भए पनि इरान र अमेरिकाबीचको तनावका कारण भएको पश्चिम एसियाको सङ्कटका कारण स्थगित भएको थियो । नेपालले वैशाख १२ गते शनिबार युएईसँग, वैशाख १६ गते बुधबार ओमानसँग, बैशाख १८ गते शुक्रबार युएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ । नेपालले गत नोभेम्बर र अक्टोबरमा भएको श्रृङ्खलामा यएईसँग दुबै खेल हारेको थियो भने ओमानसँग २०२४ को सेप्टेम्बरमा भएको प्रतिस्पर्धामा दुईमध्ये एक खेलमा पराजय भोगेको थियो अर्को खेल भने स्थगित भएको थियो । लिग २ तालिकामा नेपाल २० खेलमा पाँच जितसहित १२ अङ्कका साथ पुछारबाट दोस्रो अर्थात सातौँ स्थानमा छ । नेपालले दुई खेलबाट एक–एक अङ्क बटुलेको छ । स्कटल्याण्ड र ओमानसँगको एक–एक खेल रद्द भएर दुबै टिमले अक बाँडेका थिए । ओमान २३ खेलमा १३ जित र ७ हारसँगै २९ अङ्कसहित तेस्रो स्थानमा छ । यसैगरी नेपाल जतिनै समान २० खेल खेलेको युएई ५ जित र १५ हारका साथ १० अङ्क बटुल्दै तालिकाको पुछारमा छ । यस्तै ओमान र युएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ । उक्त श्रृङ्खला बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ । नेपालले वैशाख २९ गते मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ । दुबै श्रृङ्खला त्रिवि क्रिकेट मैदानमा हुनेछ । सबै खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुबै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुबै खेलमा पनि नेपाल अमेरिकासँग स्तब्ध भएको थियो । गत जुनमा भएको श्रृङ्खलामा स्कटल्याण्डसँगको एक खेल जितेको नेपालले अर्को खेल भने उसैलाई सुम्पिएको थियो । सन् २०२४ को अक्टोबर नोभेम्बरको प्रतिस्पर्धामा १ खेल स्कल्याण्डसँग निराश बन्दा अर्को खेल रद्द हुँदा दुबैले अङ्क बाँडेका थिए । तलिकामा अमेरिकाको दबदबा आइसिसी क्रिकेट विश्वकप लिग–२ तालिकामा अमेरिका २४ खेलमा १८ जित र छ हारका साथ ३६ अङ्क जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा १४ जित र आठ हारका साथ ३४ अङ्क जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्डले छ वटा खेलमा एक–एक अङ्क जोडेको छ । तेस्रो स्थानको ओमानसँग २४ खेलमा २९ अङ्क छ भने चौथो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा १३ जित र नौ हारका साथ २८ अङ्क छ । उसको थप दुई अङ्क खेल रद्द हुँदा प्राप्त भएको छ । यसैगरी नामिबियाले २८ खेलबाट १० जित, दुई खेल नतिजाविहीन र १६ हारका साथ २२ अङ्क बनाएको छ । नामिबिया पाँचौँ स्थानमा छ । क्यानडा २४ खेलमा नौ जित, तीन नतिजाविहीन खेलको तीन अङ्कसँगै २१ अङ्कका छैटौँ स्थानमा छ । युएईले २० खेलमा पाँच जित र १५ हारबाट १० अङ्क मात्रै बनाएको छ । युएई तालिकाको पुछारमा छ । अहिलेसम्म भएका खेलका नतिजा सन् २०२४ को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी क्रिकेट विश्वकप लिग २ अन्र्तगत नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले पहिलो खेलमा नामिबियासँग चार विकेटले हार्न पुग्यो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराउन सफल भयो । तेस्रो खेलमा गएर नामिबियासँग दुई विकेट पराजित हुँदा चौथो खेलमा नेदरल्याण्ड्सले नेपाललाई आठ विकेटले निरास बनाइदियो । यो श्रृङ्खलामा नेपालले मात्र दुई अङ्क जोड्न सक्यो । सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको चार खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन । सो टुरमा क्यानडाले पहिलो खेलमा एक सय तीन रनले तथा अर्को खेलमा पाँच विकेटले हरायो । ओमानसँगको पहिलो खेल एक विकेटले नेपाालले सुम्पियो । अर्को खेल रद्द हुँदा यो टुरमा नेपालको खातामा एक अङ्क मात्र रह्यो । सन् २०२४ कै अक्टोबर र नोभेम्बरमा अमेरिकाको डल्लासमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ को अर्को श्रृङखला पनि नेपालका लागि त्यत्ति सुखद रहेन । तैपनि नेपालले यो टुरबाट तीन अङ्क बटुल्यो । स्कटल्याण्डसँगको खेल नतिजावीहिन हुँदा नेपालले त्यसबाट एक अङ्क पायो भने अर्को खेलमा स्कटल्याण्डलाई नै पाँच विकेटले पाखा लगायो । घरेलु दर्शक र मैदानको साथ पाएको अमेरिकाले भने दुबै खेल आफ्नो पक्षमा पार्यो । अमेरिकाले पहिलो खेलमा ३७ रनले तथा अर्को खेलमा तीन विकेटले नेपाललाई हरायो । सन् २०२५ को जुनमा स्कटल्याण्डमा भएको श्रृङ्खला नेपालका लागि सुखद रह्यो । खेलेका चार खेलमा तीन खेल जित्दै अघिल्ला तीन वटा श्रृङ्खलाबाट प्राप्त जत्तिकै छ अङ्क बटुल्यो । नेपालले आयोजक स्कटल्याण्डलाई पहिलो खेलमा एक विकेटले हरायो भने अर्को खेलमा स्कटल्याण्डसँग दुई रनले हार्न पुग्यो । यी दुबै खेलमा अन्तिम बलले जित र हारको निर्णय गरेको थियो । यो टुरमा नेदरल्याण्ड्स दुबै खेलमा नेपालसँग पराजित भयो । पहिलो खेलमा पाँच विकेट र दोस्रो खेलमा १६ रनले नेदरल्याण्ड्स पराजित भयो । सन् २०२५ को अक्टोबर नोभेम्बरमा युएईको दुबईमा भएको श्रृङ्खला नेपालका लागि पीडादायी रह्यो । युएई र अमेरिकासँगका सबै खेल नेपालले हार्न पुग्यो । युएईले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पाँच विकेटले हरायो । यस्तै अमेरिकाले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा एक सय छ रनले पाखा लगायो । रोहित एकदिवसीय मात्र कप्तान डब्लुसिएल–२ मा राम्रो नतिजा ल्याउनका लागि भनेर कप्तान रोहित पौडेललाई टी–२० फर्माटको कप्तानसहित खेलाडी सूचीबाटै हटाइएको छ । उनी यसअघि टी–२० र एकदिवसीय दुबै टिमका कप्तान थिए । क्यानले टी–२० को कप्तानका रुपमा दीपेन्द्र सिंह ऐरीलाई बनाएको छ । डब्लुसियलमा मात्र फोकस गरेर टिममा राम्रो नतिजा दिन यो निर्णय लिइएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । कप्तान रोहितसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाइएका थिए । रोहितसहित अनुभवी खेलाडीहरु करण केसी, सोमपाल कामी, ललित राजवंशी र आसिफ शेख टोलीमा नपरेपछि नयाँ युवा क्रिकेटरले अवसर । रासस